दोर्दी खोला जलविद्युत कम्पनी, ग्रिन भेन्चर्स लिमिटेडको शेयर आइतबार सर्किट लेभलमा कारोबार भयो । त्यसैगरी डोल्टी पावर ९.४४ प्रतिशत, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन ७.२३ प्रतिशत, बलेफी हाइड्रो ७.०६ प्रतिशत र पिपल्स हाइड्रोपावर ६.१८ प्रतिशतले बढ्यो । कारोबार रकममा पनि टप ५ कारोबारमा रिभर फल्स पावरको १७ करोड ३६ लाख र रसुवागढी हाइड्रोपावरको १२ करोड ९० लाख गरेर दुई वटा हाइड्रोपावरको उच्च कारोबार भयो ।
बजारमा अहिले दीर्घकालीन लगानीकर्ता भन्दा पनि अल्पकालीन लगानीकर्ता नै हावी छन् । नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई संकटग्रष्त घोषणा गरेपछि धितोपत्र बोर्डले सो कम्पनीको कारोबार रोक्का राख्दा लगानीकर्ताहरु विकास बैंक समूहसँगै फाइनान्स कम्पनीको शेयर किन्न हच्किएको देखिएको छ । त्यस बीचमा हाइड्रोपावरका कम्पनीहरुबाट नाफा कमाउन सकिन्छ कि भन्ने सोचले हाइड्रोपावर समूहमा लगानीकर्ता डाइभर्ट भएको हो कि भन्ने निचोडमा पुगेका शेयर विश्लेषक सुवासचन्द्र ढुंगानाले बताए ।
नेप्सेमा २ सय ४४ वटा कम्पनीमध्ये सबैभन्दा बढी हाइड्रोपावर समूहकै ९१ वटा कम्पनी सुचीकृत छन् । सुचीकृत कम्पनीहरुको संख्याको हिसाबले यो झन्डै ४० प्रतिशतको हाराहारीमा हुन आउँछ । हाइड्रोपावर समूहमा न्यून चुक्ता पुँजीदेखि लिएर उच्च चुक्ता पुँजी भएका कम्पनीहरु सुचीकृत हुँदा लगानीकर्तालाई हाइड्रोपावर समूहभित्रै छनोटको विभिन्न विकल्प पनि भएको छ । कोरोनाको समयमा पनि अन्य क्षेत्रमा जोखिम देख्दा लगानीकर्ताहरु हाइड्रोपावर कम्पनीको शेयरमा झुम्मिएका थिए जसले ४०-५० रुपैयाँमा कारोबार भइरहेका हाइड्रोपावर कम्पनीकाे शेयरको मूल्य एकदमै उचालिएर कारोबार भएको थियो । अहिले पनि बैंकमा तरलता एकदमै फालाफाल छ । बैंकको व्याज दर एकदमै न्यून विन्दुमा छ । अहिले नेप्सेमा विकास बैंक र फाइनान्स समूहका कम्पनीहरु ट्रेडरले एकदमै रुचाएका समूह थिए जसको फलस्वरुप यी समूहका कम्पनीको शेयर मूल्य एकदमै उच्च छ । कर्णाली विकास बैंकको शेयर कारोबार रोक्का गरेपछि सुरक्षित ट्रेडिङ शेयरको खोजीमा लगानीकर्ताहरुले न्यून पुँजीका हाइड्रोपावर कम्पनीहरु छनोटमा परेको ढुंगानाले बताए । बजारमा बैंक तथा वित्तीय संस्थाका कम्पनीको शेयर बढ्दा हाइड्रोपावरको शेयर मूल्य घट्ने गरेको थियो । बैंक तथा वित्तीय संस्थाको दोस्रो त्रैमासिक नतिजा नराम्रो आउने अभिव्यक्ति सार्वजनिक हुँदै जानु र कर्णाली विकास बैंकको कारवाही प्रक्रियाले लगानीकर्ता अहिले हाइड्रोपावर तिर सिफ्ट भएको उनको आँकलन छ ।
अर्का लगानीकर्ता एसपी चौलागाईले पनि पछिल्लो केही कारोबार दिनदेखि बढ्दै गएको हाइड्रोपावर कम्पनीको कारोबार रकमको निरन्तर वृद्धिले हाइड्रोपावर कम्पनीमा नै लगानीकर्ताहरु सिफ्ट भएको हो कि भन्ने अनुभव गरेको बताए । हाइड्रोपावरमा साधारणतया आम्दानी निश्चित हुन्छ । हाइड्रोपावरको उच्च क्षमताको आधारमा उसको नाफा अनुमान गर्न सकिन्छ तर हाइड्रोपावरमा ठूलो अंश ऋण समेत रहेको छ । उक्त ऋणको व्याज भुक्तानीमै हाइड्रोपावरको ठूलो आम्दानीको अंश खर्च हुन्छ । अहिले बैंकको व्याज दर घट्दै गएको अवस्था छ । व्याज दर घट्दै गर्दा हाइड्रोपावर कम्पनीले तिर्ने ऋणको व्याज दर समेत घट्न पुग्छ । तिर्नुपर्ने व्याज घट्दा त्यसलाई पनि हाइड्रोपावर कम्पनीले आम्दानीको रुपमा जनाउन सक्ने हुन्छ । अहिले बैंक तथा वित्तीय संस्थाहरुले विगतमा दिएको ऋण असुली राम्रो नभएको अभिव्यक्ति दिइरहेका छन् । यसले बैंक तथा वित्तीय संस्थाको दोस्रो त्रैमासिक रिपोर्ट सुधारिएको नआउने आँकलन गर्न सकिन्छ । यही बीचमा हाइड्रोपावरको रिपोर्ट केही राम्रो आउने आशा गर्दै लगानीकर्ता हाइड्रोपावरतिर लागेको हुन सक्ने उनले बताए । जनवरी लागेपछिको तीन दिनको कारोबार रकम हेर्दा हाइड्रोपावर समूहको कारोबार रकम हरेक दिन बढ्दै गएको देखिन्छ ।