सरोकारवाला कतिपय मानिसहरुले क्रिप्टोकरेन्सीलाई मान्यता दिनको लागि ‘लविङ’ गरिरहेको बेला अर्थमन्त्रालयले भने त्यसप्रति कडा नीति अपनाउने स्पष्ट पारेको छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेटमा क्रिप्टोजस्ता अभौतिक मुद्रा, अवैध विदेशी मुद्रालगायतका कसुरजन्य सम्पत्ति जफत गरी सञ्चित कोषमा जम्मा गर्ने व्यवस्था मिलाइने उल्लेख गरिएको छ । त्यसै सन्दर्भमा गत साता प्रतिनिधिसभामा सांसदहरूले सोधेका प्रश्नको जबाफ दिने क्रममा अर्थमन्त्री विष्णु पौडेलले क्रिप्टो कारोबारलाई अहिले नै खुला गर्न नसकिने बताउँदै अहिले त्यसबारेमा छलफल गर्नु नै जरुरी नभएको स्पष्ट पारेका थिए ।
विसं २०७४ मै क्रिप्टोकरेन्सी सम्बन्धी कारोबारलाई अवैध घोषणा गरिसकेको राष्ट्र बैंकले विगतदेखि नै नेपालमा रहेका नेपाली तथा विदेशी साथै विदेशमा रहेका नेपालीले समेत क्रिप्टो करेन्सीको कारोबार गर्न नपाउने चेतावनी दिँदै आएको छ ।
स्रोतका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) समेतले क्रिप्टोकरेन्सीको कारण विकसित देशहरुमा समेत विभिन्न समस्या सृजना भएको भन्दै नेपाल जस्ता कम आय भएका देशहरूमा त त्यस्ले समाधान गर्नै अवस्था आउन सक्ने चेतावनी दिँदै आएको छ । बजेटको तयारीकै बेला आईएमएफको प्रतिनिधिले भावनामा बगेर क्रिप्टोकरेन्सीप्रति लचिलो नहुन सुझाव दिएको बताइन्छ ।
स्मरणरहोस कोइनडेस्क नामक बेवसाइटले जारी गरेको सन् २०२२ को ग्लोबल क्रिप्टो एडप्शन इन्डेक्सको आधारमा नेपाल क्रिप्टोकरेन्सीको कारोबारमा विश्वभरि १६औँ स्थानमा देखिएको छ। यस्को अर्थ प्रतिवन्धित भए पनि नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गर्नेहरुको संख्या निकै ठूलो छ ।
क्रिप्टोकरेन्सी त्यस्तो भर्चूअल मुद्रा हो जसको अस्तित्व अनलाइनमा सीमित छ। भौतिक रूपमा देख्न वा छुन नसके पनि यसको मूल्य तोकिएको हुन्छ ।
यो भर्चूअल मुद्राको कुनै केन्द्रीय बैंक हुँदैन अर्थात् यसलाई नियमन गर्ने कुनै केन्द्रीय निकाय हुँदैन।
संसारभरका कम्प्युटरमा राखिएको डिजिटल रेकर्डका आधारमा यो सञ्चालन हुन्छ। सन् २००९ देखि चर्चामा आएको बिटकोइन पहिलो क्रिप्टोकरेन्सी हो।
हालसम्म हजारौँको सङ्ख्यामा क्रिप्टोकरेन्सी अस्तित्वमा आएका छन् र नयाँ क्रिप्टोकरेन्सी थपिने क्रम पनि जारी छ।
बिटकोइनको संस्थापक सातोशी नाकामोतो हुन भनिन्छ । तर रोचक के छ भने उनी को हुन् भनेर आजसम्म कसैलाई थाहा छैन।