श्रेष्ठ र ढुंगानाको राजीनामा पछि गभर्नरको दौड थप रोचक मोडमा, मुख्य दावेदार सात जनामध्ये कसलाई कसकाे साथ ?

Mar 27, 2025 06:07 AM mero lagani
0



नेपाल राष्ट्र बै‌कका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले राजीनामा दिएपछि गभर्नर नियुक्ति प्रकृया थप रोचक मोडमा पुगेको छ । शुरुदेखि नै भावी गभर्नरको दावेदारको रुपमा हेरिएका उनले गभर्नरको दौडमा ‘औपचारिक रुपमा’ सामेल हुन  कार्यकारी निर्देशकबाट राजीनामा दिएको हुन सक्ने आशंका गरिएको छ । 

एमाले नेतृत्वसँग निकै घनिष्ट सम्वन्ध रहेका श्रेष्ठले पार्टी नेतृत्वसँग सल्लाह गरेर नै राजीनामा दिएको र उनी नै गर्भनर बन्न सक्ने अडकलबाजी चलिरहेको छ । कार्यकारी निर्देशकबाट उनको राजीनामाले गभर्नर नियुक्ति प्रकृय थप रोचक बनेको छ भने दावेदारहरुलाई झस्काइदिएको छ ।

यसअघि प्रधानमन्त्री ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवाबीच विद्युत प्राधिकरणको कार्यकारी निर्देशकसँग गभर्नर साटेको चर्चा चलिरहेकै बेला ‘गभर्नर बन्नको लागि’ भन्दै नबिल बैकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले राजीनामा दिएपछि रोचक मोडमा पुगेको गभर्नर नियुक्ति प्रकृया श्रेष्ठको राजीनामाले तताएको थियो । त्यसमाथि श्रेष्ठको राजीनामाले त गभर्नर नियुक्तिको बजार हल्लालाई नयाँ उचाईमा पुर्याएको छ ।

अचानक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर ‘एमाले क्याडर’ हितेन्द्र शाक्यलाई नियुक्त गरिएपछि अर्थ राजनीतिक बजारले त्यसलाई गभर्नरसँगको साटफेरको रुपमा अर्थ लगाउनु अन्यथा थिएन । किनकी प्राधिकरण उर्जा मन्त्रालयअन्तरगत पर्छ । उर्जा मन्त्री कांग्रेस नेता दीपक खड्का छन् ।

सामान्यतया जुन ‘लाइन मिनिष्ट्री’ अन्तरगतका पदहरु छन्, ती पदहरुमा सम्वन्धित मन्त्रीको पार्टी निकटका व्यक्तिहरुलाई नियुक्त गर्नु नेपालको मात्र नभएर विश्वव्यापी गठवन्धन संस्कृति हो । तर, कांग्रेसले सम्हालेको मन्त्रालय अन्तरगतको महत्वपूर्ण निकायमा ‘एमाले क्याडर’ नियुक्त गर्नुले शंका गर्ने ठाउँ दिएको छ ।

यद्धपि कतिपय जानकारहरु भने यसलाई बीमा प्राधिकरणको अध्यक्षसँगको सट्टा भर्ना भएको र गभर्नरमा एमालेकै मान्छे नियुक्त हुने बताइरहेका छन् । किनकी एमाले उपाध्यक्ष विष्णु पौडेलले सम्हालेको अर्थमन्त्रालय अन्तरगतको एउटा मुख्य निकाय विमा प्राधिकरणको अध्यक्षमा कांग्रेसका शरद ओझा नियुक्त भएका छन् ।

जेहोस् हल्लै हल्लाको बीचमा ‘गभर्नर ’ भन्ने घोषणा सहित ढुंगाना दौडमा समावेश भएपछि गभर्नरको दौड र रस्साकस्सी थप रोचक बनेको छ ।

यहाँ गभर्नरको दौडमा लागेका केही मुख्य पात्रहरुको बारेमा सर्सती जानकारी दिइएको छ ।

 डा.प्रकाश श्रेष्ठ

अर्घाखाँचीका डा. श्रेष्ठले बुधबार राष्ट्र बैंककै कार्यकारी निर्देशकबाट राजीनामा दिएका छन् । अब उनलाई गभर्नरका प्रमुख दावेदार मानिएको छ । अर्थतन्त्रका साह्रै मिहिन जानकार मानिने उनी प्रति एमाले नेतृत्व शुरुदेखि नै ‘अत्यन्त सकारात्मक’ रहँदै आएको छ । एमाले महासचिव शंकर पोख्रेल लुम्बिनीको मुख्य मन्त्री हुँदा प्रदेश योजना आयोगको उपाध्यक्ष रहेका श्रेष्ठ अर्थमन्त्री पौडेलको अघिल्लो कार्यकालमा प्रमुख आर्थिक सल्लाहकार थिए ।

ज्ञानेन्द्र ढुंगाना

अख्तियारका पूर्व सचिव खेमराज नेपालका छोरी ज्वाईं ढुंगाना बैंकर हुन् । नबिल वैंकको सिईओबाट राजिनामा दिएपछि घोषितरुपमा गभर्नरको दौडमा लागेका ढुंगानालाई ‘कर्पोरेट उम्मेद्वार’ मानिएको छ । किनकी उनलाई अधिकाँश कर्पौरेट घरानाहरुको साथ सहयोग रहेको चर्चा छ ।

काँग्रेस पृष्ठभूमिका ढुंगाना बालुवाटारको सिग्नल पाएपछि आकर्षक जागिर छाडेर आएको अनुमानमा अन्य प्रतिप्रस्पर्धी हच्किएको देखिन्छ । कांग्रेस खेमाबाट गभर्नर भएमा ढुंगाना मुख्य दावेदार हुन् । तर पछिल्लो समय चर्किएको ‘कुलिङ पिरियड’को मुद्दा उनको लागि दाँतको ढुँगा जस्तो बनेको छ ।

 प्रा.डा. शिवराज अधिकारी 

अहिले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहेका पाल्पाका अधिकारी त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्रका प्रध्यापक हुन् । उनलाई गभर्नर बनाउने बारेमा प्रधानमन्त्री ओलीसहित अर्थमन्त्री पौडेल र अहिले ओलीका आर्थिक सल्लाहकार रहेका पूर्व अर्थमन्त्री तथा पूर्वगभर्नर खतिवडासहितको एमालेको ‘हाईकमाण्ड’ सकारात्मक रहेको चर्चा चलिरहेको छ। एमालेको भागमा गभर्नर परेमा नियुक्तिको लागि उनको प्रतिष्पर्धा श्रेष्ठसंग हुने निश्चित देखिएको छ ।

 डा. निलम तिम्सिना

घर र माइती दुवै झापा भएकी हालकी डेपुटी गभर्नर तिम्सिनाको माइती पक्ष कांग्रेस भए पनि घरतर्फका एमाले हुन् । तिम्सिनालाई गभर्नर बनाएर ‘महिला गभर्नर’ बनाएको जस लिनको लागि पूर्व राष्ट्रपति विद्या भण्डारीले समेत साथ दिइरहेको बताइएको छ । पहिलो महिला मुख्य सचिव बनाएको भनेर जस लिइरहेका ओलीले ‘गभर्नर पनि बनाइदिउ न’ भनेमा तिम्सिना गभर्नर नबन्लिन भन्न सकिन्न । उनले गभर्नरको लागि केही महिनादेखि नै दौडधुप गरिरहेकी छन् ।

बमबहादुर मिश्र

हालका डेपुटी गभर्नर मिश्र पनि स्वभाविकरुपमा गभर्नरका दावेदार हुन्, त्यसमाथि उनी पनि झापाली नै हुन् । सभामुख देवराज घिमिरे उनका लागि बलियो आड मानिन्छन् । करियरमा फड्को मार्दै डेपुटी गभर्नर बनेका मिश्रले गभर्नर बनेर अर्को चक्मा दिन बालुवाटारसम्म आफ्नो दावी पुर्याएका छन् ।

रामेश्वर खनाल

पाल्पाका खनाल पूर्व अर्थसचिव हुन् । सरकारले आर्थिक सुधार सुझाव आयोगको संयोजक बनाएर खनाललाइ जिम्मेवारी दिएपछि उनी पनि गभर्नरको दावेदारका रूपमा हेर्न थालिएको हो । अहिलेको बिषम परिस्थितिको अर्थतन्त्र सम्हाल्न खनाल जत्तिको काविल अर्थशास्त्री चाहिने निष्कर्षमा बालुवाटार अहिले पनि छ ।

पारिवारिकरुपमा कांग्रेस पृष्ठभूमी भए पनि उनी पछिल्लो समय एमाले नेतृत्व पङितसंग निकै घनिष्ट सम्वन्धमा छन् । एमाले नेता भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा ‘ट्युनिङ’ नमिलेपछि अचानक राजिनामा दिएर केही समय ‘भूमिगत’ भएका खनालको केही समय एमाले नेतृत्वसँग सम्वन्ध चिसिएको थियो ।

डा.गुणाकर भट्ट 

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्ट अर्थतन्त्रमा निकै गहन जानकारी राख्ने तर चाकरी चाप्लुसीमा विश्वास नराख्ने व्यक्तिको रुपमा चिनिन्छन् । कांग्रेस खेमाका उनलाई गभर्नर बनाउन कांग्रेस भित्रका वौद्धिक जमातहरुको साथ रहेको र एमाले निकट केही अर्थशास्त्रीहरु पनि लागिरहेको बताइन्छ । नेपाली कांग्रेसको भागमा गभर्नर परेमा उनी स्वभाविकरुपमा कडा दावेदार हुन् । सुदूर पश्चिमेली भएकोले सुदूर पश्चिमेली समाजले शेरबहादुर देउवाको साथ सहयोग खोजेको बताइन्छ ।




दुवै जना डेपुटी गभर्नर ‘रिङ आउट’, एउटा अधिकारी जाने अर्काे अधिकारी आउने !

Mar 24, 2025 10:55 AM

अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी ओलीले नयाँ गभर्नर टुंगो लगाएका छन् । स्रोतका अनुसार नयाँ गभर्नर नियुक्तिको लागि हालका दुवैजना डेपुटी गभर्नरद्धय डा. निलम तिमल्सिना र बमबहादुर मिश्रसहितका विभिन्न व्यक्तिहरुले शक्ति केन्द्रहरुमा दौडधुप गरिरहे पनि उनीहरु ‘रिङ आउट’ हुन सक्ने देखिन्छ ।