सुक्रबारको ‘चमत्कार’पछि त्यो मिथक पुरै परिवर्तन भएको छ । यस्तो चमत्कार, जस्ले सिंगै विश्वको ध्यान आकर्षित गर्यो, जसरी करिब २ वर्ष अगाडि भएको जन विद्रोह पछि राजापक्ष परिवार पलायन भएपछि आकर्षित भएको थियो ।
५ वर्ष अगाडि सन् २०१९मा भएको निर्वाचनमा संसदका २२५ सिटमध्ये केवल ३ सिट जितेको कम्युनिष्ट पार्टी शुक्रबार घोषित निर्वाचनमा भने २ तिहाई सिट जितेको छ ।
केही समय अघि कम्युनिष्ट पार्टीका नेता अनुरा कुमारा दिशानायके राष्ट्रपति निर्वाचित भएका थिए । त्यसपछि अहिलेको संसदिय निर्वाचनमा सो पार्टीले गत निर्वाचन भन्दा धेरै सिट जित्ने अनुमान गरिएको थियो, तर बहुमत नै ल्याउने विश्लेषण गरिएको थिएन । फलस्वरुप त्रिशंकु संसद बन्ने र राजनीतिक अस्थिरता कायम रहने भविश्यवाणी राजनीतिक विश्लेषकहरुले गरेका थिए । त्यसको विपरित कम्युनिष्ट पार्टीले दुईतिहाइ सिट जितेको छ ।
श्रीलंकाको समाचार संस्था डेली मिररका अनुसार उक्त गठबन्धनले हालसम्म १५९ सिट जितिसकेको छ । जसमध्ये १४१ सांसद प्रत्यक्ष निर्वाचित भएका छन् भने १८ जना समानुपातिक प्रणालीबाट छानिएका छन् ।
२२५ सदस्यीय संसदमा दुईतिहाइका लागि १५० सिट आवश्यक पर्छ । उक्त सदनमा बहुमतका लागि भने ११३ सिट चाहिन्छ ।
श्रीलंकाको संसदमा १९६ जना प्रत्यक्ष निर्वाचित हुन्छ्न भने २९ जना समानुपातिक प्रक्रियाबाट चयन हुन्छन् । कम्युनिष्ट पार्टीको तुलनामा अन्य पार्टीहरुले केही सिट जितेका छन् । श्रीलंकामा कम्युनिष्ट पार्टीले संसदमा बहुमत पाएको र सरकार चलाउन लागेको यो पहिलो घटना हो ।
आर्थिकरुपमा टाट पल्टिएको श्रीलंकाको राष्ट्रपति निर्वाचनमा जस्तै संसदिय निर्वाचनमा पनि आर्थिक एजेण्डा नै श्रीलंकाको आर्थिक पुनरुत्थान, भ्रष्टाचार नियन्त्रण र राजापाक्षे सरकारको समयमा भएका आर्थिक घोटालाहरुको दोषीलाई कारवाही गर्नु थियो । आफ्नो त्यो एजेण्डा कार्यान्वयनको लागि वहुमत दिन माग गर्दै राष्ट्रपति दिशानायकेले मत मागेका थिए । र, जनताले त्यही अनुसार कम्युनिष्ट पार्टीलाई अत्यधिक बहुमतका साथ निर्वाचित गराएका छन् । कार्यकारी राष्ट्रपति भएको देश श्रीलंकामा नीतिगत निर्णयहरु राष्ट्रपतिले गर्न सक्ने भए पनि तिनीहरुलाई संसदबाट पारित गर्नु पर्ने प्रावधान छ । संसदमा समेत बहुमत पाएपछि दिशानायकेले अब आफूले चाहे अनुसार शासन संचालन गर्न सक्ने भएका छन् ।
उनले कसरी शासन संचालन गर्लान् त्यो अहिले नै भन्न सकिदैन । तर, निर्वाचन प्रचारको क्रममा र यसभन्दा अगाडि आफू राष्ट्रपति भैसकेपछि उनले उठाएका कदमहरुलाई हेर्ने हो भने उनले वैदेशिक ऋणको बोझबाट मुक्त गर्नको लागि केही ठोस कदमहरु चाल्ने विश्लेषण गरिएको छ । उनले विश्व वैंक, आइएमएफ लगायतका दातृ संस्थाहरुले दिएको ऋणमा सहुलियत हुनु पर्ने, अन्यथा नतिर्ने घोषणा गरिसकेका छन् । त्यस्तै भ्रष्टाचार विरुद्ध पनि कडा कदम चाल्ने संकेत गरेका छन् ।
श्रीलंकाको निर्वाचनले कम्युनिष्ट विरोधी पश्चिमा शक्तिको साथै भारतलाई झड्का दिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । र, यो निर्वाचनलाई कतिपय विश्लेषकहरुले विश्वव्यापीरुपमा कम्युनिष्ट पार्टीहरुको पुनरोदयको शुरुवातको रुपमा चर्चा गरेका छन् । यो निर्वाचनपछि दक्षिण एशियाको राजनीतिमा भारत र अमेरिकाको दबदबा कमजोर भई चीनको दबदबा बढ्ने अपेक्षा गरिएको छ ।