अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यद्वय न्यायाधीश तेजनारायणसिंह राई र न्यायाधीश रितेन्द्र थापाको इजलासमा बहस भइरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले । करिब एक वर्षअघि २४० जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
टीकापुर बजार क्षेत्रको करिब ६ सय कठ्ठा सरकारी जग्गा नक्कली कागज बनाएर नेता, कार्यकर्ताहरुको नाममा पास गरिएको टिकापुर जग्गा प्रकरणलाई बहुचर्चित बालुवाटार काण्ड भन्दा पनि डरलाग्दो काण्डको रुपमा लिने गरिन्छ । कतिपयले यसलाई ‘बालुवाटार काण्ड भाग-२’ पनि भन्ने गरेका छन् । यो काण्डमा २४० जना प्रतिवादी रहेका छन् । मुद्दा दायर गरिएका मध्ये ७ जनाको मृत्यु भइसकेको छ ।
आरजुले आफूले ०५३ सालमा जग्गा किनेको भए पनि २०६८ सालपछि त्यहाँ जग्गा घोटाला भएको प्रष्टीकरण दिदैँ आएकी छन् । त्यसैलाई आधार बनाउँदै अख्तियारले आरजु विरुद्ध मुद्दा दर्ता गरेको छैन । तर, उक्त जग्गा प्रकरणको मुख्य अभियुक्त मध्ये एक जना आरजु पनि रहेको भन्दै कारवाही हुनु पर्ने बताउँदै आएका छन् । अदालतमा बहसको क्रममा पनि पटक पटक आरजुमाथि कारवाही हुनु पर्ने विषय उठिरहेको छ । त्यहीकारण पनि यो मुद्दा अदालतले आरजुमाथि कुनै सजाय तोक्ला कि उनलाई निर्दोष ठहर्याउला भन्ने सर्वत्र चासोको विषय बनेको छ ।
विशेष अदालतले त्यो प्रकरणमा मिलेमतोको ठहर गर्दै उनलाई पनि सजाय तोक्यो भने उनको मन्त्री पद मात्रै होइन, सांसद पद पनि गुम्नेछ । नेपाली कांग्रेसकी सभापति शेरबहादुर देउवाकी पत्नी उनी हाल समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्य छन् ।
अख्तियारले मुद्दा दायर गरेकाहरुमा टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मीको साथै गणेश सिंह रावल, खडकबहादुर शाह, बमबहादुर बम, श्याम खत्री, देवेन्द्रबहादुर कुँवर, पदमराज न्यौपाने, प्रेमसिंह विक भरत स्वाँर, बेदराज ढुंगाना, दयाराम सञ्ज्याल, पूर्णबहादुर बोगटी, अमरबहादुर कडायत, मदन कुँवर र तारा सञ्ज्याल, बलबहादुर कडायत, झप्परसिंह विश्वकर्मा लगायतका रहेका छन् ।