यस दिन नेप्से परिसूचक ९.०९ अंक बढेर २७११.७५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंक बढेको छ।
यस दिन विकास बैंकहरुमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। सो उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.३८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ।
नेप्से सामान्य अंक बढेपनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे १० अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२३ स्टकको ७४ हजार ३०३ पटकको कारोबारमा ७ अर्ब ९ करोड २८ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलोपर्स, सप्तकोशी डेभलपमेन्ट बैंक, महिला लघुवित्त वित्तीय संस्था, कर्णाली डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन गुराँस लघुवित्तको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन पनि ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ८१ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन जानकी फाइनान्सको ३२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको कारोबार रकम २३ करोड नाघेको छ।