आकाशिँदै डलरको भाउ, झन् झन् कमजोर हुँदै नेपाली रुपैयाँ

Dec 18, 2024 06:43 AM Merolagani



नेपाली बजारमा डलरको भाउ दिनदिनै जसो आकाशिँदै गइरहेको छ। पुस २ गते नयाँ रेकर्ड बनाएको डलरको मूल्यले आज पुस ३ गते पुनः नयाँ रेकर्ड बनाएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३६ रुपैयाँ १४ पैसा र खरिददर १३५ रुपैयाँ ५४ पैसा रहेको छ। यो डलरको हालसम्मको उच्च मूल्य हो। यस अघि हिजो (मंगलबार) डलरको मूल्यले नयाँ रेकर्ड बनाएको थियो। हिजो डलरको बिक्रीदर १३६ रुपैयाँ ९ पैसा रहेको र खरिददर १३५ रुपैयाँ ४९ पैसा थियो। अघिल्लो दिनको तुलनामा यस दिन डलरको मूल्य ५ पैसा बढेको हो।

अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको हो। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।

डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुनेछ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ। यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ।

डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केहि फाइदा हुन्छ। तर आयातको हिस्सा धेरै भएकोले डलर महंगिदा फाइदाभन्दा बेफाइदा बढी हुने जानकारहरु बताउछन्।

 



comments powered by Disqus