पूर्वप्रधानन्याधिश शुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । कार्कीले शेयर बजारले रुचाएका व्यक्तिहरुलाई आफ्नो मन्त्रीपरिषदको सदस्यमा छनोट गरेकी छन् । शेयर बजारले प्रत्यक्ष सरोकार राख्ने अर्थमन्त्रालय र उर्जा मन्त्रालयमा शेयर बजारले रुचाएका व्यक्ति नियुक्त भएका छन् । कार्की नेतृत्वको सरकारमा अर्थमन्त्रीको रुपमा रामेश्वर खनाल र उर्जा मन्त्रीको रुपमा कुलमान घिसिङ नियुक्त भएका छन् । उनीहरुले सोमबार दिउसाे सपथ ग्रहण गरेर पदभार ग्रहण गरिसकेका छन् ।
शेयर बजारले रुचाएका व्यक्ति मन्त्रिपरिषदको सदस्य बन्दा शेयर बजारका लगानीकर्ताहरु उत्साहित भएका छन् । पूर्वअर्थ सचिव समेत रहेका अर्थमन्त्री खनाल मुलुकको आर्थिक गतिविधिसँग राम्रो जानकार हुनुका साथै शेयर बजार मैत्री भएको लगानीकर्ताहरुको तर्क छ । सोही कारण दोस्रो बजारका लगानीकर्ता उत्साहित भएका हुन । यद्यपि अर्थमन्त्रीको रुपमा नियुक्ति हुँदै गर्दा दोस्रो बजार बन्द भएकाले बजारले लगानीकर्ताको मनोभावना मापन गर्न भने सकेकाे छैन् ।
जेनजीको प्रदर्शनका कारण भदौ २४ गतेदेखि दोस्रो बजार बन्द छ । अर्थमन्त्री खनालको नियुक्तिलाई बजारले कसरी लिन्छ भन्ने कुरा हेर्नका लागि केहि समय पर्खनै पर्ने भएको छ । नेप्सेले असोज १ गते बुधबारदेखि बजार खुलाउने निणर्य गरेको भएतापनि सोहि दिन आन्दोलनमा शाहदत प्राप्त जेनजीको लागि शोक दिवस मनाउन सरकारले सार्वजनिक विदा घोषण गरेको छ । जसकारण शेयर बजार खुल्नको लागि थप एक दिन पछाडि धकेलिएको हो ।
यद्यपि दोस्रो बजारका लगानीकर्ताहरु खनालको नियुक्ति प्रति सकारात्मक भएका छन् । त्यसैले पनि बजार खुल्ने दिन गन्तिमा लगानीकर्ताहरु लागेका छन् । अब शेयर बजारले राम्रो निकास पाउने सम्भावना भएको शेयर बजारका विश्लेषक तथा काका केशव कोइरालाले बताए । नयाँ बनेको सरकारले बिचौलियाको दबाबमा परेर बजारमा आउने गरेको सप्लाईको परिपाटीको अन्त्य गर्नेछ । अहिलेको मन्त्रीमन्डलमा सम्बन्धित क्षेत्रका जानकारहरु छन् । त्यसले बजारको विकृतीहरु कम हुने र सुधार हुँदै जानेमा कोइरालाको विश्वास छ ।
अर्थमन्त्री खनाललाई शेयर बजार मैत्री किन पनि भनिन्छ भने उनले विगतका सरकारले आर्थिक सर्वेक्षका लागि पनि जिम्मेवारी दिने गरेको थियो । तत्कालिन सरकार मार्फत गठित उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोग २०८१ का सुझाव मार्फत सुस्ताएको अर्थतन्त्रलाई सुधार गर्दै चलायमान गराउनु पर्ने विषयमा आर्थिक सुधार सुझाव सरकारले बुझाएको थियो । तत्कालिन सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा समेत उक्त उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझावलाई नै प्रथामिकता दिएको उल्लेख गरेको छ । साथै खनाल लचक नीतिको पक्षधर भएकै कारण पनि शेयर बजार मैत्री भएको तर्क जानकारहरुको छ ।
पूँजी बजारले अर्थमन्त्रीमा कस्ता व्यक्तिले नियुक्त पाएको छ भन्ने धेरै महत्व राख्ने शेयर विश्लेषक सुवासचन्द्र ढुङ्गानाले बताए । नयाँ बनेको अन्तरिम सरकारका अर्थमन्त्री खनाल अर्थतन्त्रको सम्बन्धमा दुरदृष्टि भएका व्यक्ति हुन् । अर्थमन्त्रीले संक्रमणकालिन अवस्थामा नेपाल राष्ट्र बैंकसँगको समन्वयमा नीतिगत लचकता अपनाउनु पर्छ । बजारसँग सरोकार राख्ने अप्ठ्यारा नीतिगत व्यवस्थाहरुलाई फुकुवा गरी चलायमान गराउन सकियो भने पूँजी बजार सहित समग्र अर्थतन्त्र चलायमान हुने ढुङ्गानाको भनाई छ ।
त्यसैगरी, उर्जा मन्त्रीको कुलमान घिसिङ प्रति पनि दोस्रो बजारको अपेक्षा बढेको देखिन्छ । उज्यालो नेपालका नायकको संज्ञा पाएका घिसिङ जनप्रिय छन् । उनले प्रधिकरणको कार्यकारी निर्देशकको पदमा बाहल रहदा हाइड्रोपावर क्षेत्रमा धेरै सुधार गरेका छन । सोही कारण हाइड्रोपावर क्षेत्रको विकास र विस्तारमा काम गर्ने विश्वास लगानीकर्ताको भएकै कारण मन्त्री घिसिङ प्रति लगानीकर्ताहरु आशावादी भएका हुन ।