एनपिएल आजदेखि, कुन टिम कस्तो छ ? कुन टिमको खेल कहिले छ, खेल तालिकाको विवरण सहित

Nov 30, 2024 06:37 AM Merolagani



नेपाली क्रिकेट विश्वका ठूला देशहरुको लागि पनि आकर्षणको विषय बन्दै आएको छ । खासगरि युवा खेलाडीहरुको आकर्षक पारी र क्रिकेटप्रेमीहरुले मैदानमा देखाउने सक्रियता र उत्साहले नेपाली क्रिकेटको बारेमा विश्वभर नै चर्चा परिचर्चा हुने गरेको छ ।

यस्तो अवस्थामा नेपालमा पहिलो पटक आज देखि नेपाल प्रिमियर लिग (एनपिएल) शुरु हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको यो प्रतियोगिता खेल्नको लागि विश्वका चर्चित खेलाडीहरु नेपाल आइसकेका छन् । त्यसले पनि नेपाली क्रिकेटलाई थप अन्तराष्ट्रिय चर्चा बनाएको छ । त्यहीकारण यो प्रतियोगिताका सम्पूर्ण खेलहरु खेल जगतका प्रतिष्ठित टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्दैछ ।

कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा शनिबार एनपीएलको भव्य शुभारम्भ हुनेछ । उद्घाटन खेल विराटनर किङ्स र जनकपुर बोल्टबीच हुने भएको छ । पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

सबै टिमले विश्वकपसहितका उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडीलाई मैदानमा उतार्दैछन् ।

कुन टिम कस्तो ?

विराटनगर किंग्स 

नेपाली टिमका स्टार स्पिनर सन्दीप लामिछाने मार्की रहेको विराटनगर किंग्समा लोकेश बम, प्रतिश जीसी, बसिर अहमद जस्ता उम्दा खेलाडी छन् ।

राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ पनि विराटनगर किंग्समा छन् ।

यस्तै विराटनगर किंग्समा विश्व चर्चित र अनुभवी विदेशी खेलाडी पनि छन् । ओमानका अकिब इल्यास, न्युजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन, स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् ।

विराटनगर किंग्समा सन्दीपसँगै विदेशी खेलाडीको प्रदर्शन हेर्न लायक हुनेछ ।

जनकपुर बोल्ट्स 

राष्ट्रिय टिमका विकेट किपर ओपनर आसिफ शेख मार्की रहेको जनकपुर बोल्ट्समा अर्का ओपनर अनिलकुमार साह र स्पिनर ललित राजवंशी छन् । राष्ट्रिय टिमका नियमित सदस्यहरूको सहभागिताले जनकपुर बोल्ट्स बलियो देखिन्छ । टिममा रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर छन् ।

जनकपुर बोल्ट्समा न्युजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रम्प, इंग्ल्यान्डका बेन माइक, पाकिस्तानका मोहमद मोहसिन, अमेरिकाका लाहिरू मिलन्था र क्यानडाका हर्ष थाकर छन् ।

नेपाली र विदेशी खेलाडीको बलियो प्रदर्शन पक्षले जनकपुर बोल्ट्स पनि एनपिएलको उपाधि दाबेदार टिम हो ।

 चितवन राइनोज 

पावर हिटर कुशल मल्ल मार्की रहेको चितवन राइनोज बागमती प्रदेशको चितवनबाट प्रतिनिधित्व गर्ने टिम हो । टिममा मल्लसँगै रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल छन् ।

यस्तै सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दीपक बोहरा, रंजीत कुमार, गौतम केसी पनि टिममा छन् ।

चितवन राइनोजमा इंग्ल्यान्डका रवी बोपारा, अफगानिस्तानका हसन इसाखिल, नामिबियाका जान निकोल लोफ्टी इटन, इंग्ल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाईन छन् । चितवन राइनोजको आइकोनिक खेलाडी सलाहुद्दिन खान हुन् । युवा स्टार रहेको चितवन राइनोजमा लोफ्टी इटन र शरद भेषावकरको अनुभवले काम उत्कृष्ट प्रदर्शन गर्न सक्छ ।

काठमाडौं गुर्खाज 

नेपाली टिमका फास्ट बलर करण केसी मार्की रहेको घरेलु टोली काठमाडौं गुर्खाज एनपिएलको उपाधि दाबेदार टिम हो । काठमाडौं गुर्खाजमा करणबाहेक, साहब आलम, भीम सार्की, रसिद खान जस्ता युवा खेलाडी छन् । टिममा शङ्कर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल छन् ।

काठमाडौं गुर्खाजको विदेशी खेलाडीमा भने इंग्ल्यान्डका नेथन सोउटर, इंग्ल्यान्डकै स्टेफन इस्किनाजी, इंग्ल्यान्डका ड्यान डौथवेट, नेदरल्यान्ड्सका माइकल लेभिट र नामिबियाका जेहार्ड एरासमस छन् ।
काठमाडौँको आइकोनिक खेलाडीमा भने कृष कार्की छन् ।

 
पोखरा एभेन्जर्स 

नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्स एनपिएलको उपाधि जित्ने दाउमा छ ।

पोखरा एभेन्जर्समा सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री जस्ता युवा स्टारहरूको बाहुल्यता रहेको छ ।

टिममा दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ पनि छन् ।

पोखरा एभेन्जर्समा अमेरिका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डे लिडे, इंग्ल्यान्डका म्याट क्रिचली, वेस्ट इन्डिजका रेमन राइफर र ९स्कटल्यान्डका माइकल लिस्क छन् ।

आइकोनिक खेलाडीमा भने सुदिप अर्याल छन् ।

लुम्बिनी लायन्स

नेपाली राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल मार्की रहेको लुम्बिनी लायन्समा सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी छन् ।

टिममा दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेक गौतम, विकाश अग्री पनि समावेश छन् ।

लुम्बिनी लायन्समा अस्ट्रेलियाका बेन कटिङ, अमेरिकाका उन्मुक्त चन्द, इंग्ल्यान्डका टम मूर्स, वेस्ट इन्डिजका रेमन सिमन्ड्स, क्यानडाका शाद बिन जफर छन् । लुम्बिनीको आइकोनिक खेलाडीमा आरिफ शान छन् ।

लुम्बिनी लायन्सलाई पनि उपाधि दाबेदार टिमकै रूपमा हेरिएको छ ।

कर्णाली याक्स 

एनपिएलका ८ वटा टिम मध्ये सबैभन्दा धेरै प्रचारप्रसार गरिरहेको टिम हो कर्णाली याक्स । फास्ट बलर सोमपाल कामी मार्की रहेको कर्णाली याक्स जसरी पनि उपाधि जित्ने दाउमा छ ।

कर्णाली याक्समा युवा अलराउण्डर गुलशन कुमार झा, देव खनाल, नन्दन यादव, मौसम ढकाल जस्ता स्टारहरू छन् ।

टिममा अर्जुन घर्ती, रित गौतम, भुवन कार्की, दीपेन्द्र रावत, दीपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी पनि छन् ।

कर्णाली याक्समा भारतका शिखर धवन, हङकङका बाबर हायत, वेस्ट इन्डिजका चाडविक वाल्टन, ओमानका जीशान मक्सुद छन् ।

शिखर धवन एनपिएलकै सबैभन्दा ठुलो नाम हो । कर्णाली याक्सका आइकोनिक खेलाडीमा विपिन शर्मा छन् ।

सुदूरपश्चिम रोयल्स
एनपिएलकै बलियो टिम मध्येको एक हो सुदूरपश्चिम रोयल्स । अलराउण्डर दीपेन्द्रसिंह ऐरी मार्की रहेको सुदूरपश्चिम रोयल्स एनपिएलको पहिलो उपाधि जित्न चाहन्छ ।

सुदूरपश्चिम रोयल्समा ऐरीसँगै आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी जस्ता अनुभवी खेलाडी छन् ।

टिममा इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद जस्ता युवा खेलाडी छन् । सुदूरपश्चिम रोयल्समा धेरै जसो सुदूरपश्चिमकै खेलाडीको बाहुल्यता छ ।

सुदूरपश्चिम रोयल्समा स्कटल्यान्डका ब्रान्डन मक्मलेन, इंग्ल्यान्डका सेफ अलि जेब, न्युजिल्यान्डका स्कट कुगेलेइन र युएईका रोहन मुस्तफा छन् ।

वसन्त खत्री सुदूरपश्चिम रोयल्सका आइकोनिक खेलाडी हुन् ।

टिकटको मूल्य

प्रतियोगिताको उद्घाटन खेलमा सामान्यतर्फ ३०० र भीआईपीतर्फ ७०० रुपैयाँ टिकट मूल्य राखिएको छ । लिग चरणका अन्य खेलहरू हेर्न भने समर्थकले सामान्यतर्फ ३०० र भीआईपीतर्फ ५०० रुपैयाँ टिकट मूल्य तिर्नुपर्ने छ ।

यस्तै, प्रतियोगिताको प्लेअफ खेलका दौरान सामान्यतर्फ ५०० र भीआईपीतर्फ ७०० रुपैयाँ टिकट मूल्य तोकिएको छ । प्रतियोगिताको फाइनलका निम्ति भने सामान्यतर्फ ५०० रुपैयाँ नै रहँदा भीआईपीतर्फ एक हजार रुपैयाँ टिकट मूल्य तोकिएको छ ।

क्यानले प्रतियोगिताका निम्ति सिजनल पासको समेत व्यवस्था गरेको छ । पूरा सिजनका लागि टिकट किन्दा २० प्रतिशत छुटको व्यवस्था छ । सिजनका लागि पास लिनुपर्दा साधारणतर्फ ४४८० र भीआईपतर्फ ८२४० रुपैयाँ तोकिएको छ ।

कसरी हेर्ने ?

पहिलो संस्करणको एनपिएलको प्रत्यक्ष प्रसारण टिभीमा स्टार स्पोर्ट्स नेटवर्क र युट्युबमा एक्सन स्पोर्ट्स एचडी मा हेर्न सकिने छ ।

 

खेल तालिका


मंसिर १५ – १२.१५ बजे – विराटनगर भर्सेस जनकपुर

मंसिर १७ गते – ९.१५ बजे – काठमाडौं भर्सेस चितवन

मंसिर १७ गते – १.१५ बजे – जनकपुर भर्सेस कर्णाली

मंसिर १८ गते – ९.१५ बजे – सुदुरपश्चिम भर्सेस विराटनगर

मंसिर १८ गते – १.१५ बजे – चितवन भर्सेस पोखरा

मंसिर १९ गते – ९.१५ बजे – कर्णाली भर्सेस काठमाडौं

मंसिर १९ गते – १.१५ बजे – विराटनगर भर्सेस लुम्बिनी

मंसिर २० गते – ९.१५ बजे – पोखरा भर्सेस जनकपुर

मंसिर २० गते – १.१५ बजे – काठमाडौं भर्सेस सुदुरपश्चिम

मंसिर २१ गते – ९.१५ बजे – कर्णाली भर्सेस चितवन

मंसिर २१ गते – १.१५ बजे – लुम्बिनी भर्सेस पोखरा

मंसिर २२ गते – ९.१५ बजे – लुम्बिनी भर्सेस सुदुरपश्चिम

मंसिर २२ गते – १.१५ बजे – कर्णाली भर्सेस विराटनगर

मंसिर २३ गते – ९.१५ बजे – जनकपुर भर्सेस लुम्बिनी

मंसिर २३ गते – १.१५ बजे – सुदूरपश्चिम भर्सेस चितवन

मंसिर २५ गते – ९.१५ बजे – चितवन भर्सेस लुम्बिनी

मंसिर २५ गते – १.१५ बजे – कर्णाली भर्सेस पोखरा

मंसिर २६ गते – ९.१५ बजे – जनकपुर भर्सेस सुदुरपश्चिम

मंसिर २६ गते – १.१५ बजे – काठमाडौं भर्सेस लुम्बिनी

मंसिर २७ गते – ९.१५ बजे – पोखरा भर्सेस विराटनगर

मंसिर २७ गते – १.१५ बजे – काठमाडौं भर्सेस जनकपुर

मंसिर २८ गते – ९.१५ बजे – लुम्बिनी भर्सेस कर्णाली

मंसिर २८ गते – १.१५ बजे – विराटनगर भर्सेस चितवन

मंसिर २९ गते – ९.१५ बजे – काठमाडौं भर्सेस पोखरा

मंसिर २९ गते – १.१५ बजे – जनकपुर भर्सेस चितवन

मंसिर ३० गते – ९.१५ बजे – काठमाडौं भर्सेस विराटनगर

मंसिर ३० गते – १.१५ बजे – पोखरा भर्सेस सुदूरपश्चिम

पुस १ गते – ९.१५ बजे – सुदूरपश्चिम भर्सेस कर्णाली

पुस ३ गते – ९.१५ बजे – तेस्रो स्थान भर्सेस चौथो स्थान (एलिमिनेटर)

पुस ३ गते – १.१५ बजे – पहिलो स्थान भर्सेस दोस्रो स्थान (पहिलो क्वालिफायर)

पुस ४ गते – १२.१५ बजे – एलिमिनेटर विजेता भर्सेस (पहिलो क्वालिफायर) पराजित (दोस्रो क्वालिफायर)

पुस ६ गते – १२.१५ बजे – फाइनल (पहिलो क्वालिफायरविजेता भर्सेस दोस्रो क्वालिफायर विजेता)




comments powered by Disqus

मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंक मौन, भएन कुनै नीतिगत परिवर्तन

Nov 29, 2024 10:34 AM

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंक मौन देखिएको छ। केन्द्रिय बैंकले शुक्रबार सार्वजानिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कुनै पनि नीतिगत परिवर्तन गरेको छैन।