नाफासँगै बढ्यो छिमेक लघुवित्तको प्रतिशेयर आम्दानी

Feb 09, 2025 12:09 PM Merolagani



छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (CBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ५१ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.३३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी सामान्य घटेपनि इन्मेरमेन्ट चार्ज घटेका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १.८८ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३८.१७ प्रतिशत बढेको छ। त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी १.५० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १७.५७ प्रतिशत बढेको छ। लघुवित्तको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा २४ करोड ८ लाख रुपैयाँबाट घटेर १२ करोड ७९ लाख रुपैयाँमा झरेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा दुबै बढ्न पुगेको हो।

दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ९९ रुपैयाँ ४४ पैसा पुगेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २ रुपैयाँ ५४ पैसा बढेर ३१ रुपैयाँ ८४ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २३७ रुपयाँ ४९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २६.६७ गुणा रहेको छ।

३ अर्ब २१ करोड ५३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४ अर्ब ४२ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा लघुवित्तले ४० अर्ब १६ करोड ६८ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ३७ अर्ब ८२ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।




प्रभु इन्स्योरेन्सको बोनस घोषणा

Jun 23, 2025 10:23 AM

प्रभु इन्स्योरेन्स (PRIN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।