ब्याज आम्दानी घटेपनि फर्स्ट माइक्रोफाइनान्सको नाफा बढ्यो

Jan 25, 2026 02:09 PM Merolagani



फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ७ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.६४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२.५४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ७ लाख ४० हजार रुपैयाँ ऋणात्मक रहेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १३.७८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३४.६४ प्रतिशत बढेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ४ करोड ७५ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७ पैसा रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २ रुपैयाँ ६९ पैसा बढेर १० रुपैयाँ ४७ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ३१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७६.५१ गुणा रहेको छ।

१ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३८ करोड ७ लाख रुपैयाँ सञ्चित छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ४ अर्ब ७ करोड ५० लाख रुपैयाँ सापटीबाट ४ अर्ब ६७ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।




सस्तो शेयरमा किन झुम्मिए साना लगानीकर्ता ? कारण ५० अर्बको खेल, के हो ५० अर्बको खेल ?

Jan 22, 2026 05:39 PM

सुवास निरौला 

पछिल्लो समय दोस्रो बजारमा एउटा रोचक दृश्य देखिन थालेको छ। लगानीकर्ताहरूको ध्यान ठूला र महँगा कम्पनीभन्दा साना र सस्ता मूल्य भएका कम्पनीहरूतर्फ ह्वात्तै मोडिएको छ।