जेठ महिना ट्रेडरले बेस्सरी कमाए, सरकार पनि नाफामा, सिजन सुरु हुँदै गर्दा असार थप फलदायी होला ?

Jun 18, 2025 05:53 PM merolagani



सुवास निरौला  

जेठ महिना ट्रेडरको लागि फलदायी महिना रह्यो। अल्पकालीन लगानीकर्ताले जेठ महिना मनग्ये आम्दानी गर्न सफल भए। ट्रेडरले राम्रो कमाइ गर्दा सरकारलाई पनि त्यसले फाइदा गराएको छ। जति धेरै ट्रेडरले आम्दानी गरे त्यसै अनुसार उनीहरूले कर पनि तिरेका छन्। 

जेठ महिनामा अल्पकालीन र दीर्घकालीन लगानीकर्ताले वैशाखमा भन्दा बढी नाफा गरेका छन्। तर यही अवधिमा संस्थागत र स्टक डिलरको लागि भने जेठ महिना खासै फलदायी रहेन।

वैशाख महिनाभन्दा जेठमा अल्पकालीन र दीर्घकालीन दुवै लगानीकर्ताले बढी लाभकर तिरेका छन्। अल्पकालीन लगानीकर्ताले वैशाखको तुलनामा १४.६७ प्रतिशत बढी लाभकर तिरे भने सोही अवधिमा दीर्घकालीन लगानीकर्ताले १.३० प्रतिशत बढी लाभकर तिरे। यसै अवधिमा संस्थागतको लाभकर ५७.७९ प्रतिशतले घटेको छ भने स्टक डिलरको उठ्थी ५९.९७ प्रतिशतले घटेको छ।   

तर समग्र वैशाखको तुलनामा जेठमा पूँजीगत लाभकर सङ्कलन थोरै घटेको छ। वैशाखको तुलनामा जेठमा समग्र लाभकर उठ्थी ४.१५ प्रतिशतले घटेको केन्द्रीय निक्षेप प्रणाली(सिडिएससी)ले जनाएको छ। सिडिएससीले उपलब्ध गराएको तथ्याङ्क अनुसार वैशाखमा लाभकर उठ्थी एक अर्ब २२ करोड २९ लाख रुपैयाँ रहेको थियो। जेठमा यस्तो उठ्थी घटेर एक अर्ब १७ करोड ८२ लाख रुपैयाँमा खुम्चिएको छ। जुन वैशाख महिनाको तुलनामा जेठको उठ्थी ४.१५ प्रतिशतले कम हो।

सबैभन्दा बढी लाभकर व्यक्तिगत तर्फ अल्पकालीन लगानीकर्ताले तिरेका छन्। उनीहरूले मात्रै जेठमा ७२ करोड ८२ लाख रुपैयाँ लाभकर तिरेको सिडिएससीले उपलब्ध गराएको तथ्याङ्कमा देखिन्छ। दोस्रो लाभकर बढी तिर्नेमा दीर्घकालीन लगानीकर्ता छन्। उनीहरूले जेठमा ३४ करोड १५ लाख रुपैयाँ लाभकर तिरे।

शेयर बजारको लागि असार र साउन सिजन मानिन्छ। सिजन सुरु हुँदै गर्दा आउने असार जेठ भन्दा पनि फलदायी हुने अपेक्षा गरिएको छ। सिडिएससीले लाभकर उठ्तिमा सबैभन्दा बढी लाभकर उठाउने महिना पनि असार, साउन र भदौ हुने गर्छ। त्यसले गर्दा पनि आउने महिना ट्रेडरको लागि थप फलदायी हुने अपेक्षा गरिएको हो।  

वैशाखको तुलनामा जेठमा संस्थागत लगानीकर्ता अलि कम नै सक्रिय भएको देखिन्छ। संस्थागत लगानीकर्ताले जेठमा राम्रै मुनाफा आर्जन गर्न सफल भए पनि वैशाखको तुलनामा भने अलिक कम छ। संस्थागत लगानीकर्ताले जेठमा मात्रै १० करोड ६४ लाख मात्रै लाभकर तिरेका छन्। जबकि उनीहरूले गएको वैशाखमा २५ करोड २३ लाख रुपैयाँ लाभकर तिरेका थिए। जुन वैशाखको तुलनामा ५९.९७ प्रतिशतले कम हो। जेठमा संस्थागत लगानीकर्ताले अघिल्ला महिनाहरूमा भन्दा थोरै नै शेयर बिक्री गरे।

समग्रमा जेठमा लाभकर मात्रै एक अर्ब १७ करोड रुपैयाँ उठेको छ। जुन वैशाखको भन्दा ४.१५ प्रतिशत कम हो। वैशाखमा समग्र लाभकर एक अर्ब २२ करोड ९२ लाख रुपैयाँ उठेको थियो।

सरकारले दोस्रो बजारमा हुने शेयर कारोबारमा पूँजीगत लाभकर उठाउने गर्छ। दोस्रो बजारमा शेयर कारोबार गरेर नाफा गर्नेले पूँजीगत लाभकर तिर्नु पर्छ। सरकारले दीर्घकालीन र अल्पकालीन गरेर दुई थरी लाभकर सङ्कलन गर्दै आइरहेको छ। एक वर्ष भन्दा बढी शेयर होल्ड गरेर नाफा आर्जन गर्नेले दीर्घकालीन लाभकर तिर्नु पर्छ। जुन लाभ रकममा पाँच प्रतिशत तिर्नु पर्छ। एक वर्ष भन्दा कम अवधि होल्ड गरेर शेयर बिक्रीबाट नाफा आर्जन गर्नेले अल्पकालीन लाभकर तिर्नु पर्छ। जुन लाभ रकममा साढे सात प्रतिशत लाग्छ। यसैगरी संस्थागत लगानीकर्ताले दीर्घकालीन वा अल्पकालीन दुबैमा समान १० प्रतिशत लाभकर तिर्नु पर्छ। तर उनीहरूले आर्थिक वर्षको समितिमा घाटा र नाफा मिलान गर्न पाउँछन्। तर व्यक्तिगत लगानीकर्ताले भने त्यो सुबिधा पाउँदैनन्।

व्यक्तिगत लगानीकर्ताले नाफामा लाभकर तिर्नु परे पनि घटामा भने तिर्नु पर्दैन। तर शेयर कारोबारमा सधैँ नाफा मात्रै हुँदैन घाटा पनि हुन्छ। तर घाटाको मिलान भने उनीहरूले गर्न पाउँदैनन्। जसले गर्दा व्यक्तिगत लगानीकर्ताले पनि वर्षको अन्तिममा नाफा र घाटा मिलान गर्न पाउनु पर्ने माग राख्दै आएका छन्। तर सरकारले यस विषयमा कुनै निर्णय गरेको छैन।         




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।