वर्षैको लगानीले खडा भएको व्यवसाय एकै झड्कामा खरानी भयो । जसले गर्दा नेपालमा नै रहेका व्यवसायी गर्ने उद्यमी तथा लगानीकर्तामा निराशा भएका छन् । पुराना नेताहरूको दीर्घकालीन भ्रष्टाचार र जन असन्तोषको परिणम स्वरुप जेनजी आन्दोलनकाे जन्म भएकाे हाे । नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ग्रे–लिस्टमा पर्नुले अन्तर्राष्ट्रिय वित्तीय छवि कमजोर भएको प्रष्ट छ । तथापि राज्य सञ्चालकहरुबाटै अतुक भष्ट्राचार हुने र भष्ट्राचार संरक्षण भएको भन्दै युवा पुस्ताहरु आन्दोलित हुन बाध्य भएका हुन् ।
नेपालले समय काल खण्डमा यस्ता आन्दोलन र संकटको सामना गर्दै आएको छ । जसका कारण आर्थिक संकटबाट मुलुक जुझ्नु परेको छ । तर नेपालका पूँजीबजार भने विगतमा भएका कठिन समयमा बलियो भएको इतिहासले देखाएको छ । हामीले २०७२ को महाभूकम्प, त्यसपछिको भारतको नाकाबन्दी र कोभिड–१९ जस्ता संकटहरूले प्रारम्भिक झट्का दिए पनि अन्ततः शेयर बजार नै आशा र पुनरुत्थानको संकेत बनेको इतिहास साक्षी छ ।
संकट पछि उठेको बजार: महाभूकम्प र नाकाबन्दी (२०७२–२०७३)
२०७२ वैशाखमा गएको महाभूकम्प पछि शेयर बजार करिब १ महिना बन्द रह्यो । भूकम्प अघि वैशाख ९ गते ९४० अंकको हाराहारीमा रहेको थियो । त्यसपछि खुलेको नेप्से त्रासको कारण एक सातामै ८३० अंकसम्म झरेको थियो । तर केही महिनाभित्रै लगानीकर्ताले पुनः आत्मविश्वास पाउन थाले र सोही वर्षको भदौ २९ गते बजार १२०० अंकसम्म पुग्यो । भूकम्पको महामारीबाट उठ्ने तरखर गर्दै गर्दा भारतले नेपालमा गरेको नाकाबन्दीले देशमा अर्को आपत आइपर्यो । सोहि वर्ष असोजदेखि सुरु भएको भारतको नाकाबन्दीले आयात अवरुद्ध गर्दा पैसाजति शेयर बजारमा प्रवाहित भयो । नाकाबन्दी ६ महिनासम्म लम्बिए पनि बजार भने बढ्दै गयो र २०७३ साउन १२ गते नेप्सेले १८८१ अंकको ऐतिहासिक रेकर्ड बनायो ।
कोभिड–१९ र खुकुला नीतिहरू (२०७६–२०७८)
२०७६ चैतदेखि कोरोनाले विकराल रूप लिएपछि चैत ९ गतेदेखि नेप्से बन्द गरियो । त्यसपछि असार १५ गतेबाट मात्रै कारोबार सुरु भयो । त्यसबेला नेप्से परिसूचक करिब १२५० अंकमा थियो । सो अवधिमा प्रणालीमा थुप्रेकाे तरलता र त्यसलाई परिचालन गर्न केही नीतिगत सुधार गरेको पाइन्छ ।
राष्ट्र बैंक र सरकारले केही कडा नीतिहरू खुकुला बनाए । ब्याजदर घटाउने, ऋण सुविधा विस्तार गर्ने, व्यवसायलाई राहत दिने जस्ता सुबिधाले एक वर्षभित्रै बजारले नयाँ इतिहास बनायो । २०७८ भदौ २ गते नेप्से ३१९८ अंकमा बन्द भयो । जुन अहिलेसम्म कै उच्च अंक हो । कठिन समयपछि सन्तुलित र लचक नीतिलिँदा पूँजीबजारले आश्चर्यजनक वृद्धि गरेका यी ज्वलन्त उदाहरणहरु हामी सामु यसरी साक्षी भएर रहेका छन् ।
पूँजीबजार-सबैको आत्मविश्वासको पहिलो सूचक
अहिले भएको जेनजेीको आन्दोलनको कारणले देशको अर्थतन्त्र जटिल स्थितिमा छ । ब्यापारी व्यवसायी र लगानीकर्ताहरुको मनोबल गिरेको छ । यो सबै परिस्थितिलाई सम्हाल्नको लागि गर्नु पर्ने कुराहरु धेरै छन् । तर तत्काल गर्नुपर्ने कुरा भनेको उनीहरुको मनोबल बढाउनु पर्नेछ । पुननिर्माण र अर्थतन्त्रको सुधारहरु रातारात हुने कुरा पनि होइनन । तर शेयर बजार यस्तो ठाउँ पनि हो जसले सबै कुराको प्रतिक्रिया छिटो दिन्छ । यसले भविष्य देख्छ । अहिलेको लागि यहि हतियार चलाउनु पर्ने उत्तम बिकल्प हुनसक्छ । शेयर बजार मार्फत सबै व्यवसायी र लगानीकर्ताहरुमा यो सन्देश दिन जरुरी छ कि हामी बन्दै छौ र हालत यो भन्दा खराब हुने अब ठाउँ छैन । हामी पिँधमै बजारी सकेका छौं । अब उठ्ने माथि नै हो ।
बजारमा माग सिर्जना गर्न तत्काल गर्नुपर्ने कदमहरू
नेपालको शेयर बजारमा माग कमजोर भएको छ । लगानीकर्तामा अनिश्चितता र व्यवसायीहरूमा निराशा छ । यस्तो अवस्थामा तत्काल प्रभाव पार्ने, व्यवहारिक नीति संशोधनहरूले मात्र बजारलाई पुनर्जीवित गर्न सक्छन् । निम्न बुँदाहरूमा तत्काल कदम चाल्न जरुरी छ ।
१. तरलता र ऋण प्रवाह स्थिरता
बैंकमा पर्याप्त निक्षेप हुँदाहुँदै पनि ऋण विस्तार कमजोर छ । साना उद्योग, पर्यटन, कृषि र ऊर्जा क्षेत्रमा लक्षित ऋण सुविधा विस्तार गर्नुपर्छ । सरकारको पुँजीगत खर्च बढ्नु पर्छ । डिजिटल र पारदर्शी ऋण प्रणाली लागु गरेर ढिला सुस्ती घटाउनुपर्छ ।
अहिलेको आन्दोलनमा लुकाएर राखेका धेरै पैसा जलेको भन्ने छ त्यैसले आवश्यक परे नोटबन्दी जस्तो साहसी नीति अपनाएर काला पैसालाई औपचारिक वित्तीय प्रणालीमा ल्याउन सकिन्छ । तर यसबारे पूर्व तयारी र स्पष्ट सन्देश महत्त्व पूर्ण हुनेछ ।
२. मार्जिन लोनको सीमा हटाउने वा खुकुलो बनाउने
हाल लगानीकर्ताले मार्जिन लोन मार्फत लिन सक्ने ऋणको सीमा २५ करोड रुपैयाँ तोकिएको छ । यो सीमा वाणिज्य बैंकहरूको वित्तीय क्षमताको तुलनामा अनावश्यक रूपमा कडा छ र बजारको तरलता रोकिरहेको छ ।
साथै नेपाल राष्ट्र बैंकले सर्कुलर मार्फत यो सीमा तत्काल हटाउनु पर्छ वा कम्तीमा दोब्बर बनाउनु पर्छ । ताकि ठूला लगानीकर्ताले बजारमा पूँजी ल्याउन सकुन ।
३. बैंकको शेयर बजारमा लगानीमा खुकुलो नीति
वाणिज्य बैंकहरूले शेयर बजारमा गर्न पाउने लगानीलाई हाल कडा सीमा लगाइएको छ । नेपाल राष्ट्र बैंकको नियम अनुसार, वाणिज्य बैंकहरूले एक वर्ष बितेपछि आफ्नो लगानीको २० प्रतिशत सम्म शेयर बिक्री गर्न पाउँछन् ।
त्यसैगरी, यस्तो सीमाले बैंकहरूले बजारमा सक्रिय भूमिका खेल्न सक्दैनन् । बैंकहरूको प्राथमिक पूँजी अनुसारको लगानी सीमा बिस्तारै खुकुलो बनाउनुपर्छ, विशेष गरी बजार सुस्त हुँदा बैंकहरूको सहभागिता बढाउन अझै सहज हुन्छ ।
४. संस्थागत लगानीलाई प्रोत्साहन
संचय कोष, नेपाल टेलिकम, जस्ता ठूला सरकारी संस्थाहरुलाई बजारमा दीर्घकालीन लगानी गर्न प्रोत्साहन गर्नुपर्छ । संस्थागत लगानीकर्ताले स्थिरता ल्याउँछन् र साना लगानीकर्तालाई पनि आत्मविश्वास दिलाउँछ ।
साथै अहिले बैंकहरुको ब्याजदर कम भएको र अन्य लगानीको अवसर नरहेकोले ति थुप्रिएर बसेको पैसालाई बजारमा भित्राउन सक्नुपर्छ । कर छुट जस्ता प्रोत्साहन नीतिहरू ल्याएर यस्ता संस्थाहरूलाई आकर्षित गर्नुपर्छ ।
५. लाभकरमा देखिएको अन्योलता
लगानीकर्ताको मनोबल गिराउने प्रमुख कारण मध्ये एक हो-शेयर लाभ कर सम्बन्धी अन्योलता हो । शेयर बजारबाट सरकारले राम्रो पूँजीगत लाभकर संकलन गरेको छ । आर्थिक वर्ष २०८१-८२ मा शेयर बजारबाट सरकारले हालसम्मकै उच्च १६ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ पूँजीगत लाभकर आर्जन गरेको छ । जुन अघिल्लो बर्षको तुलनामा तीन गुणा बढी हो । शेयर बजारका लगानीकर्ताले शेयर कारोबार गरे वापत तिरेको पुँजीगत लाभकर नै अन्तिम कर हो भन्ने ऐनमा नै व्यवस्था गरिनु जरुरी छ । साथै, लाभकर सम्बन्धी नियमहरू बारम्बार परिवर्तन नगरी कम्तीमा ३–५ वर्षका लागि स्थिर नीतिको प्रतिबद्धता गर्नुपर्छ ।
६ . सकारात्मकताका लागि खुकुला नीतिहरू
बजारलाई सजीव राख्न केही कडा नीतिहरूलाई यो असाधारण परिस्थितिमा अस्थायी रूपमा भएपनि खुकुलो बनाउनु वा नयाँ कुराहरु दिनु जरुरी छ । ऋण अनुपात (लोन टु भ्यालु रेसियो) शेयरलाई धितो राखेर ऋण दिने अनुपातलाई केही समयका लागि बढाउनु पर्छ । त्यसैगरी, डिभिडेन्ड वितरण प्रतिबन्धः माइक्रोफाइनान्स वा वित्तीय संस्थाहरूका डिभिडेन्डमा रहेको कडाइलाई समीक्षा गरेर अझ लचकता दिनुपर्छ । र आईपीओ र एफपीओ: धितोपत्र बोर्डले अहिले तत्कालको लागि नयाँ कम्पनिहरुलाई बजार सूचीकरणमा कडाइ गर्नुपर्ने हुन्छ ।
आर्को १५ मिनेटको औसत गणनाः हालको अन्तिम १५ मिनेटको औसत गणना बिधि खारेज गर्ने र एक कारोबारमा २ प्रतिशतको घटबढको सीमालाई हटाइ १० प्रतिशतलाई मात्र खुल्ला गर्ने । जसले गर्दा अन्तिम मिनेटको चलखेल रोक्न सहायता पुग्नेछ ।
मार्जिन कारोबारः ब्रोकर मार्फत मार्जिन कारोबार सुबिधाको व्यवस्था गर्नुका साथै अन्य उपकरणहरुः नेप्से ३० लाई तुरुन्त कार्यान्वन गरि र अन्य उपकरणहरु जस्तोः सर्टसेल, इन्ट्राडेको लागि काम अगाडि बढाउने टड्कारो भइसकेको छ ।
परस्थितिर समय अनुकुल लिएका नीति, योजना र सकारात्मक सन्देशले पूँजी बजारमा गुमेको लगानीकर्ताहरुको आत्मविश्वास बढाउन सकिन्छ । हामीले यो देखिसक्यौ कि महाभूकम्प, नाकाबन्दी र कोभिड संकटपछि शेयर बजारले अपेक्षा भन्दा छिटो आत्मविश्वास फर्काएको छ । यो पुँजीबजार उकास्ने मात्र कुरा होइन, यो मार्फत समग्र अर्थतन्त्रलाई बचाउने अहिलेको एकमात्र उपाय हो । अहिलेको राजनीतिक–आर्थिक संकटमा पनि पूँजीबजारलाई प्राथमिकतामा राखेर लगानीकर्ता र व्यवसायीको मनोबल उठाउनु अति आवश्यक छ । सरकार सरोकारवालाहरु गम्भितापूर्वक लिएर तत्काल गर्न सकिन्छ ।
(लेखक ढुंगाना शेयर बजार बिश्लेषक हुन् )