पाँच महिनामा जीवन बीमा कम्पनीको व्यापार ६६ अर्ब, सक्रिय बीमालेख संख्या भने रिलायवल र नेपाल लाइफसँग बढी

Dec 24, 2024 06:20 PM MeroLagani



जीवन बीमा कम्पनीको व्यापार चालु आर्थिक वर्ष २०८१/०८२ को ५ महिनामा ६६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको साउनदेखि मसिंर मसान्तसम्म १४ जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले ६६ अर्ब १४ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।


५ महिनामा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफले संकलन गरेको छ । नेपाल लाइफले १८ अर्ब ७६ करोड ४८ लाख बीमाशुल्क संकलन गर्दा नेशनल लाइफले ७ अर्ब ९८ करोड ६८ लाख, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी) ले ७ अर्ब ६६ करोड ३६ लाख, हिमालयन लाइफले ६ अर्ब ७९ करोड १४ लाख, सूर्यज्योति लाइफले ३ अर्ब ९९ करोड ६८ लाख र एशियन लाइफले ३ अर्ब ३६ करोड ४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

५ महिनामा सिटिजन लाइफले २ अर्ब ६४ करोड, सानिमा रिलायन्स लाइफले २ अर्ब ५९ करोड, मेट लाइफले २ अर्ब३३ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब २५ करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ९४ करोड, रिलायवल नेपाल लाइफले १ अर्ब ९२ करोड, आईएमई लाइफले १ अर्ब ८९ करोड र सबैभन्दा कम सन नेपाल लाइफले १ अर्ब ५७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

यता लघु जीवन बीमा कम्पीहरुमध्ये गार्डियन माइक्रो लाइफले १५ करोड ५७ लाख रुपयाँ, क्रेस्ट माइक्रो लाइफले १४ करोड ७८ लाख रुपैयाँ र लिबर्टी लाइफले ९ करोड ९८ लाख रुपैयाँ गरी लघु जीवन बीमा कम्पीहरुले कुल ४० करोड ३४ लाख रुपैया बीमा शुल्क संकलन गरेका छन् ।

सक्रिय बीमा लेख संख्यामा रिलायवल नेपाल लाइफ अगाडि

बीमा शुल्क संकलन गर्नु मात्र नभएर जीवन बीमा गर्नेहरुलाई टिकाइ राख्नु पनि ठूलो हुने गर्दछ । अर्थतन्त्र मन्दी आउँदा जीवन बीमालेख सरेन्डर गर्नेहरु पनि बढ्दै गएको देखिन्छ जसले कम्पनीहरुको सक्रिय जीवन बीमा लेख संख्यालाई घटाइदिन्छ । बीमा प्रिमियम संकलनमा नेपाल लाइफ अगाडि रहे पनि सक्रिय जीवन बीमा लेख संख्याका आधारमा भने नयाँ कम्पनीहरु नै अगाडि देखिएका छन् ।

नेपाल बीमा प्राधिकरणको पाँच महिनाको तथ्यांक अनुसार रिलायवल नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ । कम्पनीसँग २४ लाख ९३ हजार ८९० सक्रिय बीमा लेख संख्या रहेको छ । त्यसैगरी दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीसँग १७ लाख २३ हजार ३२३ वटा सक्रिय जीवन बीमालेख रहेको छ । तेस्रोमा नेसनल लाइफ इन्स्योरेन्ससँगै १५ लाख ६७ हजार, चौथोमा सिटिजन लाइफसँग १० लाख ७३ हजार रहेको छ । सबैभन्दा कम सक्रिय जीवन बीमा लेख संख्या भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग रहेको छ । कम्पनीसँग जम्मा १ लाख ८९ हजार मात्रै सक्रिय जीवन बीमा लेख रहेको छ ।

पहिलो प्रिमियम संकलनमा पनि नेपाल लाइफ नै अगाडि

सक्रिय जीवन बीमा लेख संख्यामा रिलायवल नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेको पनि पहिलो बीमा प्रिमियम संकलनमा भने नेपाल लाइफ इन्स्योरेन्स नै अगाडि देखिएको छ । नेपाल लाइफले चालु आवको पहिलो ५ महिनामा पहिलो बीमा प्रिमियमबापत् मात्रै ३ अर्ब २१ करोड १३ लाख रुपैयाँ संकलन गरेका छन । पहिलो बीमा प्रिमियम भनेको कम्पनीमा नयाँ व्यापार थपिएको हो ।

पहिलो बीमा प्रिमियम धेरै संकलन गर्ने दोस्रो कम्पनीमा नेसनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले पाँच महिनामा १ अर्ब ८८ करोड ७९ लाख रुपैयाँ पहिलो प्रिमियम संकलन गरेको छ भने तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल रहेको छ । लाइफ इन्स्योरेन्सले १ अर्ब २ करोड ७० लाख रुपैयाँ पहिलो बीमा प्रिमियम संकलन गरेको हो । अन्य कम्पनीहरुले भने १ अर्ब रुपैयाँभन्दा कम प्रिमियम संकलन गरेका छन । सबैभन्दा कम पहिलो बीमा प्रिमियम संकलन गर्नेमा भने सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ३४ करोड ८९ लाख रुपैयाँ मात्रै संकलन गरेको छ ।

वैदेशिक रोजगार बीमा प्रिमियममा संकलनमा सन नेपाल लाइफ अगाडि

वैदेशिक रोजगारमा जानेहरुले अनिवार्य रुपमा बीमा गर्नुपर्ने हुँदा वैदेशिक रोजगार बीमा पनि जीवन बीमा कम्पनीहरुको लोकप्रिय बीमा लेख हो । चालु आवको पाँच महिनामा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख बेचेर १ अर्ब १८ करोड ९७ लाख रुपैयाँ बीमा प्रिमियम संकलन गरेका छन । यसमा सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार बीमा प्रिमियम संकलन गरेका छन् । कम्पनीले १९ करोड ३२ लाख २४ हजार रुपैयाँ संकलन गरेका छन् ।

मेट लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले भने वैदेशिक रोजगार बीमा लेख बिक्री गरेको छैन । सबैभन्दा कम रकमको वैदेशिक रोजगार बीमालेख बिक्री गर्नेमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आवको पाँच महिनामा वैदेशिक जीवन बीमालेख बिक्री गरेर ६ करोड ३४ लाख ८८ हजार रुपैयाँ मात्रै प्रिमियम संकलन गरेका छन् ।

नवीवरकण प्रिमियममा पनि नेपाल लाइफ इन्स्योरेन्स नै अगाडि रहेको छ । कम्पनीले जीवन बीमालेख नवीकरणबाट १५ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ संकलन गरेकाे छ । त्यसैगरी सबैभन्दा कम सन नेपाल लाइफले १ अर्ब ३ करोड ३४ लाख रुपैयाँ संकलन गरेकाे छ ।




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।