नेपालमा मात्र होइन, विश्वको कुनै पनि देशमा देशको केन्द्रिय वैंकको गभर्नरको नियुक्ति प्रधानमन्त्री वा राष्ट्रपति नियुक्ति जत्तिकै महत्वपूर्ण मानिन्छ । भलै पदिय मर्यादामा गभर्नर उनीहरुभन्दा निकै पछि नै किन नहुन । समग्र माैद्रिक प्रणालीको ‘मियो’ भएकोले अन्य राजनीतिक नियुक्तिहरुको तुलनामा गभर्नर पदको ओज, गरिमा र ‘ग्ल्यामर’ अत्यधिक रहेको हुन्छ ।
त्यसैले सिफारिस समिति गठन गरेर सरकारले गभर्नर नियुक्ति प्रकृया शुरु गर्नु अगाडिदेखि नै को होला भन्ने चासो सर्वत्र हुने गर्छ । अहिले पनि त्यही भैरहेको छ, जुन स्वभाविक हो । अहिले गभर्नर यस्तो हुनुपर्छ भन्दै विभिन्न कोणबाट,विभिन्न अनुहारहरुलाई ‘प्रोजेक्सन’ गर्ने कार्य भैरहेको छ । त्यसमा कति सत्यता छ ? त्यो सबै ‘हल्लाको खेल’ र हरेक सरोकारवालाका व्यक्तिगत धारणामै निर्भर हुने कुरा हो ।
अहिले एउटा स्वभाविक प्रश्न सिफारिस समितिमा पूर्व गभर्नर भट्टराईलाई कुन आधारमा राखियो र उनले कसरी नैतिक धरातल जोगाउलान् भन्ने छ । किनकी नेपालको इतिहासमा भट्टराई मात्र त्यस्ता गभर्नर हुन्, जो कहिल्यै कसैसँग नजिक भएन । न सत्तासँग, न कुनै अमुक राजनीतिक पार्टीसँग र न त कुनै व्यवसायिक घरानासँग नै उनको देखिने, नदेखिने सम्वन्ध नै रह्यो । नेपालको इतिहासमा कुल शेखर शर्मा जस्ता निष्कलंक गभर्नरहरु पनि थिए तर उनीमाथि तत्कालिन सरकारप्रति अलि बढी नै बफादार बन्ने गरेको आरोप लाग्ने गर्छ ।
तर, भट्टराई त्यस्ता अपवादका पात्र हुन्, जो विधि, विधान र प्रकृयाभन्दा कहिल्यै बाहिर गएनन्, कसैसँग कुनै मोलाहिजा गरेनन्, अवकाश पछि कुनै राजनीतिक नियुक्तिको लागि कसैको दैलो चाहारेनन् । इमान्दार हुनुको सजाय उनले गभर्नर हुँदै पाए,जस्लाई अख्तियारका तत्कालिन दुई आयुक्त ललितबहादुर लिम्बु र बेदप्रकाश सिवाकोटीले आफूले भनेको नमानेको निहुँमा कुनै तथ्य प्रमाण विना नै भ्रष्टाचारको आरोपमा मुद्धा लगाए । उनीहरुका पूर्वाग्रहका कारण केही समय विशेष अदालतमा मुद्दा खेपे पनि भट्टराईले मुद्दा जिते र फेरि गभर्नरको कुर्सी सम्हालेका थिए ।
त्यस्ता निष्कलंकित र वास्तविक प्रशासक रहेका भट्टराई विष्णु पौडेल र विश्व पौडेलसहितको समितिमा रहनु आफैमा आश्चर्यको कुरा हो । किनकी अर्थमन्त्री पौडेल त एमाले उपाध्यक्ष भै नै हाले, अर्थमन्त्री पनि भएकोले उनले हर हालतमा एमालेकै कुनै ‘क्याडर’लाई गभर्नर नियुक्त गर्न जोडबल गर्ने कुरामा कुनै शंका छैन ।
त्यस्तै अध्ययनको हिसाबले अर्थशास्त्रका ‘पिएचडी होल्डर’ भए पनि विश्व पौडेल कांग्रेस कार्यकर्ता हुन्, जो गएको चुनावमा चितवनबाट प्रतिस्पर्धा गरेर पराजित भएका थिए । उनको वौद्धिकतालाई ‘कांग्रेसी ट्याग’ले ओझेलमा पारिदिएको छ । कांग्रेस भित्र उनी परराष्ट्रमन्त्री डा. आरजु राणाका ‘खास’ मानिन्छन् । उनले पनि कांग्रेस, त्यसमा पनि आरजु निकट कसैलाई गभर्नर बनाउन जोडबल गर्ने नै भए ।
त्यस्माथि गभर्नर नियुक्तिमा सरकार र सत्तारुढ पार्टीहरुको मात्र होइन, व्यवसायिक घराना र दृश्य—अदृश्य शक्ति केन्द्रहरुको खेल पनि निकै उग्र हुने गरेको बेला बेलामा देखिन्छ ।
यस्तो दुई भाइ पौडेलहरुको तानातानी र स्वार्थ समुहहरुको दाउपेचका बीचमा समितिमा रहेका भट्टराई कस्को पक्षमा कसरी उभिएलान् ? दुई पौडेलहरुले दुई कुनाबाट प्रस्ताव गर्ने ‘अमुक स्वार्थ केन्द्रित’ अनुहारलाई रोकेर वास्तविक रुपमा वैंक तथा वित्तीय संस्थालाई बुझेको वौद्धिक व्यक्तिलाई सिफारिस गर्न, गराउन कसरी सक्लान् ? अहिलेको लागि सबैभन्दा गम्भीर प्रश्न हो, जस्को उत्तर त्यति सजिलो छैन ।