कम्पनी ऐन अनुसार आर्थिक वर्ष सकिएको ६ महिनामा साधारण सभा गरिसक्नु पर्ने भएपनि बीमा कम्पनीको एक्च्युरी भ्यालुएसनलगायतका कामहरु समयमा नसकिने हुँदा प्रायः बीमा कम्पनीहरुले ढिला नै साधारण सभा गर्ने गर्दछन् । कम्पनी ऐनको समय सीमा भित्र यस वर्ष एउटा मात्रै बीमा कम्पनी सुर्यज्योति लाइफ इन्स्योरेन्सले साधारण सभा सम्पन्न गरेको छ ।
नेप्सेमा सूचीकृत बीमा कम्पनीहरुमध्ये अहिलेसम्म ४ जीवन बीमा र ५ निर्जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । बीमा कम्पनीहरुमध्ये अहिलेसम्म सबैभन्दा बढी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ३० प्रतिशत नगद लाभांश घोषणा गरेकाे छ । सिद्धार्थ प्रिमियम बाहेक अन्य निर्जीवन बीमा कम्पनीको लाभांश दर १० प्रतिशतभन्दा मुनि नै रहेको छ । गत वर्षको नाफाबाट जीवन बीमा कम्पनीहरुले २० प्रतिशतको हाराहारीमा लाभांश बाँडेका छन् । अपवादको रुपमा हिमालयन लाइफ इन्स्योरेन्सको मात्रै १४ प्रतिशत लाभांश रहेको छ ।
९ जीवन बीमा कम्पनीमध्ये ३ कम्पनीले मात्रै बोनस शेयर दिएका छन् भने बाँकी कम्पनीहरुले नगद लाभांशलाई नै विशेष जोड दिएका छन् । चुक्ता पुँजी ५ अर्ब भन्दा बढी रहेको नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले बोनस शेयरलाई प्राथमिकता दिएका छन् । जोखिममा आधारित पुँजी पुर्याउनुपर्ने भएकाले कम्पनीहरुले जोखिमको आधारमा पुँजीवृद्धि गरेको बताइएको छ । सानिमा जीआईसी इन्स्योरेन्सले भने प्राधिकरणले तोकेको चुक्ता पुँजी नपुगेका कारण साढे ७ प्रतिशत बोनस शेयर र सो शेयरमा लाग्ने करबापत् शून्य दशमलब ३९४७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
जीवन बीमा कम्पनीहरुमा अहिलेसम्म हिमालयन लाइफ, नेपाल लाइफ, सूर्य ज्योति लाइफ र आईएमई लाइफले लाभांश घोषणा गरेका छन् । जीवन बीमा तर्फ आईएमई लाइफ र नेपाल लाइफले २१.०५ प्रतिशत नै लाभांश घोषणा गरेका छन् तर नेपाल लाइफले १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद लाभांश गरी टुक्राएर लाभांश घोषणा गरेका छन् भने आईएमई लाइफले भने एकमुष्ट २१.०५ प्रतिशत नगद लाभांश घोषणा गरेकाे छ । मर्जरपछि कुनै लाभांश नबाँडेको हिमालयन लाइफले यसपटक १४ प्रतिशत बोनस शेयर घोषणा गरेकाे छ । प्राइम, गुराँस र युनिक लाइफ गरी ३ जीवन कम्पनी मर्ज भएर हिमालयन लाइफ कम्पनी बनेको थियो । सबैभन्दा चाँडो साधारण सभा गरेको सूर्यज्योति लाइफले पनि यसपटक २० प्रतिशत नगद लाभांश मात्रै बाँडेको छ । हिमालयन लाइफले फागुन ११ गते साधारण सभा गर्दैछ भने आईएमई लाइफले अहिलेसम्म साधारण सभाको सूचना निकालेको छैन ।
यता निर्जीवन बीमा कम्पनीतर्फ अहिलेसम्म कुनै पनि कम्पनीले साधारण सभा सम्पन्न गरेका छैनन । १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करको लागि शून्य दशमलब ५२६३ प्रतिशत नगद लाभांश गरी १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको शिखरले फागुन १३ गते साधारण सभा गर्दैछ । त्यसैगरी ३० प्रतिशत नगद लाभांश घोषणा गरेको सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले फागुन १५ गते र ९.७३ प्रतिशत नगद लाभांश घोषणा गरेको आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले फागुन २५ गते साधारण सभा गर्दैछ । सानिमा जीआई इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सले भने अहिलेसम्म साधारण सभाको सूचना प्रकाशित गरेका छैनन् । सानिमा जीआईसीले साढे ७ प्रतिशत बोनस शेयर र शून्य दशमलब ३९४७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।