आन्दोलनपछि नष्ट भएका कागजातले ट्रक व्यवसायी संकटमा, सहजीकरण गर्न महासंघको आग्रह

Sep 16, 2025 01:32 PM merolagani



नेपाल ट्रक यातायात व्यवसायी महासंघले हालैको आन्दोलनका क्रममा व्यवसायीहरू थप समस्यामा परेको भन्दै सम्बन्धित निकायसँग सहजीकरण गर्न माग गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको पहलमा आज बसेको उच्चस्तरीय यातायात व्यवस्थापन समितिको बैठकमा महासंघले आफ्ना माग प्रस्तुत गरेको हो।

महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँका अनुसार आन्दोलनका क्रममा मुलुकभरका विभिन्न प्रहरी कार्यालय, सरकारी निकाय र यातायातसम्बन्धी संरचनामा आगजनी हुँदा ठूलो क्षति भएको छ।

ट्राफिक प्रहरीले कारबाहीका लागि नियन्त्रणमा लिएका सवारीसाधनका बिलबुक, रोड परमिट र जाँचपासलगायतका कागजात जलेर नष्ट भएको र त्यसले व्यवसायी थप समस्यामा परेको बताउँदै कागजात नष्ट भएर पीडित बनेका व्यवसायीलाई तुरुन्तै वैकल्पिक व्यवस्था मिलाउन पनि महासंघले माग गरेको छ ।

यता, प्रदर्शनकै क्रममा यातायात व्यवस्था विभागकै संरचना, इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा क्षति पुग्दा सूचना प्रविधिसम्बन्धी प्रणाली ठप्प बनेको विभागले जनाएको छ। यसले गर्दा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण र विद्युतीय सवारी दर्ता सेवा अवरुद्ध भएको विभागले स्पष्ट गरेको छ।

व्यवसायीलाई अनावश्यक दुःखकष्ट नदिन सातै प्रदेशका यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई आवश्यक सहजीकरण गर्न महासंघले जोड दिएको छ।

दसैँ नजिकिँदै गर्दा मालवाहक ट्रक सञ्चालनमा कुनै अवरोध नहोस् भनेर आवश्यक कदम चाल्न मन्त्रालयलाई आग्रह गरिएको महासंघका महासचिव बानियाँले जानकारी दिए।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।