यस अघि गत पुस २२ गते सूचकले यसैगरी झण्डै हाफ सेन्चुरी मारेको थियो। उक्त दिन सूचक ४९.१२ अंकले बढेर २६४०.६८ अंकमा उक्लियो थियो।
तर उक्त वृद्धि भने टिकाउ हुन सकेको थिएन। पछिल्लो समय जब जब सूचकले फराकिलो अंकको वृद्धि कायम गर्ने गर्छ। त्यस पछि भने बजारको उक्त वृद्धि टिकाउ हुन सकेको छैन। जसले गर्दा आम लगानीकर्ताले बुधवारको वृद्धि पनि त्यस्तै हुने हो कि भनेर शंका गरेका छन्। यस अघि हुँदै आएको वृद्धि र बुधवारको बढ्नुमा भने केही फरक अवस्था देखिएको बताइएको छ। “यस अघि बजार निक्कै तल पुगेपछि बाउन्स हुने गरेको थियो। तर यस पटक भने लगानीकर्तामा बढेको कन्फिडेन्सले बजारलाई बढाएको जस्तो देखिन्छ। जुन बजारकोो लागि राम्रो पक्ष हो” नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाटले मेरो लगानी सँग भने।
पछिल्लो समय सरकारले अध्यादेश मार्फत केही कानुनहरूलाई परिवर्तन गरेको छ। जुन परिवर्तित कानुन व्यवसायीहरूको अनुरोधमा परिवर्तन गरिएको दाबी व्यवसायीले गरेका छन्। उनीहरूले दाबी मात्रै गरेका छैनन्, उनीहरूले सरकाले ल्याएको अध्यादेशलाई स्वागत समेत गरे। अध्यादेश आएपछि सार्वजनिक रुपमा बोल्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले हालै जारी भएको अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको बताए। आठौँ म्याग्दी महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अध्यादेशबाट भएको कानुन परिवर्तनले निजी क्षेत्र उत्साही भएको बताएका हुन्।
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी,आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण र आर्थिक तथा व्यावसायिक वातावरण सुधार,लगानी अभिवृद्धि र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशबाट लगानी प्रवर्द्धनमा मद्दत पुग्ने अध्यक्ष ढकालले कथन थियो।
“सरकारका तर्फबाट भएको कानुन परिवर्तनले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ”, उनले भने, “निजी क्षेत्रको सकारात्मक सुझावलाई सरकारले ग्रहण गरेर छोटो समयमै कानुन परिवर्तन गरेर लगानी र सुरक्षाको वातावरण भएको सन्देश दिएको छ।”
जसले गर्दा शेयर बजारका मात्रै लगानीकर्तामा कन्फिडेन्स बढाएको छैन। समग्र आर्थिक क्षेत्रमा नै त्यसले कन्फिडेन्स बढाएको भनेर बुझ्नु पर्ने हुन्छ। बढेको शेयर बजारले सकारात्मक सङ्केत गरेको बताइएको छ। तर यति भन्दै गर्दा तत्कालै बजारले बढ्दो लय नै समाइरहने भनेर बुझ्नु नहुने र आउने दिनमा लिने बजारको गतिले पनि आगामी शेयर बजारको दिशा निर्देश हुने भएकोले आइतबार र सोमबारको बजारलाई समेत हेर्नु पर्ने बताइएको छ।
बुधवार जुन हिसाबले कारोबार रकम बढ्यो। त्यो बजारको लागि राम्रो पक्ष हो। किनकि बुधवार बजारले हाफ सेन्चुरी मार्दै गर्दा ९ अर्ब २० करोड रुपैयाँको शेयर किनबेच भएको छ। जुन यस अघिको हाफ सेन्चुरी मार्दाको दिन भन्दा निक्कै बढी हो। यस अघि गत पुस २२ गते सूचक ४९ अंकले बढेको थियो। उक्त दिन ६ अर्ब ३० करोडको शेयर किनबेच भएको थियो। जुन बुधवार ब्रेक भएको छ। अझै सूचक पनि त्यस दिन भन्दा माथि उक्लिएको छ। त्यसले गर्दा पनि कारोबार रकमले साथ दिएको र आउने दिनमा यो कारोबार रकमलाई पचाउने गरी कारोबार हुनु पर्ने हुन्छ। जसले बजारलाई माथि लैजान सहयोग गर्ने छ। अहिले देखिएको लगानीकर्ताको कन्फिडेन्सले बजारलाई माथि नै लैजान सहयोग गर्ने अपेक्षा लगानीकर्ताले गरिरहेको बताइएको छ।