लघुवित्त पनि मर्जरकै लाइनमा, २९ मध्ये २३ को मर्जर एजेन्डा, लघुवित्तको शेयर किन्दा चनाखो हुने कि?

Jan 02, 2025 11:12 AM MeroLagani



बाबुकृष्ण महर्जन

वाणिज्य बैंक मात्रै होइन, लघुवित्त कम्पनीहरु पनि अहिले मर्जरकै लाइनमा देखिएका छन् । प्राय लघुवित्त कम्पनीहरु सस्तो मूल्य पाएमा मर्जर गरिहाल्ने पक्षमा देखिएका छन् ।

अहिलेसम्म ११ वटा लघुवित्तले साधारण सभा सम्पन्न गरिसकेका छन् भने १८ वटा लघुवित्तले पुस मसान्तभित्रै साधारण सभा गर्ने सूचना जारी गरिकेका छन् । पुस मसान्तभित्र साधारण सभा गर्ने कुल २९ वटा लघुवित्तमध्ये २३ वटा लघुवित्तले मर्जरको एजेन्डा साधारण सभामा लगेका छन् । अझै सूचीकृत २१ वटा लघुवित्तको साधारण सभाको मिति तय भएको छैन ।

साधारण सभाबाट मर्जरको एजेन्डा पारित गराएका लघुवित्त कुनै पनि समयमा मर्जरमा जान सक्ने हुँदा कम चुक्ता पुँजी भएका तर मूल्य उच्च भएका लघुवित्तको शेयर किन्दा चनाखो हुनुपर्ने आवश्यकता देखिएको छ । विगतमा पनि उच्च शेयर मूल्य तर न्यून चुक्ता पुँजी भएका कम्पनीलाई थोरै शेयर मूल्य तर धेरै चुक्ता पुँजी भएका कम्पनी भएको कम्पनीले एक्वायर गर्दा उच्च मूल्य तिरेर न्यून चुक्ता पुँजी भएका कम्पनीको शेयर किन्ने लगानीकर्ताको बिचल्ली भएको थियो । अधिकांश लघुवित्तले मर्जरको एजेन्डा पारित गराएकाले भविष्यमा फेरि पनि यस्तो प्रवृत्ति दोहोरिन सक्ने हुँदा त्यस्ता कम्पनीको शेयर किन्दा चनाखो रहनुपर्ने एक अनुभवी लगानीकर्ताले बताए ।

गत वर्ष चर्को तरलता समस्या र ऋणीहरुले साँवा व्याज नबुझाउने आन्दोलनले गर्दा समस्यामा परेका ऋणीहरु राष्ट्र बैंकको एक लघुवित्त एक ऋणीको नीतिले थप समस्यामा परे । एउटै ऋणीले एक भन्दा बढी लघुवित्तबाट ऋण लिएको छ भने समय तोकेर एउटै मात्र लघुवित्त लिन लगाइयो । एक भन्दा बढी लघुवित्तबाट ऋण लिएका ऋणीको ऋणलाई खराब कर्जा मानेर प्रोभिजन छुट्याउन लगाइयो । यसले गर्दा लघुवित्तको खराब कर्जा ह्वात्तै बढ्यो भने पुँजी कोष पनि टाइट हुँदै गयो ।

कुनै समय भटाभट लाइसेन्स दिएका लघुवित्तहरुलाई मर्जर एन्ड एक्विजिसनमा जान राष्ट्र बैंकले नै प्रेरित गर्ने नीति लियो । ३ वर्ष अगाडिसम्म १ सयको संख्यामा रहेका लघुवित्तहरु अहिले ५२ वटामा सिमित भएका छन् । साधारण सभा गरेका र गर्न बाँकी अधिकांश लघुवित्तले आफ्नो एजेन्डामा मर्जर र एक्विजिसनको एजेन्डालाई छुटाएका छैनन । विशेषगरी कुनै पनि संस्थासँग मर्जर नै नगरेका लघुवित्तहरुलाई राष्ट्र बैंकले कुनै एक संस्था लिएर सहयोग गर्न अनुरोध गरिरहेको एक लघुवित्तका प्रमुख कार्यकारी अधिकृतले मेरो लगानीलाई बताए ।

अहिले राष्ट्र बैंककोे अनुमति प्राप्त ५२ वटा लघुवित्त छन् । त्यसमध्ये २ वटा लघुवित्तले आइपीओ निष्काशन गरेको छैन भने ५० वटा लघुवित्तले आइपीओ निष्काशन गरेर नेप्सेमा सूचीकृत छन् ।

अहिलेसम्म साधारण सभा गरेका ११ वटा लघुवित्तमध्ये नेसनल लघुवित्त बाहेक १० वटा लघुवित्तले हालै सम्पन्न साधारण सभाबाट मर्जर तथा एक्विजिसनको एजेन्डालाई पारित गराएका छन् ।

त्यसैगरी पुस मसान्तभित्रै साधारण सभा गर्ने उद्दे्श्यले सार्वजनिक सूचना जारी गरिसकेका १८ लघुवित्तमध्ये १४ वटा लघुवित्तले आफ्नो विशेष प्रस्तावमा मर्जर तथा एक्विवजिसनको प्रस्ताव राखेका छन् । अधिकांश लघुवित्तले विशेष प्रस्तावको एक बुँदामा ‘भविष्यमा अन्य लघुवित्त संस्थासँग मर्जर र प्राप्ति गर्ने प्रयोजनार्थ अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग मर्जर/प्राप्ति सम्बन्धी सम्झौता पत्र तय गर्ने, डीडीए गर्ने र मर्जर/प्राप्ति सम्बन्धी आवश्यक अन्य सम्पूर्ण प्रक्रिया पूरा गर्न-गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने’ उल्लेख गराएका छन् ।

नेपाल लघुवित्त संघका पूर्व अध्यक्ष एवम् विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बसन्त लम्सालले अहिले राष्ट्र बैंकको नीत नै लघुवित्तको संख्या घटाउने रहेको बताए । ‘कुनै पनि संस्थासँग मर्जर नगरेका लघुवित्तलाई मर्जर वा एक्वाएर गर्न राष्ट्र संघले सुझाव दिँदै आएको छ ।’–उनले भने–‘मर्जर गरिसकेका लघुवित्तलाई भने त्यस्तो दबाब आएको छैन । विजय लघुवित्तले पनि मर्जरको एजेन्डा राखेको छैन । समस्यामा परेको कुनै संस्था सस्तो दाममा पाएमा गरिहालौं भन्ने हिसाबले पनि धेरैले मर्जरको एजेन्डा साधारण सभाबाट पास गराएको हुन सक्छ ।’

अहिले राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ५२ मध्ये ५० वटा लघुवित्त नेप्सेमा सूचीकृत छन् । अधिकांश न्यून चुक्ता पुँजी भएका कम्पनीको शेयर मूल्य एकदमै उच्च छ । वित्तीय विवरणले सो मूल्य उच्च देखिए पनि शेयरको न्यून आपूर्तिका कारण त्यस्ता कम्पनीहरु उचालिएका छन् । वित्तीय रुपमा कमजोर देखिएका कम्पनीहरु कुनै कारणवश वित्तीय रुपमा बलिया कम्पनीहरुसँग मर्जर तथा एक्विजिसनमा गएमा भने महंगो मूल्यमा शेयर किनेका लगानीकर्ताहरु ठूलो मर्कामा पर्न सक्ने एक लगानीकर्ताले सुनाए ।

बुधबारको शेयर मूल्य अनुसार आत्मनिर्भर लघुवित्त ६ सय ९० रुपैयाँ, उपकार लघुवित्त ४ हजार २ सय ८० रुपैयाँ, समाज लघुवित्त ३५ सय रुपैयाँमा कारोबार भएका छन् । सामुदायिक, नेष्डो समृद्धि, गुराँस, महिला, युनिक नेपाल, विन नेपाल, सिर्जनशील, सपोर्ट लघुवित्तको शेयर मूल्य अहिले पनि २ हजारदेखि ३ हजारको रेन्जमा कारोबार भइरहेको छ ।

साधारण सभा सम्पन्न गरिसकेका मध्ये स्वावलम्बन, फष्ट माइक्रोफाइनानस, हिमालयन, फवार्ड माइक्रोफाइनान्स, सर्पोट, आशा, गुराँस, मानुषी र युनिक नेपाल लघुवित्तले साधारण सभाबाट मर्जरको एजेन्डा पारित गराएका छन् ।

त्यसैगरी साधारण सभा गर्न बाँकी लघुवित्त मध्ये निर्धन उत्थान, छिमेक, डिप्रोक्स, कालिका, मिथिला, लक्ष्मी, आरएसडीसी, गणपति, इन्फिनिटी, जीवन विकास, उपकार, सीवाईसी नेपाल, वीन नेपाल र सुर्योदय वोमी लघुवित्तले मर्जरको एजेन्डा विशेष प्रस्तावमा राखेका छन् ।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।