यस अघि समग्र कारोबारमा ५० प्रतिशत हिस्सासम्म ओगट्दै आएको जलविद्युत क्षत्रले अहिले आएर ७० प्रतिशतसम्म हिस्सा ओगट्न थालेको छ। आइतबार दोस्रो बजार झिनो अंकले बढ्यो। ०.४७ अंकको वृद्धि सँगै सूचक २६५५.८५ अंकमा उक्लियो। आइतबार ११ अर्ब ४४ करोडको शेयर किनबेच भयो। जसमा सबैभन्दा बढी जलविद्युत समूहकै शेयर कारोबार भयो। जलविद्युत क्षेत्रको मात्रै सात अर्ब ९१ करोडको शेयर किनबेच भयो। जुन कुल शेयर कारोबारको ६९.१२ प्रतिशत हो। आइतबार मात्रै यस्तो देखिएको होइन। गत बिहीबार पनि कुल कारोबारमा जलविद्युत क्षेत्रको मात्रै ६६.२१ प्रतिशत कारोबार भएको थियो। गत बिहीबार दोस्रो बजारमा कुल १२ अर्ब ५१ करोडको शेयर किनबेच हुँदा जलबिद्यतु क्षेत्रको मात्रै आठ अर्ब २८ करोडको शेयर किनबेच भएको थियो। यसरी हरेक दिन दोस्रो बजारमा सबैभन्दा बढी कारोबार हुने कम्पनी जलविद्युतका पर्दै गर्दा गत महिना पनि दोस्रो बजारमा ५५ प्रतिशत भन्दा बढी कारोबार जलविद्युत क्षेत्रको मात्रै भएको थियो। नेपाल स्टक एक्सचेन्जको गत वैशाख महिनाको मासिक विवरणमा सबैभन्दा बढी कारोबार हुने क्षेत्र जलविद्युत नै रहेको थियो। मासिक विवरण अनुसार कुल कारोबारमा जलविद्युत क्षेत्रले मात्रै ५५.५० प्रतिशत हिस्सा ओगटेको थियो।
जलविद्युत क्षेत्र दोस्रो बजारमा अहिले हट केक जस्तै हुन थालेको छ। लगानीकर्ताले जलविद्युत बाहेक अरू क्षेत्रको शेयरमा आँखा लगाउन छाडे जस्तै देखिन्छ। जलविद्युत क्षेत्रका कम्पनीमा लगानीकर्ताले आँखा चिम्लिएर लगानी गरिरहेका छन्। जबकि जलविद्युत क्षेत्रको लाभांष दिन सक्ने क्षमता अरू समूहको भन्दा निक्कै कम छ। तै पनि लगानीकर्ताले सबैभन्दा बढी नपराइरहेको समूह जलबिद्यतु नै बनिरहेको छ। “जलविद्युत क्षेत्र लामो समयको लागि होल्ड गर्ने भन्दा पनि छोटो समयको लागि लगानीकर्ताले किनबेच गर्ने गरेका छन्। अझै ट्रेडिङको लागि जलबिद्यतु क्षेत्र सबैभन्दा बढी आकर्षक बन्दै गइरहेको छ। जति पनि लगानीकर्ताले शेयर किनबेच गरिरहेका छन्। सबैले क्यापिटल गेनको लागि बढी खरिद/बिक्री गरिरहेका छन् ” शेयर बजारका एक जानकारले भने।
आइतबार मात्रै ७० प्रतिशतको हाराहारीमा जलविद्युत क्षेत्रको शेयर कारोबार हुँदै गर्दा चार जलविद्युत कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेका छन्। अर्को तर्फ सबैभन्दा बढी कारोबार हुने २० कम्पनीको सूचीमा १६ कम्पनी जलविद्युत कै छन्। त्यसमा ११ औ नम्बरसम्म जलविद्युत कम्पनीकै वर्चस्व छ।
यसरी हेर्दा पछिल्लो समय लगानीकर्ताले जलविद्युत क्षेत्रलाई असाध्यै बढी रुचाएका छन्। लगानीकर्ताले रुचाएकै कारण जलविद्युत क्षेत्रका कम्पनीहरूको मूल्य पनि बढ्दो क्रममा देखिएको छ। गएको एक महिना यता समग्र जलविद्युत समूहको कारोबार मापक गर्ने सूचक पनि बढ्दो क्रममा नै देखिएको छ। अहिले समग्र जलविद्युत समूहको सूचक ३६७६.१५ अंकमा उक्लिएको छ। जुन सर्वाधिक रेकर्ड उन्मुख छ। गएको एक वर्षमा उक्त चक ३८०९.६६ अंकसम्म उक्लिएको थियो। यसै गरी केही दिन जलविद्युतमा आकर्षण रहिरहे सूचकले एक वर्ष अवधिमा बनाएको उक्त रेकर्ड तोड्ने सम्भावना छ।