वर्षेनी हकप्रदको खेती गर्दै हाइड्रोपावर कम्पनी

Aug 12, 2025 06:15 AM Merolagani



सुधा देवकोटा
दोस्रो बजारमा सूचीकृत भएका अधिकाशं हाइड्रोपावर कम्पनीले वर्षेनी हकप्रद जारी गर्ने प्रवृति मौलाएको छ । हाइड्रोपावर कम्पनीहरुले ऋण तिर्ने प्रयोजनका लागि भन्दै हकप्रद जारी गर्ने प्रचलन बढेको हो ।

नेप्सेमा सूचीकृत भएका कम्पनी मध्येमा बलेफी हाइड्रोपावर एक हो । दोस्रो बजारमा २०७९ जेठ १० गते सूचीकृत भएको थियो । करिब तीन वर्षको अन्तरालमा कम्पनीले एक बराबर एक हकप्रद शेयर जारी गरिसकेको छ । कम्पनीले पुनः शतप्रतिशत हकप्रद निष्काशन गर्ने तयारीमा छ । कम्पनीले अब यस वर्षको वार्षिक साधारण सभामा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गर्ने सञ्चालक समितिले निर्णय गरिसकेकाे छ ।

त्यसैगरी, ङादी ग्रुप पावर कम्पनीले गत २०७९ साउन महिनामा चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर बिक्री गर्यो । उक्त बिक्री भएको हकप्रदबाट कम्पनीको ऋण तिर्न अपुग भएका भन्दै सोही वर्ष फागुन महिनामा पुनः १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गर्यो । सो दरको हकप्रद कम्पनीले विद्युत नियमन आयोग तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत गराइ गत पुसमा बिक्री सम्पन्न गरिसकेको छ ।

यि दुई मात्रै प्रतिनिधि कम्पनीहरु हुन । पछिल्लो समय अधिकांश हाइड्रोपावर कम्पनीहरूले एकपछि अर्को गर्दै बैंकको ऋण तिर्नका लागि हकप्रदको पासो थाप्न थालेका छन । धेरै जसाे हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभामा हकप्रद सम्बन्धी प्रस्ताव राखिएकै हुन्छ ।

यसरी बैंकको ऋण तिर्नकै लागि हकप्रद निष्काशन गर्न नहुने जानकारहरूको बुझाई छ । कम्पनीको कमाइबाट मात्रै ऋण तिर्नु पर्ने नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले बताए । 'यसै विषयमा शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको ध्यान आकषर्ण गराएका पनि छौं । जुनसुकै प्रकृतीको भएपनि कम्पनी आम्दानी गर्नको लागि खोलिने हो । नाफा गरेर लाभ दिनुको सट्टा पैसा उठाएर ऋण तिर्न खोजिदै छ,' उनले भने ।

पछिल्लो समय हकप्रद जारी गर्दै गरेका कम्पनीको शेयरमा आम लगानीकर्ताको आकर्षण बढ्दो छ । यसले धेरै लगानीकर्ताको लगानीको जोखिम बढाएको छ भने हकप्रदले धितोपत्र बजार प्रति नै  विकृती फैलाएको छ । यसले कम्पनीले नाफा गरेर शेयरधनीलाई प्रतिफल वितरण गर्नुको सट्टा ऋण तिर्नकै लागि हकप्रद शेयर बिक्री गर्ने गैरजिम्मेवारीपन बढेको छ । यदि कुनै कम्पनीले ऋण तिर्नकै लागि हकप्रद जारी भएको छ भने केही कैफियत छ । त्यसैले लगानीकर्ता सचेत हुन जरुरी छ भने नियामक निकायहरुले हकप्रद अन्धाधुन्द स्वीकृत गर्न रोक्नुपर्ने पाण्डेको जोड छ ।

दोस्रो बजारमा सूचीकृत हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनको सूचना सार्वजनिक गर्दा शेयर मूल्यमा त्यसको प्रभाव परेको हुन्छ । लगानीकर्ता हकप्रद खरिद गर्न तँछाड मछाड गर्ने गरेको पाइन्छ । यसैगरी कम्पनीहरूले विभिन्न बहाना बनाएर हकप्रद निष्कासनको निर्णय गर्दै मूल्य बढाएर बजारबाट बाहिर निस्कने प्रवृत्ति बढ्दो छ। जसले केही सीमित स्वार्थ भएकाले हकप्रदको पासो लगाएर लुट्ने प्रवृत्तिको विकास भएको छ । सम्बन्धित नियामक निकायहरूले हकप्रद निष्काशन सम्बन्धी कडा नीतिगत व्यवस्था गर्नुपर्ने जानकारहरुको जोड छ ।

हाल कम्पनीले कानुनी प्रक्रिया पुर्याएर हकप्रद जारी गरेको विद्युत नियमन आयोगका अध्यक्ष डा.राम प्रसाद धितालले बताए । हाइड्रोपावर कम्पनीले बैंकमा भएको ऋण तिर्ने उद्देश्यले हकप्रद निष्काशन गर्नु कानुन सङ्गत छ । “ऋणकै कारण आम्दानी भन्दा ब्याजदर धेरै भएर कम्पनी नोक्सानीमा भयो । भएको ऋण तिर्ने र हुने आम्दानीले शेयरधनीलाई प्रतिफल वितरण गर्ने हेतुले हकप्रद जारी गर्ने स्वीकृत गरिएको हो । अब यसलाई परिमार्जन गरिदैछ । हाइड्रोपावर कम्पनीले हकप्रद जारी गर्नेका लागि केही प्रावधान पुर्याउनु पर्ने छ । ऋण तिर्नकै लागि मात्र हकप्रद ल्याउन नपाइने गरी नीतिगत व्यवस्था गर्ने तयारीमा आयोग पुगेको धितालले जानकारी गराए ।

यता दोस्रो बजारको नियामक निकाय नेपाल धितोपत्रले कम्पनीले ल्याउने हकप्रद शेयर प्रति लगानीकर्ता स्वंयम पनि सचेत हुनपर्ने बताएको छ । सूचीकृत कम्पनीको नाफा नोक्सान वा केही कारण हेरेर हकप्रद स्वीकृत नगर्ने बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताए । कम्पनी सञ्चालक समितीको निर्णय भई वार्षिक साधारण सभाले पारित गरि विद्युत नियमन आयोगको अनुमति पछि बोर्डले स्वीकृत गर्ने हो । यसमा कम्पनीको सञ्चालक र लगानीकर्ताको निर्णयकाे आधारमा स्वीकृत गर्ने हो । बोर्डले कम्पनीको गतिविधी धेरथोर जानकारी राखे पनि हकप्रद के का लागि र कति पटक भन्नेकुरा खोजी नहुने घिमिरेले बताए । कम्पनीहरुले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकाको मापदण्ड पुरा गरेपछि हकप्रद बोर्डबाट स्वीकृत हुने घिमिरेले जानकारी गराए । संगठित संस्थाले एक आथिर्क वर्षमा एकपटक हकप्रद शेयर निष्काशन गर्न सक्नेलगायतका व्यवस्था निर्देशिकामा उल्लेख छ ।

कम्पनीले कस्तो उद्देश्य लिएर हकप्रद जारी गर्न खोज्दै छ भन्ने बिषय महत्त्वपूर्ण छ। यसमा कम्पनीका लगानीकर्ताले विश्लेषण गरेर लगानी गर्नुपर्ने पर्ने हुन्छ । कम्पनीको पूँजी वृद्धि हुनु राम्रो हो । थप व्यवसाय विस्तार र आयोजना निर्माण लागि पूँजी वृद्धि गर्नु नराम्रो होइन, तर कम्पनीको आम्दानी नभएकै कारण ऋण तिर्नको लागि हकप्रद जारी गर्न नहुने बुझाई छ ।

ऋण तिर्न भन्दै हकप्रदको घोषणा गरिनु लगानीकर्ताहरुको लागि अन्तरघात हो । आयोजना निर्माण गर्दै जाँदा ऋण र पूँजीको अनुपात मिलाउनसम्म स्वपूँजी लिनु ठिकै हो । तर सम्पूर्ण ऋण तिर्नु हकप्रद जारी भयो । एक पटकको जारी गरिएको हकप्रदले सम्पूर्ण कर्जा तिर्न अपर्याप्त भयो भन्दै पुनः हकप्रदकै तयारी गर्नु गलत भएको लगानीकर्ताहरुको भनाई छ । कम्पनीको आम्दानीले ऋण तिर्न सक्ने अवस्थामा छैन। झनै ऋण तिर्न मात्र पूँजी बढ्दा कम्पनीको आय भार बढेको छ । यसले केही सञ्चालकहरुको लागि हितमा छ । कम्पनीको ऋणलाई पूँजीकृत गर्दा कम्पनीको आम्दानी गर्ने क्षमतामा समेत ह्रास पुगेको जानकारहरुको बुझाई छ ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।