पालैपालो लगानी, बैंकिङ र अन्य समूहको ‘हाइ क्याप’ कम्पनीको शेयर मूल्य बढ्दै, ‘हाइ क्याप’ तिर लागेका हुन त लगानीकर्ता ?

Feb 19, 2025 11:17 AM Merolagani



विगत केही दिनदेखि शेयर बजारमा हाइ क्याप कम्पनीहरुमा राम्रो मुभ देखिन थालेको छ । मंगलबार अन्य समूह अन्तर्गतको पुनर्बीमा कम्पनीहरु उच्च कारोबार रकम सहित ठूलो कित्ताको शेयर कारोबार भयो। 

मंगलबार हिमालयन रि इन्स्योरेन्सको झन्डै ९ लाख र नेपाल पुनर्बीमा कम्पनीको झन्डै ५ लाख कित्ता शेयर कारोबार हुँदा शेयर मूल्य समेत ६.८५ र ४.३५ प्रतिशतले बढेर नयाँ मूल्य कायम भयाे ।

सोमबार पनि बैकिङ समूहका कम्पनीहरु राम्रै बढे । जसको असर नेप्से परिसूचकमा समेत पर्यो । बैंकिङ समूहमा रहेका १९ वटा कम्पनीहरुमा सबैभन्दा न्यून चुक्ता पूँजी भएको कम्पनी नै स्ट्यान्डर्ड चार्टर्ड बैंक १० अर्ब चुक्ता पूँजीको छ भने सबैभन्दा धेरै चुक्ता पूँजी भएको ग्लोबल आइएमई बैंक ३८ अर्ब ११ करोड रुपैयाँ छ । चुक्ता पूँजी धेरै भएका कम्पनीहरुको बाहुल्यता रहेको बैंकिङ समूह बढ्दा भने समग्र बजार मापक नेप्से परिसूचकमा पनि सकारात्मक प्रभाव पर्ने गरेको छ ।

बैंकिङ सेक्टर बढेपछि मात्रै समग्र बजार बढ्ने विश्वास लगानीकर्तामा छ । लगानीकर्तामा बैंकिङ सेक्टरले नै बजारलाई माथि लैजान सक्छ भन्ने विश्वास हुनुको प्रमुख कारण नै ‘हाइक्याप’ कम्पनी र सेक्टरको बलियो शक्ति हो ।

हाई क्याप कम्पनीमा सीमित व्यक्ति वा समूहले मूल्यलाई प्रभाव पार्न सक्दैन । बजारमा आम लगानीकर्ता ओइरिए मात्रै हाइ क्याप भएका कम्पनीहरुको मूल्य बढ्ने गर्दछ । हाइ क्याप कम्पनीको मूल्य बढ्नु भनेको खुद्रे लगानीकर्ताको बजारमा प्रवेश भएको संकेतको रुपमा बुझ्नुपर्छ ।

सोमबार धेरैपछि बैंकिङ सेक्टर २ प्रतिशतभन्दा बढीले बढ्यो । बैंकिङ बढेपछि त्यसले समग्र नेप्से परिसूचक नै झन्डै ३० अंकले बढ्यो । सामान्यतया बैकिङ सेक्टरमा ठूलो अंकले बढ्दा भोलिपल्टको बजारमा ठूलो करेक्सन आएर बजार घट्ने गर्दथ्यो तर सोमबार बैकिङ समूह सूचक नै २ प्रतिशतले बढे पनि मंगलबार त्यसको प्रभाव देखिएन । मंगलबार पनि बैंकिङ समूह सामान्य हरियो भएर नै बन्द भएको छ यसले बजार अब सम्हालिएर माथिल्लो रेसिस्टेन्स तोड्न अगाडि बढेको संकेतको रुपमा बुझ्नुपर्ने एक विश्लेषकले बताए ।

बजारमा लामो समय फाइनान्स, विकास बैंक र जलविद्युत समूहका ‘लो क्याप’ कम्पनीको शेयर मात्रै ठूलो कित्तामा कारोबार हुने गर्दथ्यो । अहिले हरेक समुहका 'लो क्याप' कम्पनीको शेयर मूल्य उच्च बनिसकेको अवस्था छ। कम्पनीको वित्तीय अवस्थाले नथेग्ने अवस्था रहे पनि सीमित व्यक्तिहरुको मिलोमतोमा त्यस्ता कम्पनीहरु अहिले पनि उच्च मूल्यमै कारोबार भइरहेको छ । कुनै समूहले बोकेर ‘नेपाल फाइनान्स कम्पनी’ को शेयरलाई २५ सय भन्दा माथि पुर्याए भने अर्का समूहले कर्पोरेट डेभलपमेन्ट बैंक जस्तो वित्तीय सूचकांक कमजोर भएका कम्पनीको शेयरलाई २ हजारको हाराहारीमा कारोबार गराइरहेका छन् । अहिले बजारमा अधिकांश उच्च मूल्यमा कारोबार भइरहेका कम्पनीको एउटै विशेषता भनेकै न्यून चुक्ता पूँजी मात्रै रहेको छ । ‘पछिल्लो केही महिनादेखि शेयर बजारलाई कम्पनीको वित्तीय अवस्था भन्दा पनि कम्पनीको शेयर सप्लाईले प्रभावित पार्दै आएको थियो । न्यून शेयर सप्लाई भएका कम्पनीको शेयर मूल्य उच्च हुन्छ भन्ने भाष्य प्रयोग हुँदै आएको थियो,’ ती विश्लेषकले भने । पछिल्लो केही कारोबार दिनदेखि भने ‘लो क्याप’ कम्पनी भन्दा पनि ‘मिड क्याप’ र हाइ क्यापका कम्पनीहरुमा आकर्षण बढ्न थालेको आफूले अनुभव गरेको उनले बताए ।

आइतबारको कारोबारमा पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को शेयर ३ प्रतिशत र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) को शेयर ३ प्रतिशतले बढेर कारोबार भयो । निफ्राको साढे ५ लाख कित्ता र एचआइडीसीएलको पनि ५ लाखभन्दा बढी नै कित्ता शेयर कारोबार भयो । साधारणतया हाइ क्याप भएका यी कम्पनीहरुको शेयर कारोबार ठूलो भोल्युममा हुँदा यसले नेप्से परिसूचकलाई माथि धकेल्न ठूलो भूमिका खेल्ने गरेको छ । नेप्से परिसूचक १८ सयदेखि २२ सयसम्म धेरै महिना रह्याे । २२ सय भन्दा माथि नेप्सेलाई टिकाउन बैकिङ समूहका साथै निफ्रा, एचआइडीसीएलजस्ता अन्य समूहका कम्पनीहरु र जलविद्युत समूहको अपि पावर, बुटवल पावर, अप्पर तामाकोशी जस्ता कम्पनीहरुको शेयर मूल्य बढाईले धेरै हदसम्म सहयोग गरेको बजारका जानकारहरु बताउँछन् ।

‘लो–क्याप कम्पनीको शेयर मूल्य ‘हाइ’ भएपछि बेचेर नाफा बुक गर्ने र त्यही पैसा हाई क्याप कम्पनीतिर सिफ्ट हुने गरेको छ । हाइ क्याप कम्पनीको शेयर मूल्य अहिले एकदमै ‘लो’ विन्दुमा छ । अहिले लगानीकर्ता ‘लो क्याप विथ नो फन्डामेन्टल’ बाट ‘हाइ क्याप विथ फन्डामेन्टल’ मा सरेको आभाष भएको छ । हाइ क्याप कम्पनी सस्तो पनि रहेकाले त्यसले बजारलाई माथि लैजान प्रमुख भुमिका खेल्ने विश्वास छ,’ लगानीकर्ता सुन्दर रायमाझीले भने । पछिल्लो समय बजार हरियो हुँदा कारोबार रकम समेत बढ्ने गरेको छ । सोमबार, मंगलबार दुवै दिन कारोबार रकम १० अर्बभन्दा माथि नै रहेको छ ।

राष्ट्र बैंकको तथ्यांक हेर्दा विशेष गरेर शेयर बजारमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा राम्रो वृद्धि देखिएको छ । यो कर्जा भनेको विशेष गरेर शेयर बजारमा नै आउने कर्जा हो । अहिले समग्र बैकिङ क्षेत्रको १ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ बराबरको मार्जिन कर्जा छ जुन शेयर खरिद बिक्रीको लागि नै प्रयोग हुने गर्दछ । राष्ट्र बैंकले व्यक्तिगत रुपमा ऋण लिएर शेयर खरिद गर्नेलाई १५ करोड रुपैयाँको सीमा लगाए पनि संस्थागत रुपमा ऋण लिएर शेयर खरिद गर्नेलाई यो सीमा हटाइदिएको छ । राष्ट्र बैंकको संशोधनले समेत मार्जिन कर्जा वृद्धि भएको अनुमान लगाउन सकिन्छ ।

शेयर बजार अत्यन्तै जोखिमपूर्ण बजार हो । यसमा सुझबुझपूर्ण लगानी गर्नेले पैसा बनाउँछ । बजारमा अहिले वित्तीय रुपमा अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेका कम्पनीको शेयर मूल्य उच्च छ । अब उच्च मूल्यमा रहेका कम्पनीबाट वित्तीय रुपमा सुरक्षित कम्पनीतर्फ लाग्नु बु्द्धिमानी हुन्छ । ‘बजारमा लगानी गरे पछि प्रतिफल पनि एउटा विषय हो । अब लो क्याप कम्पनीबाट नाफा बुक गरेर प्रतिफल दिने खालका हाइ क्याप कम्पनीतिर सिफ्ट भएको छ,’ लगानीकर्ता रायमाझीले बताए । बजारमा अहिले हाइ क्याप कम्पनीहरु बढ्दा विकास बैंक, फाइनान्स र हाइड्रोपावर समूहका लो क्याप कम्पनीको शेयर मूल्य भने अहिले घट्न थालेको छ ।

राष्ट्र बैंक मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाको तयारीमा छ । ५० लाखमाथिको शेयर कर्जाको जोखिमभार १२५ प्रतिशत छ । यसलाई १०० प्रतिशतमा झार्नुपर्ने माग लगानीकर्ताको छ । त्यस्तै लगानीकर्ताले बैंकबाट पाउने अधिकतम ऋण सीमा १५ करोड हटाउनुपर्ने अर्को माग गरेका छन् । त्यस्तै तरलता फालाफाल भएको अवस्थामा बैंकलाई सीमित मात्रामा शेयर कारोबारको विन्डो खुला गर्नुपर्ने समेत लगानीकर्ताको माग छ ।




comments powered by Disqus

धमाधम लाभांश घोषणा गर्दै बीमा कम्पनी, ४ जीवन र ५ निर्जीवनले घोषणा गरे लाभांश

Feb 15, 2025 11:03 AM

नेप्सेमा सूचीकृत बीमा कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । नेप्सेमा सूचीकृत १२ जीवन बीमा र १२ निर्जीवन बीमा गरी सूचीकृत २४ बीमा कम्पनीमध्ये ९ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् ।