भदौ २३ र २४ गते जेनजी पुस्ताहरुको आन्दोलन र देशभर कर्फ्यू र निषेधाज्ञाका कारण वस्तु तथा सेवाको ढुवानी अवरद्ध हुन पुग्यो ।

अहिले पनि ढुवानीको अवस्था सहज हुन सकिरहेको भने छैन् । आन्दोलन सकिएसँगै बजारमा ग्यासलगायत दैनिक वस्तुहरुको अभाव हुन सक्ने भनेर सञ्चारमाध्यममा विभिन्न खबरहरु आए ।
त्यसले पनि आम उपभोक्तामा वस्तु अभाव हुन सक्ने र मूल्य बढ्ने त्रास उत्पन्न गराएको थियो । यद्यपी, आम उपभोक्तामा त्यो डर अहिलेसम्म पनि हट्न भने सकेको छैन् । बजारमा नकारात्मक हल्लाका कारण मूल्यवृद्धि हुने त्रास भएता पनि पछिल्लो पटक उपभोग्य वस्तुहरुको अभाव भने नभएको व्यापारीहरुको भनाइ छ ।
आन्दोलनपछि मुलुक सरकारविहीन हुँदा व्यापारीले मौका छोपेर कार्टेलिङ गर्न सक्छन् भन्ने हल्लाका कारण समस्या उत्पन्न भएको उपभोक्ताकर्मीहरु बताउँछन् । तर, बजारमा अत्यावश्यक वस्तुहरुको अभाव भने नरहेको उपभोक्ताकर्मी माधव तिमल्सिना बताउँछन् ।
उनका अनुसार, नयाँ सरकार गठन भए पनि सरकारी संयन्त्र र निकायले प्रभावकारी ढंगले काम गर्न नसक्ने अवस्थाका कारण चाडपर्वमा व्यापारीले मूल्यवृद्धि गर्न सक्ने जोखिम भने छ ।
भोलिका दिनमा राज्यका निकायले चुस्त रुपमा अनुगमन नगर्ने हो भने वस्तु तथा सेवाको मूल्य र गुणस्तरमा समस्या पर्ने उनको भनाइ छ । ‘सरकारविहीन अवस्थामा बजारमा नकारात्मक हल्ला फैलिए । तर, अत्यावश्यक वस्तुको त्यस्तो अभाव थिएन्,’ उनले भने, ‘नयाँ सरकार आए पनि भोलिका दिनमा राज्यका निकायले चुस्त दुरुस्त अनुगमन र निर्देशन दिन सकेनन् भने मूल्य र गुणस्तरमा समस्या नपर्ला भन्न सकिँदैन् ।’
यता सरकारले पनि वस्तु तथा सेवाको मूल्य र गुणस्तरमा समस्या आउन नदिन पहल गरिरहेको जनाएको छ । उद्योग मन्त्रालयलअन्तरगतकाे वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजारमा अत्यावश्यक वस्तुको अभाव नभएको जनाएको छ ।
आन्दोलनले देशभर ढुवानीमा असहजता भने निम्त्याएको विभागको भनाइ छ । पछिल्लो पटक ढुवानीको समस्या समाधान गर्न व्यापारीलाई निर्देशन दिएको विभागका निर्देशक भरतराज आचार्यले बताए ।
‘अहिलेको अत्यावश्यक वस्तुको अभाव भएको भनेर हल्ला गरिए पनि त्यस्तो अवस्था छैन’ उनले भने, ‘ढुवानीका कारण केही अप्ठ्यारो पारेकाले हामीले उद्योगी व्यापारीलाई ढुवानीमा सहजीकरण गर्न भनिसकेका छौं ।’
खान पकाउने एलपीजी ग्यासको ढुवानी सहज हुँदै गइरहेको नेपाल आयल निगमले जनाएको छ । चाडपर्वमा हुन सक्ने वस्तु तथा सेवाको मूल्य र गुणस्तर कायम गर्न पहल गरिरहेको विभागले जनाएको छ ।