नेप्सेमा सूचीकृत ३८ वटा म्युचुअल फन्डमध्ये जेठ महिनाको खुद सम्पत्ति मूल्य (नेट एसेट भ्यालु, न्याभ) का आधारमा ४ वटा म्युचुअल फन्ड मात्रै अंकित मूल्य १० रुपैयाँ भन्दा तल छ तर नेप्सेमा लगानीकर्ताको खासै रोजाईमा नपर्दा न्याभ भन्दा पनि तल्लो मूल्यमा कारोबार भइरहेको छ । बुधबारको कारोबार अनुसार ३८ वटा सुचीकृत म्युचुअल फन्डमध्ये १५ वटा म्युचुअल फन्ड मात्रै अंकित मूल्य वा सो भन्दा माथिल्लो मूल्यमा कारोबार भइरहेका छन् भने बाँकी २३ वटा म्युचुअल फन्डका इकाईहरु अंकित मूल्य १० रुपैयाँ भन्दा पनि तल्लो मूल्यमा कारोबार भइरहेका छन् । असार मसान्त सकिएपछि धमाधम म्युचुएल फन्डले लाभांश घोषणा गर्ने हुँदा राम्रो न्याभ भएका म्युचुअल फन्ड खरिद गर्ने लगानीकर्ताले राम्रो लाभांशको साथै पुँजीगत लाभ समेत पाउन सकिने अवस्था रहेको अनुभवी लगानीकर्ताहरु बताउँछन् ।
आर्थिक वर्षको मसान्तको दबाबका कारण शेयर बजार दबाबमा रहेकाले गएको दुई हप्ता नेप्से परिसूचक घट्दो क्रममा थियो । यो हप्ताको चारै कारोबार दिन भने बजार बढेर बन्द भएकाले असार मसान्तको दबाब बजारमा विस्तारै कम भएको आँकलन गर्न सकिन्छ । बजार विस्तारै बढ्दै जाँदा पनि म्युचुअल फन्डका इकाईहरुमा भने लगानीकर्ताको खासै आकर्षण देखिएको छैन जबकि जेठ महिनाको न्याभसँग तुलना गर्दा बुधबारको मूल्यमा ५ देखि २१ प्रतिशतसम्म सस्तोमा म्युचुअल फन्डका इकाईहरुको कारोबार भइरहेको छ ।
जेठ महिनाको न्याभ अनुसार १० रुपैयाँ ४ पैसा न्याभ रहेको एनआईबीएल समृद्धि फन्ड–२ नेप्सेमा ८ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ । बुधबार यो म्युचुअल फन्ड खरिद गर्नेले १५.३४ प्रतिशत डिस्काउन्टमा इकाई खरिद गर्ने मौका पाएका छन् ।
नेप्सेमा सुचीकृत सबै म्युचुअल फन्डका इकाईहरु जेठ महिनाको न्याभ भन्दा तल्लो मूल्यमै कारोबार भइरहेका छन् । १५ प्रतिशत डिस्काउन्ट मूल्यमा एनआईबीएल समृद्धि फन्ड–२सँगै एनआईसी फ्लेक्सी क्याप फन्ड र प्रभु स्मार्ट फन्डको पनि कारोबार भइरहेको छ ।
१४ प्रतिशत डिस्काउन्ट मूल्यमा प्रभु सेलेक्ट फन्ड, सनराइज ब्लुचिप फन्ड, सिद्धार्थ इन्भेष्ट ग्रोथ स्किम–२, कुमारी सवल योजना, सनराइज फोकस इक्विटी फन्ड, एनआईसी एसिया ब्यालेन्स फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईहरु पाइरहेको छ ।
१३ प्रतिशत डिस्काउन्ट मूल्यमा १२ वटा म्युचुअल फन्डका इकाईहरु पाइएको छ । मेगा म्युचुएल फन्ड, ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१, एनआईबीएल स्टेबल फन्ड, आरबीबी म्युचुएल फन्ड–१, कुमारी इक्वीटी फन्ड, एनआईसी एसिया ग्रोथ फन्ड–२, सिद्धार्थ इक्वीटी फन्ड, एनआईबीएल ग्रोथ फन्ड, एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२, कुमारी धनवृद्धि योजना, लक्ष्मी उन्नति कोष र सानिमा लार्ज क्याप फन्डका इकाइहरु पाइएको छ ।
त्यस्तै १२ प्रतिशत डिस्काउन्टमा सानिमा ग्रोथ फन्ड, नबिल ब्यालेन्स फन्ड–२, हिमालयन ८०–२०, एनएमबी हाइब्रीड फन्ड एल–२, नबिल ब्यालेन्स फन्ड–३, लक्ष्मी भ्यालु फन्ड–२, एनआईसी एसिया सेलेक्ट–३० र सिटिजन्स सुपर ३० को शेयर बुधबारको बजारमा कारोबार भयो ।
११ प्रतिशत डिस्काउन्ट मूल्यमा सिटिजन्स सुपर ३० म्युचुएल फन्ड, आरबीबी म्युचुएल फन्ड–२ र गरिमा समृिद्ध योजनाका इकाईहरु कारोबार भए भने एमबीएल इक्वीटी फन्ड १० प्रतिशत डिस्काउन्टमा कारोबार भए ।
मुक्तिनाथ म्युचुएल फन्ड–१, रिलायवल समृद्धि योजना र एनएमबी ५० ८ प्रतिशत डिस्काउन्टमा कारोबार भए भने सिटिजन्स म्युुचुए फन्ड–२ चाँहि ७ प्रतिशत डिस्काउन्टमा र सनराइज फर्स्ट म्युचुअल फन्ड चाँहि ५ प्रतिशत डिस्काउन्टमा कारोबार भए ।