‘बजारमा ७२ घण्टामा कारोबार गर्नेहरुले कमाएका छन्’

Apr 08, 2025 06:50 PM Merolagani



पछिल्ला कारोबार दिन बजार सूचक खासै बलियो देखिदैन । बजारले बढ्ने कोसिस गरेता पनि टिक्न सकेको छैन । मंगलबारको बजार ३.४४ अंकले घटेर २६६६.६१ विन्दुमा झरेको छ भने ५ अर्ब ३० करोड बढीको शेयर खरिद बिक्री भएको छ ।

बजारमा लगानीकर्ताहरुको मनोवल कमजोर हुँदा सूचक बलियो हुन नसकेको हो । चैत्र मसान्त नजिक छ । बैंकको साँवा–ब्याज तिर्नुपर्ने चटारोमा लगानीकर्ताहरु रहेका छन । अर्कोतर्फ मुलुक आन्दोलित भएको छ । विभिन्न पक्षहरुले सडकमा उत्रेर आन्दोलन गर्दा शेयर बजारमा त्यसको प्रभाव देखिएको छ ।

त्यसैगरी, पछिल्ला केही समयदेखि लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकको गभर्नर को नियुक्त हुने हो भन्ने बारेमा चासो देखाएका छन् । सरकारले गभर्नर नियुक्तिमा ढिला गर्दा पनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको बुझाई छ ।

बजारमा लगानीकर्ताहरुमा विश्वस्त भएर लगानी गर्ने वातावरण नभए पनि केहीले भने आर्जन गरेकै छन् । अहिलेको बजारमा होल्ड गर्ने लगानीकर्ताले भन्दा ७२ घण्टामा कारोबार गर्नेहरुले कमाएको चार्टर्ड एकाउन्टेन्ट्स मनिष अर्यालले बताए । बजारमा होल्ड गर्नेले भन्दा छिटो नाफा बुक गर्नेहरुले धेरथोर कमाएका छन । सरकारले बजारमा ढुक्क भएर लगानी गर्ने वातावरण निमार्ण गर्न नीतिगत सहजता अपनाउनु पर्ने अर्यालको बुझाई छ ।