शेयरको ‘इन्साइडर ट्रेडिङ’ गर्न ट्रम्पले व्यापार युद्ध शुरु गरेको अमेरिकी सांसदहरुको आरोप, सिनेटमा छलफल गराउन सभामुखलाई पत्र

Apr 15, 2025 03:44 PM mero lagani



के अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफूले व्यक्तिगतरुपमा शेयर बजारबाट अत्यधिक नाफा लिनको लागि व्यापार युद्ध गरिरहेका हुन् ? यो प्रश्न अहिले अमेरिकी शेयर बजारमा मात्र होइन, विश्वव्यापीरुपमा उठिरहेको छ । 

र, यसबारेको विवाद यति चर्किदैंछ कि अब त्यो अमेरिकी सिनेटमा पनि प्रवेश गर्दैछ । किनकी ट्रम्पले ‘इन्साइडर ट्रेडिङ’ गरेको आरोप लगाउँदै २० जना सिनेटर सभामुखलाई पत्र पठाएका छन् ।

ट्रम्पमाथिको आरोपले त्यतिबेला बजारमा तहल्का पिट्यो, जतिबेला उनले समाजिक संजालबाट शेयर किन्नको लागि भन्दै लगानीकर्तालाई उक्साए । उक्साएनन् मात्रै, उनले भनेझैं केही कम्पनीको शेयर अस्वभाविकरुपमा बढ्यो । यो अघिल्लो बुधबारको घटना हो ।

ट्रम्पले व्यापार युद्ध शुरु गरेपछि अमेरिकाको मात्र होइन, विश्वभरिकै शेयर बजार नियमित गतिमा अगाडि बढ्न सकेको छैन । निकै उछाल आइरहेको छ । कतिबेला कहाँको शेयर बजार ‘क्र्यास’ हुन्छ भन्ने अनुमान कसैले गर्न सक्ने अवस्था छैन ।

बुधबार शेयर कारोबार शुरु हुनु अगाडि विहान ९.३७ मा आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा शेयर लगानीकर्ताहरुलाई आव्हान गर्दै लेखे-यो खरिद गर्नको लागि एक महान समय हो ! डिजेटी !’
डिजेटी ट्रम्पको कम्पनी हो । जस्को पुरारुप ‘ट्रम्प मिडिया एण्ड टेक्नालोजी ग्रुप कर्पाेरेशन’ हो ।

त्यसको केही समयपछि अर्थात् शेयर बजारमा कारोबार शुरुभएपछि राष्ट्रपति ट्रम्पले अर्काे पोष्ट गरे, जस्मा लेखिएको थियो-सामान्य हुनुहोस् ! सबै चीज राम्रोसँग काम गर्नेछ । अमेरिका पहिलेभन्दा ठूलो र राम्रो हुनेछ !

त्यसको सोझो प्रभाव शेयर बजारमा तत्कालै देखियो । ट्रम्पको उक्त कम्पनीको शेयर बुधबार लगभग २२% बढ्यो भने बिहीबारको बिहान प्री-मार्केट कारोबारमा थप ५% वृद्धि भयो ।

‘यो खरिद गर्नको लागि एक महान समय हो’ भन्दै लगानीकर्तालाई हौस्याएर आफ्नो कम्पनीको शेयर मूल्य बढाएका ट्रम्पले त्यसको केही घण्टामै चीनबाहेक अधिकांश देशमाथि लगाइएको ‘अतिरिक्त ट्यारिफ’ ९० दिनको लागि स्थगन गरेको घोषणा गरे ।

क्यालिफोर्निया डेमोक्रयाट सेनेटर आडम सिफले ‘ट्रम्पले हाकाहाकी इन्साइडर ट्रेडिंग गरेको दावी गर्दै अमेरिकी प्रतिभूति तथा विनिमय आयोग (एसईसी) लाई ट्रम्प र उनका कम्पनीहरुमाथि तत्काल कारवाही गर्न माग गरे ।

अहिले उनी सहितका विपक्षी डेमोक्र्याट सांसदहरुले ट्रम्प राष्ट्रपति भएयता उनी र उनको कम्पनीको शेयर कारोबारको बारेमा छानविन गर्न ‘यसईसी’लाई दवाव दिइरहेका छन् भने त्यसबारेमा सिनेट (संसद)मा छलफल चलाउन माग गर्दै सभामुख माइक जोन्सनसँग माग गरेका छन् । उनीहरुले ‘ट्रम्प कानुनभन्दा माथि छैनन् र उनलाई इन्साइडर ट्रेडिङ गर्ने कुनै अधिकार छैन, त्यो अपराध हो’ सांसदहरुले सभामुखलाई बुझाएको पत्रको ‘कोड’ गर्दै टाइम म्यागजिनले लेखेको छ ।