कम्पनीहरूले गत वर्ष कमाएको नाफाबाट आफ्ना शेयरधनीलाई लाभांश स्वरूप नगद र बोनस शेयर दिँदै आएका छन्। गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका धेरै जसो कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गरिसकेका छन्।
नगद दिनेले लगानीकर्ताको खातामा पैसा जम्मा गर्ने गरेका छन् भने बोनस शेयर दिएकाको शेयर समेत लगानीकर्ताको हितग्राही (डिम्याट)खातामा पठाइ सकेका छन्। तर दोस्रो बजारमा यस्ता पनि लगानीकर्ता छन्। जसले अहिलेसम्म कम्पनीलाई डिम्याट खाता र बैंक खाता दुवै उपलब्ध गराएका छैनन्। त्यस्ता शेयरधनीको लाभांश भने कम्पनीले लगानीकर्ता संरक्षण कोषमा पठाउने गरेको छ।
कम्पनीसँग यदि कुनै शेयरधनीको बैंक र डिम्याट खाता नम्बर छैन भने उक्त शेयरधनीको नगद लाभांश बापत पाउने पैसा कम्पनीले लगानीकर्ता संरक्षण कोषमा पठाउने गरेको छ। बोनस शेयर भए कम्पनीमा नै राख्ने गर्दै आइरहेका छन्। कुनै शेयरधनीले लगातार पाँच वर्षसम्म पनि नगद लाभांश बुझ्न नआए मात्रै कम्पनीले उक्त लाभांश रकम कोषमा पठाउनु पर्ने नियम छ। सोही नियम अनुसार शुक्रवारसम्म कोषमा ६३ करोड ९७ लाख ८५ हजार रुपैयाँ जम्मा भएको कम्पनी रजिस्टार कार्यालयकी लेखा अधिकृत शारदा पाण्डेले बताइन्।
पाण्डेका अनुसार गत आर्थिक वर्षको अन्तिमसम्म उक्त रकम ५५ करोड ३७ लाख ८० हजार रुपैयाँ मात्रै थियो। चालु आर्थिक वर्ष उक्त रकम थप बढेको छ। चालु आर्थिक वर्ष लागे यता मात्रै शुक्रवारसम्म आठ करोड ७६ लाख ७७ हजार रुपैयाँ जम्मा भएको छ। अहिलेसम्म कोषमा कुल ६३ करोड ९७ लाख ८५ हजार सुरक्षित छ। कोषमा पैसा मात्रै जम्मा भएको छैन। कोषबाट आफ्नो पैसा फिर्ता लैजाने पनि छन्। कोषका अनुसार १६ लाख ७२ हजार रुपैयाँ लगानीकर्ताले फिर्ता लगेका छन्। कुनै पनि कम्पनीले लगानीकर्ताको नगद लाभांश कोषमा जम्मा गर्ने गरेका भए पनि शेयरधनीले माग्न आएको दिन भने कोषले सहजै पैसा फिर्ता दिने गरेको छ। फिर्ता नलगेर बाँकी रहेको रकम कोषले विभिन्न बैंकहरुमा मुद्दती निक्षेपमा राखेको छ।
कोषमा पैसा जम्मा गर्ने कुल कम्पनीको सङ्ख्या ५१ पुगेको छ। अझै धेरै सूचीकृत कम्पनीहरूले रकम जम्मा गरेका छैनन्। केही कम्पनीले लाभांश नै नदिएका कारण जम्मा नगराएका हुन् भने केहीमा अझैसम्म पैसा जम्मा गरिदिनु पर्छ भन्ने जानकारी पाएका छैनन्। केहीले भने अटेर गरिरहेको कोषको अनुमान छ।
सबैभन्दा धेरै पैसा जम्मा गर्नेमा बैंक वित्तीय संस्था छन्। जसमा सबैभन्दा बढी पैसा जम्मा गर्ने बैंक कृषि विकास बैंक हो। उसले मात्रै आठ करोड २८ लाख ४६ हजार रुपैयाँ कोषमा जम्मा गरेको छ। कृषि विकास बैंकले किसानहरूलाई बढी शेयरधनी बनाएको कारण धेरैजसो किसान शेयरधनीले लाभांश नलगेको हुन सक्ने अनुमान कोषले गरेको छ। दूर दराजमा हुनु, सूचना नपुग्नुलगायतका समस्याका कारण उनीहरूले लाभांश लिएका छैनन्।
दोस्रोमा सवैभन्दा बढी पैसा जम्मा गर्ने बैंक स्टाण्डर्ड चार्ड बैंक हो। उसले सात करोड ८५ लाख ३९ हजार रुपैयाँ जम्मा गरेको छ। त्यसैगरि एसबिआइ बैंकले सात करोड २० लाख २८ हजार रुपैयाँ जम्मा गरेको पाण्डेले बताइन्। चिलिमे जलविद्युतले पाँच करोड ३२ लाख २३ हजार, एनआइसी एसिया बैंकले चार करोड ३२ लाख २३ हजार, सिटिजन्स बैंकले तीन करोड ८८ लाख ३७ हजार, प्रभु बैंकले दुई करोड १८ लाख १९ हजार, युनिलिभरले दुई करोड २६ लाख ९७ हजार रुपैयाँ जम्मा गरेका छन्।