कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँबराबरको १४ लाख ५२ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले १ लाख ४५ हजार २०० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यसैगरी, कम्पनीले ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ भने ४३ हजार ५६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ।
अब भने कम्पनीले दोस्रो चरणमा ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
आईपीओमा कसरी आवेदन दिने?
कम्पनीले भदौ ३० गतेदेखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि असोज १३ गतेसम्म लम्बिनेछ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता नबिल स्टक डिलर लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
कति कित्ता आवेदन दिने?
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार १ लाख १९ हजार ६४ जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। त्यसैले, लगानीकर्ताले १० कित्ताका लागि आवेदन दिनु उपयुक्त हुने देखिन्छ।
औषत जोखिम जनाउने रेटिङ्ग
साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमा नै पुरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
इन्फोमेरिक्सले कम्पनीलाई २०८२ साउन ८ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको वैद्यता २०८३ साउन ७ गतेसम्म रहनेछ।
कस्तो कम्पनी हो?
सागर डिष्टिलरी लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६९ साल कार्तिक २६ गते आफ्नो उद्देश्य बमोजिम देवचुली नगरपालिका वडा नं. १, नवलपुर जिल्लामा विभिन्न प्रकारका पेय पदार्थ उत्पादन तथा बिक्री वितरण गर्न प्राइभेट कम्पनीको रुपमा संस्थापना भएको थियो। सो कम्पनी २०८० साल जेठ ७ गते प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीको रुपमा परिणत भई कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०८० जेठ १९ गतेको कारोबार स्वीकति पश्चात सागर डिष्टिलरी लिमिटेडको नाममा पब्लिक कम्पनीका रुपमा कारोबार सञ्चालन गर्दै आइरहेको छ।
कम्पनीको कारोबार गर्ने स्थान मुख्य कम्पनीको कर्पाेरेट कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १, लालदरबार मार्ग, काठमाडौंमा रहेको छ। यस कम्पनीको उद्योग नवलपरासी जिल्ला, देवचुली नगरपालिका, वडा नं. १, केउरेनीमा रहेको छ।
कम्पनीले आन्तरिक राजश्व विभागबाट २०७८ कात्तिक १६ गते ललीपप गोल्ड नामक ७० यू.पि. शक्तिको मदिराको व्यवसायिक उत्पादन गर्नका लागि अनुमति प्राप्त भएपश्चात सो को उत्पादन गरी बिक्री वितरण गर्दै आइरहेको छ। त्यसैगरी, ललीपप सिल्भर, ललीपप लिची, ललीपप एप्पल, ललीपप लेमन, ललीपप अरेञ्ज, ललीपप सौफी, ललीपप ट्रिपल एक्स लगायतका ब्रान्डहरुको व्यवसायिक उत्पादन गर्नका लागि अनुमति प्राप्त भएपश्चात सो को उत्पादन गरी बिक्री वितरण गर्दै आइरहेको छ।
कम्पनीले ग्रे वुल्फ, रोयल ब्लु, बेरिज एण्ड ब्लुज लगायतका ब्रान्डहरु पनि व्यवसायिक उत्पादन गर्नका लागि अनुमति प्राप्त भएपश्चात सो को उत्पादन गरी विक्रि वितरण गर्दै आइरहेको छ।
कम्पनीले आन्तरिक राजश्व विभागबाट २०८० असार ११ गते नेप्से बुल्स नामक ब्रान्डको व्यवसायिक उत्पादन गर्नका लागि अनुमति प्राप्त भएपश्चात सो को उत्पादन गरी बिक्री वितरण गर्दै आइरहेको छ भने ललीपप पानरस को २०८० फागुन २० गते र २०८१ साउन १० गते द गभर्नर नामक ब्रान्डको व्यवसायिक उत्पादन गर्नका लागि अनुमति प्राप्त भएपश्चात सो को उत्पादन गरी बिक्री वितरण गर्दै आइरहेको छ।
साथै, यस कम्पनीले माल्ट एण्ड ग्रेन स्प्रीट उत्पादन गर्नका लागि उद्योग विभागबाट २०८१ पुस २४ गते कम्पनीको उद्योगको पूँजी र क्षमता वृद्धिका लागि अनुमति प्राप्त गरी परिमार्जित प्रारम्भिक वातावरणीय प्रतिवेदन समेत स्वीकृत भइसकेको छ। तर सो सञ्चालनका लागि अन्य आवश्यक प्रक्रियाहरु कम्पनीले पुरा गरिरहेको छ।
आईपीओ जारी गर्नुको उद्देश्य
कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार सञ्चालक समितिमा सर्वसाधारणको तर्फबाट समेत प्रतिनिधित्व गराउन कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैँयाको २० प्रतिशतले हुन आउने १४ लाख ५२ हजार कित्ता आईपीओ जारी गरेको हो। त्यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पूँजी संकलन गर्न र हाल गरिरहेको कारोबारको क्षेत्र विस्तार गरी सर्वसाधारण जनताहरुलाई समेत आफनो उद्देश्य अनुरुपकोे कार्य सम्पादन गर्नको लागि सर्वसाधारणहरुलाई सहभागी गराउन पनि कम्पनीले आईपीओ जारी गरेको हो।
कम्पनीले परियोजना निमार्ण गर्न बैंक तथा अन्यबाट लिएका ऋण भुक्तानी गरी, व्यवसाय बिस्तार गर्ने मुख्य उद्देश्यले आईपीओ जारी गरेको हो।
आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?
आईपीओ निष्काशनबाट संकलन भएको रकममध्ये माल्ट र अन्य ग्रेन स्प्रीट उत्पादन गर्ने नयाँ प्लान्ट सञ्चालन गर्न ९ करोड रुपैयाँ प्रयोग गर्नेछ भने ५ करोड ७ लाख रुपैयाँ हिमालयन बैंकबाट प्राप्त छोटो आवधिक कर्जा भुक्तानी गर्न प्रयोग गर्नेछ। बाँकी रहेको ४५ लाख रुपैयाँ भने कम्पनीले अन्य भुक्तानीका लागि प्रयोग गर्ने विवरणमा उल्लेख छ।

वित्तीय अवस्था
गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित नाफा २३ करोड ३४ लाख ८ हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ८७ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी ५९ पैसा रहेको छ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नाफा २३ करोड १३ लाख ९५ हजार रुपैयाँ थियो। सो अवधिसम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ५२ पैसा थियो भने प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७१ पैसा ऋणात्मक थियो।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको सञ्चित नाफा २४ करोड ८४ लाख ५९ हजार रुपैयाँ रहने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ५७ पैसा रहने प्रक्षेपण गरेको छ भने प्रतिशेयर आम्दानी २ रुपैयाँ ७ पैसा हुने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना
कम्पनीको नियमावलीको नियम २७ मा भएको व्यवस्था अनुसार ७ जना सञ्चालक सदस्य रहेको सञ्चालक समिति रहने व्यवस्था छ। जसमध्ये संस्थापक शेयरधनीहरुबाट निर्वाचित हुने ४ जना, स्वतन्त्र सञ्चालक १ जना र सर्वसाधारण शेयरधनीहरुबाट निर्वाचित हुने २ जना रहने व्यवस्था रहेको छ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा अल्का गोयल रहेका छन्। त्यस्तै, कम्पनीका अन्य सञ्चालकमा आशुतोष खेतान, राजीव प्रसाद प्याकुरेल र रतन कुमारी चौधरी रहेका छन्। कम्पनीको स्वतन्त्र सञ्चालक ज्योती दाहाल रहेका छन्।
भावी योजना तथा रणनीति
कम्पनीको भावी योजना अन्तर्गत कम्पनीले बिक्री प्रणालीको विकास र गुणस्तरलाई केन्द्रिकृत गर्ने योजना बनाएको छ। कम्पनीले प्रारम्भिक चरणमा मार्जिन आर्जन गर्ने भन्दा बिक्री परिमाणलाई वृद्धि गर्दै खरिद, स्रोत साधनको व्यवस्थापन र सञ्चालनको दक्षता सुधार गर्ने रणनीति तय गरेको छ।
साथै, ठूला वितरकहरूसँग सहकार्य गर्दै आपूर्ति सम्बन्धी चुनौतीहरूलाई समाधान गर्ने योजना रहेको छ। कम्पनीले आफ्ना उत्पादनहरूको गुणस्तर तथा प्याकेजिङलाई बजारको अपेक्षाभन्दा सधैं उत्कृष्ट कायम गरिराख्न आवश्यक सम्पूर्ण पहलहरु सुनिश्चित गर्ने रणनीति तय गरेको छ।
कम्पनीको दिगो योजना अन्तर्गत आफनो उत्पादनहरुको बिक्री परिमाणलाई वृद्धि गर्न बजारबाट उत्पादन प्रतिको विश्वासलाई वृद्धि गरी मार्जिन आर्जनलाई वृद्धि गर्दै लैजाने रणनीति कम्पनीको रहेको छ।
माल्टको हकमा कम्पनीले आर्थिक वर्ष २०८२/८३ भित्र माल्ट उत्पादन प्लान्ट सञ्चालन गर्ने लक्ष्य लिएको छ। कम्पनीले सो माल्ट स्प्रीट आफनो मदिरा उत्पादनमा उपयोग गर्ने तथा अन्य मदिरा कम्पनीहरुलाई बिक्री वितरण गर्ने उद्देश्य रहेको छ। कम्पनीबाट उत्पादित माल्ट आफनो उत्पादनमा उपयोग गर्दा कम्पनीले उत्पादन गर्ने मदिराजन्य वस्तुको लागतमा कमी आई मुनाफाको मार्जिनमा वृद्धि हुने लक्ष्य राखेको छ। साथै, सोही बमोजिम कम्पनीले प्रिमियम ब्रान्डका मदिराहरु उत्पादन गर्ने योजना बनाएको छ।
ओपनिङ्ग रेञ्ज कति?
आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि नेप्सेमा सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।
आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ५२ पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०६ रुपैयाँ ५२ पैसादेखि ३१९ रुपैयाँ ५६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।