मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM mero lagani



तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।

स्रोतका अनुसार उक्त पत्रको बारेमा पूर्व राजासहितका व्यक्तिहरुले संचारमाध्यमबाट थाहा पाएका छन् । ‘शनिबार विदाको दिन त्यो पत्र कसरी तयार भयो ? त्यसमै शंका छ । ल बिदाको दिनमा पनि महानगरपालिका जनप्रतिनिधिहरु, कर्मचारीहरु काम गरेका थिए भन्ने मान्ने हो भने पनि निर्मल निवासमा बुझाउनु अघि नै संचारमाध्यमबाट प्रचार प्रसार गराउनुले मेयर साहको नियत स्पष्ट हुन्छ’ स्रोतले भन्यो—मेयर साह निर्मल निवास वा अरु कसैबाट जरिवाना उठाउन होइन, स्टण्ट गर्न मात्र यो पत्र काटेका हुन् भन्ने स्पष्ट छ । होइन भने जस्को नाममा पत्र काटियो, उस्ले नपाउंदै सामाजिक संजाल र संचारमाध्यमबाट होहल्ला किन गरियो ?

सुक्रबारको कार्यक्रमको आयोजक नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन संयोजन समिति’ हो । त्यो समितिका पदाधिकारीहरु को को हुन्, त्यसबारेमा सबै स्पष्ट छ । पत्र पठाए पनि उनीहरुलाई पठाउनु पर्ने हो, त्यसप्रति ‘राजा’को सहानुभूती थियो भन्नुको अर्थ त्यसमा संलग्नता छ भन्ने होइन । कुनै कार्यक्रमप्रति सहानुभूति जनाएकै आधारमा दोषि मान्ने हो भने त जस्लाई पनि जे मा पनि दोषी माने भैहाल्छ । त्यसैले कसैले स्टण्टबाजी गर्न चिठी पठाउंदैमा जवाफ दिने भन्ने हुँदैन ।

अर्काेतर्फ पूर्व राजाले महानगरपालिकाले तोकेको जरिवाना तिर्नुको अर्थ सुक्रबार तिनकुनेमा भएका हरेक घटनाको जिम्मेवारी र अभियोग स्विकार गर्नु हो । त्यो अवस्थामा पूर्व राजा ज्ञानेन्द्र शाह कानुनी र नैतिक दृष्टिमै पनि थप संकटमा पर्नेछन् । त्यहीकारणले पनि पत्रको बारेमा केही नबोल्ने र बोल्नै परे महानगरपालिका र मेयर साहको कार्यशैलीमाथि प्रश्न उठाउने गरि बोल्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।

स्मरणरहोस्ः शनिबार दिउंसो महानगरपालिकाले एउटा शीर्षकमा १ लाख ३० हजार, ६ वटा शीर्षकमा १–१ लाख र एउटा शीर्षकमा ६३ हजार गरी ७ लाख ९३ हजार रूपैयाँको बिल महानगरपालिकाले निर्मल निवासमा पठाएको सार्वजनिक गरेको थियो । जबकी पत्र आइतबार मात्र पठाइदैंछ ।

सिनामंगल क्षेत्रमा सडकपेटीमा जथाभावी फोहोर गरेको, तीनकुनेमा रुखबिरुवा र रेलिङ तोडफोड गरेको, तीनकुने आइल्यान्डमा तोडफोड गरेको, तीनकुनेकै सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको, महानगरपालिकाको दमकलसहित अग्नि नियन्त्रकहरूलाई ढुंगामुढा गरी दमकल फुटाएको लगायतका आरोपमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई यो जरिवाना तोकेको बताएको छ ।

जरिवाना कसलाई तिराउने भनेर महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले टिममा छलफल गरेको बताइएको छ । दुर्गा प्रसाईको नेतृत्व र राप्रपाका नेताहरूको सहयोगमा प्रदर्शन भए पनि यसको मुख्य जिम्मेवार निर्मल निवास भएको भन्दै पत्र पनि ज्ञानेन्द्र शाहकै नाममा काटिएको हो ।

ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउन शुक्रबार उनका समर्थकहरूले दुर्गा प्रसाईको नेतृत्वमा गरेको प्रदर्शनको क्रममा अराजक बनेको भीडले निजी घर, सरकारी गाडी जलाउने, तोडफोड गर्नेजस्ता ध्वंसात्मक गतिविधि गरेका थिए । महानगरको टोलीले शनिबार बिहानैदेखि क्षति संकलन गरि जरिवाना तिराएको हो । महानगरको कार्यक्षेत्र भित्र नपर्ने भएकोले निजी घर तथा कार्यालयहरुमा भएको क्षति भने आंकलन नगरिएको महानगरको भनाइ छ ।

यसअघि केही महिना अगाडि नेकपा एमालेले दरबारमार्गमा गरेको कार्यक्रममा पनि फोहोर भएको भन्दै महानगरपालिकाले १ लाख रुपैंया तिर्न पत्र काटेको थियो । तर, एमालेले तिरेको छैन र नतिर्ने स्पष्ट पारेको छ । त्यसको केही समयपछि राप्रपाले भने आफूले गरेको कार्यक्रममा फोहोर भएको स्विकार गर्दै महानगरले तोके अनुसारको १ लाख जरिवाना तिरेको थियो ।




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।