राष्ट्रिय वाणिज्य बैकसँग सम्बन्धित आरबीबी मर्चेन्ट बैकिङले निष्काशन गरेको आरबीबी म्युचुएल फन्ड २ को न्याभ १० रुपैयाँ ९४ पैसा भए पनि मंगलबार ८ रुपैयाँ ८१ पैसामा अन्तिम कारोबार भयो जुन म्युचुएल फन्डले प्रकाशित गरेको न्याभ भन्दा १९ दशमलब ४७ प्रतिशतले सस्तो हो ।
त्यस्तै मेगा म्युचुएल फन्ड १ को न्याभ १० रुपैयाँ ४४ पैसा हुँदा मंगलबार ८ रुपैयाँ ५२ पैसामा अन्तिम कारोबार भयो । यो न्याभभन्दा १८.३९ प्रतिशतले सस्तो हो । नबिल ब्यालेन्स फन्ड–२ को न्याभ ११ रुपैयाँ १८ पैसा हुँदा दोस्रो बजारमा ९ रुपैयाँ २२ प्रसामा कारोबार भइरहेको छ । सनराइज ब्लु चिप फन्डको न्याभ १० रुपैयाँ ९७ पैसा रहँदा बजारमा ९ रुपैयाँ ५ पैसा र एनआइबीएल ग्रोथको न्याभ १० रुपैयाँ ४४ पैसा रहँदा बजारमा ८ रुपैयाा ६२ पैसामा कारोबार भइरहेको छ ।
मंगलबार ७ अर्ब २४ करोड रुपैयाँको शेयर कारोबार हुँदा मुश्किलले २ करोड रुपैयाँको म्युचुएल फन्डका १९ लाख ७३ हजार ८ सय ५७ इकाई खरिद बिक्री भए ।
म्युचुएल फन्डको आइपीओ निष्काशन हुँदा प्रति इकाई १० रुपैयाँमा निष्काशन हुने भए पनि अहिले नेप्सेमा सूचीकृत ३६ वटा म्युचुएल फन्डका इकाईहरुमध्ये ६ वटा म्युचुएल फन्ड मात्रै १० रुपैयाँभन्दा माथि कारोबार भइरहेको छ । बाँकी सबै म्युचुएल फन्ड १० रुपैयाँभन्दा मुनि नै कारोबार भइरहेको छ ।
म्युचुएल फन्डले खरिद गरेर होल्ड गरेको शेयरहरुको मूल्यका आधारमा म्युचुएल फन्डको नेट एसेट भ्यालु (न्याभ) हरेक दिन तलमाथि हुन्छ । म्युचुएल फन्हरुले गत पुस महिनामा प्रकाशित गरेको मासिक न्याभ भन्दा पनि तल्लो दरमा अहिले म्युचुएल फन्डका इकाईहरुको कारोबार भइरहेको छ । पुस महिनामा म्युचुएल फन्डले प्रकाशित गरेको न्याभ भन्दा माथिल्लो मूल्यमा एउटा मात्रै म्युचुएल फन्डको कारोबार भएको छ । मंगलबार एनएमबी५० म्युचुएल फन्ड ८.०४ प्रतिशतले बढेका कारण मात्रै न्याभ भन्दा बढी मूल्य देखिएको हो ।
पुस महिनाको रिपोर्ट अनुसार तीन वटा म्युचुएल फन्डको न्याभ मात्रै अंकित मूल्य १० रुपैयाँभन्दा मुनि छ । बाँकी ३३ वटा म्युचुएल फन्डको न्याभ भने १० रुपैयाँ भन्दा माथि नै छ ।
बजारमा इन्भेस्टर भन्दा ट्रेडर बढी हावी हुनु र बजारमा आधारभुत विश्लेषणको आधारमा शेयर लगानी गर्ने लगानीकर्ताको कमी रहँदा म्युचुएल फन्डमा लगानीकर्ताको आकर्षण कम देखिएको एक अनुभवी लगानीकर्ताले बताए । ‘न्याभ भन्दा पनि कम मूल्यमा म्युचुएल फन्डको शेयर कारोबार हुनु भनेको एकदमै डिस्काउन्टेड रेट हो । अहिले मूल्य भनेको आइपीओ भर्नेले भन्दा पनि सस्तोमा इकाईहरु उपलब्ध भएको अवस्था हो ।’–उनले भने ।
अहिले नेप्सेमा सुचीकृत म्युचुएल फन्डमध्ये सबैभन्दा महंगो मूल्यमा एनएमबी ५० म्युचुएल फन्डका एकाईहरु मंगलबार ११ रुपैयाँ २९ पैसामा कारोबार भयो भने सबैभन्दा सस्तो मूल्यमा एनआईबीएल समृद्धि फन्ड–२ ८ रुपैयाँ ३५ पैसामा अन्तिम कारोबार भयो । एनएमबी ५० न्याभ भन्दा ११ पैसा बढी मूल्यमा कारोबार हुँदा एनआईबीएल समृद्धि फन्ड–२ न्याभन्दा १ रुपैयाा ५७ पैसा कम मूल्यमा कारोबार भइरहेको छ । अहिलेकै मूल्यमा सबैभन्दा सस्तो म्युचुएल फन्ड खरिद गर्दा पनि लगानीकर्ताले १५ दशमलब ८३ प्रतिशत सस्तोमा म्युचुएल फन्डका इकाईहरु पाएका छन् ।