लगानी समूहमा पछिल्लो समय सीइडीबी होल्डिङस् लिमिटेडको शेयर मूल्य लगातार बढिरहेको छ । गत वर्षको दोस्रो त्रैमासिकको तुलनामा खुद मुनाफामा छलाङ मारेको वित्तीय विवरण प्रकाशित गरेको सीइडीबी होल्डिङको शेयर गत बिहीबार २१ सय ७५ रुपैयाँमा अन्तिम कारोबार भयो । एक महिना अगाडिसम्म १६ सय रुपैयाँको हाराहारी कारोबार भइरहेको कम्पनीको शेयर मूल्य केही दिनदेखि भने लगातार बढिरहेको छ । गत वर्षको नाफाबाट ११ प्रतिशत बोनस शेयर दिएर चुक्ता पुँजी ९३ करोड १७ लाखबाट १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ पुर्याएको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २० करोड ९५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । कम्पनीले गत वर्षको दोस्रो त्रैमासमा ५ करोड ३६ लाख रुपैयाँ मात्रै कमाएको थियो । खुद मुनाफा गत वर्षको सोही अवधिको तुलनामा २९०.५८ प्रतिशतले वृद्धि गरेको तथ्यांक कम्पनीले प्रस्तुत गरेको छ । खुद नाफाको वृद्धिसँगै कम्पनीको रिजर्भ समेत ९ प्रतिशतले वृद्धि गरगेर ६० करोड रुपैयाँ पुर्याएको छ ।
त्यसैगरी १३.९७ प्रतिशतले खुद नाफा बढाएको नागरिक लगानी कोषको शेयर १९ सय ५७ रुपैयाँमा कारोबार भइरहेको छ । कम्पनीले गत वर्षको नाफाबाट २१.९८ प्रतिशत बोनस शेयर दिएर चुक्ता पुँजी ६ अर्ब ४८ करोड पुर्याएको थियो । कम्पनीको रिजर्भ भने १९ प्रतिशतले घटेर २ अर्ब ७९ करोड ८८ लाख रुपैयाँमा खुम्चिएको छ ।
लगानी समूहमा सबैभन्दा न्यून चुक्ता पुँजी रहेको इमर्जिङ नेपालले पनि गत वर्षको दोस्रो त्रैमासको तुलनामा झन्डै शतप्रतिशत नाफा वृद्धि गरेकाे छ। गत वर्ष ४० करोड रुपैयाँ कमाएको कम्पनीले चालु आवको दोस्रो त्रैमासमा ९४ करोड रुपैयाँ खुद मुनाफा गरेकाे छ । कम्पनीको शेयर गत बिहीबार ११ सय ८९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भयो ।
लगानी समूहकै हाथवे इन्भेष्टमेन्ट नेपालको मुनाफा भने गत वर्षको दोस्रो त्रैमासमा ५९ करोड रुपैयाँले ऋणात्मक रहेकोमा चालु आवको दोस्रो त्रैमासमा १ अर्ब ५९ करोड रुपैयाँले सकारात्मक बनेको छ । सोही अनुसार कम्पनीको शेयर मूल्य समेत गत बिहिबार १४ सय ४१ रुपैयाँमा अन्तिम कारोबार भयो । हाथवेले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर दिएर चुक्ता पुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ पुर्याएको थियो ।
गैरआवासीय नेपालीहरुको लगानी रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले समेत गत आवको दोस्रो त्रैमासमा १ करोड ६४ करोड खुद मुनाफा गरेको चालु आवमा यसलाई बढाएर ५ अर्ब ३७ करोड पुर्याएको छ । एनआरएनले ५ प्रतिशत बोनस शेयर दिएर चुक्ता पुँजी १ अर्ब २८ करोड पुरयाएको छ भने शेयर बजारमा १४ सय १५ रुपैयाँमा बिहीबार अन्तिम कारोबार भयो ।
लगानी समूहमा दुई कम्पनीहरु निफ्रा र एचआइडीसीएलको खुद मुनाफा भने दोस्रो त्रैमासमा घटेको रिपोर्ट सार्वजनिक भएको छ । गत वर्षको दोस्रो त्रैमासमा ७५ करोड २७ लाख रुपैयाँ कमाएको एचआइडीसीएलको मुनाफा ७५ करोड २७ लाख रुपैयाँबाट ३० प्रतिशतले घटेर ५२ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ भने ६९ करोड रुपैयाँ खुद मुनाफा गरेको निफ्राले चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा ६.९६ प्रतिशतले नाफामा गिरावट आएर ६४ करोड २० लाख रुपैयाँ पुगेको छ । दुवै हाइ क्याप कम्पनीको प्रायः लगानीयोग्य रकम वाणिज्य बैंकको मुद्दती निक्षेपमा लगानी हुने गरेको छ । हाइड्रोपावर र अन्य पूर्वाधारमा लगानी गर्ने गरी स्थापित यी कम्पनीको लगानीयोग्य रकम मुद्दतीमा लगानी हुँदै आएकोमा पछिल्लो समय बैंकहरुले मुद्दतीको व्याज दर एकदमै न्यून पुर्याएका छन् । मुद्दतीको व्याज घट्दा लगानी समूहका यी दुई कम्पनीको नाफामा ठूलो असर परेको हो । लगानी समूहमा यी दुई कम्पनीको शेयर मात्रै ३ सय रुपैयाँभन्दा मुनिको मूल्यमा कारोबार भइरहेको छ ।
वित्तीय अनुपातका आधारमा कुन कम्पनी बलियो ?
लगानी समूहका कम्पनीको प्रति शेयर आम्दानीको आधारमा अहिले सीइडीबी होल्डिङ्स बलियो देखिएको छ । कम्पनीको चालु आवको दोस्रो त्रैमाससम्मको प्रति शेयर आम्दानी ४० रुपैयाँ ५० पैसा रहेको छ । ११ प्रतिशतले बोनस शेयर जारी गरेर चुक्ता पुँजी बढाए पनि कम्पनीले आफ्नो नेटवर्थ घट्न दिएको छैन ।
लगानी समूह अन्तर्गत दोस्रो उच्च मूल्यमा कारोबार भइरहेको नागरिक लगानी कोष (सीआईटी)को प्रति शेयर आम्दानी भने झिनो रुपमा घटेको छ भने नेटवर्थ पनि केही घटेर १ सय ४७ रुपैयाँ १८ पैसा पुगेको छ ।
प्रति शेयर आम्दानी १ रुपैयाँ ७६ पैसाबाट ३ रुपैयाँ ३६ पैसा पुर्याएको इमर्जिङ नेपालले नेटवर्थ केही बढेर १ सय ९ रुपैयाँ ४८ पैसा पुगेको छ । कम्पनीको शेयर ११ सय ८९ रुपैयाँ २० पैसामा कारोबार भइरहेको छ ।
९२ पैसा इपीएस रहेको हाथवेले चालु आवको दोस्रो त्रैमासमा २ रुपैयाँ १० पैसा इपीएस पुर्याउँदा नेटवर्थ भने केही खस्केर १ सय ४६ रुपैयाँ ३१ पैसा पुगेको छ ।
२ रुपैयाँ ६० प्रति प्रति शेयर आम्दानीलाई ८ रुपैयाँ ३६ पैसा पुर्याएको एनआरएनले आफ्नो नेटवर्थ समेत १५ प्रतिशतले बढाएर १ सय ७२ रुपैयाँ १० पैसा पुर्याएको छ ।
खुद नाफामा गिरावट आएको एचआइडीसीएलले आफ्नो नेटवर्थ भने ५.४० प्रतिशतले बढाएर १ सय १४ रुपैयाँ १५ पैसा पुर्याएको छ । प्रति शेयर आम्दानीमा गिरावट आए पनि निफ्राको नेटवर्थ समेत २.६९ प्रतिशतले बढेर १ सय १६ रुपैयाँ ५४ पैसा पुगेको छ ।