कुन कम्पनीकाे लाभांश पच्याे? कसको पच्न बाँकी ? यस्तो देखियो तथ्याङ्कमा (सूचीसहित)

Dec 05, 2025 06:07 AM Merolagani



सुवास निरौला

कम्पनी स्थापना गर्दा किनेको संस्थापक शेयर होस् अथवा प्राथमिक बजारमा किनेको आईपीओ अनि दोस्रो बजार मार्फत शेयर किन्नुको प्रमुख प्रमुख उद्देश्य भनेको नाफा गर्नु नै हो।

शेयर नाफाका लागि किन्ने गरिए पनि शेयर किन्नुका फरक उद्देश्य पनि हुन्छन्। अल्पकालीन रुपमा शेयरमा लगानी गर्नेले छोटो समयको पूँजीगत लाभका लागि शेयर किन्ने गर्छ भने दीर्घकालीन लगानी गर्नेले कम्पनीले प्रदान गर्ने लाभांशलाई बढी महत्त्व दिएको हुन्छ। त्यसैगरी अधिक मात्रामा शेयर किनेर कोही कम्पनीको सञ्चालक तहमा जाने प्रयासमा हुन्छन्। आखिर जसले जुन उद्देश्यको लागि शेयर किनेको भए पनि उसको प्रमुख उद्देश्य भनेको नाफा गर्नु नै हुन्छ। त्यसमा पनि केही लगानीकर्ताले लाभांशको लागि शेयर किन्ने गर्छन्।  

नेपाल स्टक एक्सचेन्ज(नेप्सेमा)मा सूचीकृत कम्पनीहरूले गत वर्षमा गरेकाे मुनाफाबाट चालु आर्थिक वर्षमा लाभांश वितरण गरिरहेका छन्। अहिलेसम्म नेप्सेमा सूचीकृत धेरै कम्पनीले लाभांश घोषणा गरिसकेका छन्। यसैगरी लाभांश घोषणा गर्ने केही कम्पनीको बुक क्लोज पनि भइसकेको छ भने केही कम्पनीको बुक क्लोज हुनै बाँकी छ। मेरो लगानीले अहिलेसम्म लाभांश वितरणको लागि बुक क्लोज गरिसकेका कम्पनीले वितरण गरेको लाभांश पचाए कि पचाएनन् भनेर अध्ययन गरेको छ। मेरो लगानीले बुक क्लोज गरिसकेका २९ वटा कम्पनीको शेयर मूल्यलाई आधारको रुपमा लिएको छ। जसमा तीन कम्पनीले मात्रै लाभांश पचाएको देखिएको छ भने बाँकी २६ कम्पनीले अझै लाभांश पचाउन सकेका छैनन्। लाभांश पचाउने कम्पनीमा सानिमा बैंक, मितेरी डेभलपमेन्ट  र आरएसडिसी लघुवित्त देखिएका छन्।

सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट कुल ७.३६ प्रतिशत नगद लाभांश दिएको थियो। कम्पनीको बुक क्लोजको दिन २६९.७० अन्तिम मूल्य कायम भएको थियो। पछिल्लो समय कम्पनीले अन्तिम कारोबार मूल्य ३१४.९० पुगेको छ। जस अनुसार शेयरधनीले चालु आर्थिक वर्षको नगद लाभांश पचाएका छन्।

यसैगरी मितेरी डेभलपमेन्ट बैंकले शेयरधनीलाई कुल १० प्रतिशत नगद लाभांश दिएको थियो। बुक क्लोज अघि उसको अन्तिम कारोबार मूल्य ५६६ रुपैयाँ रहेको थियो भने पछिल्लो समय बैंकको प्रति कित्ता मूल्य ५७८ रुपैयाँ छ। यस आधारमा पनि बैंकका शेयरधनीले नगद लाभांश पचाएका छन्।

यता आरएसडिसीले चालु आर्थिक वर्ष कुल १० प्रतिशत नगद दिएको थियो। उसको बुक क्लोज अघि ६१९ रुपैयाँ प्रति कित्ता मूल्य कायम भएको थियो। तर अहिले संस्थाको प्रति कित्ता मूल्य ६४८ रुपैयाँमा उक्लिएको छ। त्यस आधारमा संस्थाका शेयरधनीले नगद पचाएका छन्।

धेरै जसो नगद दिएका कम्पनीले लाभांश पचाउने कोसिस गरिरहेका छन् भने बोनस शेयर वितरण गर्ने कम्पनीहरू भने लाभांश पचाउन संङ्घर्स गरिरहेका छन्।

तल फोटोमा हेर्नुहोस् कुन कम्पनीले लाभांश पचाए? कुनको पच्न बाँकी छ ?