भारत सरकारले संचालन गरिरहेका दुईवटा टेलिकम कम्पनीमध्ये भारत संचार निगम लिमिटेड (विएसएनएल) २ अर्ब ८० करोड नाफामा रहँदा अर्काे सरकारी कम्पनी एमटिएनएल भने ८५ अर्ब ८५ करोड घाटामा गएको छ । कम्पनीले बैंकहरुबाट लिएको ७७ अर्व ९४ करोड ३४ लाख ऋणको मंगलबारसम्मको ब्याज ७ अर्ब ९० करोड ५९ लाख गरि ८५ अर्ब ८५ करोड रुपैँया तिर्न नसक्ने घोषणा गरेको छ । यो कम्पनी सन् १९७९ मा स्थापना गरिएको थियो ।
कम्पनीले मंगलबार उक्त घोषणा गरेसँगै कम्पनीलाई ऋण दिएका ७ वटा बैंकहरु र शेयर लगानीकर्ताहरुमा त्रास फैलिएको छ ।
एमटिएनएलले त्यो ऋण युनियन बैंक अफ इन्डिया, बैंक अफ इण्डिया, स्टेट बैंक अफ इन्डिया, पञ्जाब नेसनल बैंक, युको बैंक, पंजाब एण्ड सिन्ध बैंक र इण्डियन ओभरसिज बैंकबाट लिएको छ । त्यसमध्ये सबैभन्दा धेरै युनियन बैंक अफ इण्डियाको मात्रै ३७ अर्ब ३३ करोड २२ लाख रुपैंया रहेको छ ।
कम्पनीले टाट पल्टिएको घोषणा गरेसँगै ती बैंकहरुको कर्जा कसरी असुली होला भन्ने प्रश्न उठेको छ भने अर्काेतर्फ शेयर लगानीकर्ताहरुबीच खैलाबैला मच्चिएको छ । केही महिना अगाडिसम्म १०२ रुपैयाँसम्म पुगेको उक्त कम्पनीको शेयर मूल्य कम्पनीले टाट पल्टेको घोषणा गरेसँगै ५० रुपैयाँ भन्दा तल झरेको छ ।