सातामा १ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Jun 21, 2025 06:18 AM Merolagani



यस साता नेप्से परिसूचक १ प्रतिशत घटेर बन्द भएको छ। गत साता २६५५.३८ विन्दुमा बन्द भएको नेप्से, यस साता १ प्रतिशत अर्थात २६.४७ अंक घटेर २६२८.९१ विन्दुमा पुगेको छ।

यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से सामान्य अंक बढेको थियो भने ३ कारोबार दिन घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ४.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६७ अंक घटेको छ।

नेप्से घटेपनि यस साता कारोबार रकम भने बढेको छ। गत साता दैनिक औषतमा १० अर्ब ८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १० अर्ब ५२ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४.३५ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या १४.६८ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ८.९९ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण करिब १ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब २३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४३ अर्ब रुपैयाँ घटेर ४३ खर्ब ७९ अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता १३ वटा उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.८२ प्रतिशत बढेको हो भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.६४ प्रतिशत बढेको हो।

कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस साता सर्वाधिक ३.६७ प्रतिशत घटेको छ। गत साता २४५४.८४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ९०.०१ अंक घटेर २३६४.८३ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी १५०.३० अंक घटेको छ।

यस साता नेप्सेमा सानिमा जीआईसी इन्स्योरेन्सको १५ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ।

यस साता पियोर इनर्जीको शेयरमूल्य सर्वाधिक ३१.७५ प्रतिशत बढेको छ। गत साता ८२४ रुपैयाँ ७० पैसा रहेको यस कम्पनीको अन्तिम शेयरमूल्य, यस साता १ हजार ८६ रुपैयाँ ५२ पैसा रहेको छ। त्यस्तै, यस साता पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य साढे १९ प्रतिशतभन्दा बढी बढेको छ भने युनियन हाइड्रोपावरको शेयरमूल्य करिब १९ प्रतिशत बढेको छ। कारोबारमा आएको श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्य यस साता सर्वाधिक १२.९४ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता लक्ष्मी लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१ लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने सिटिजन्स बैंक इन्टरनेशनल, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।