नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले जेनजी आन्दोलनका कारण नेपालमा ट्राभलको ‘पिक सिजन’मा धेरै बुकिङ क्यान्सिल हुन थालेको बताए । ‘नेपालमा पर्यटक सिजनको मुखमा भएको घटनाले गर्दा बुकिङ क्यान्सिलेसन बढ्दैछ। ट्रेकिङमा अलिक कम क्यासिलेसन छ । कल्चरल र माइस टुरमा क्यासिलेसनको मात्रा एकदमै धेरै छ । करिब ४० प्रतिशतको हाराहारीमा बुकिङ रद्द भएको तथ्यांक छ।’–उनले भने ।

विभिन्न अपराधमा जेलमा परेका कैदी बन्दीहरु जेल तोडेर भागेको समाचार आएसँगै सुरक्षा कन्सर्न देखाएर धेरै बुकिङ रद्द हुन थालेको उनले बताए । ‘सरकारले सुरक्षाको अवस्थाबारे सम्बोधन गरेर विदेशमा प्रचार गरे भने बुकिङ क्यान्सिलेसनमा केही कमी आउँछ भन्ने आशा छ ।’–उनले भने । यता पर्यटकीय सिजनको मुखमा आन्दोलनका कारण बुकिङ क्यान्सिल भइरहेको छ भने फागुन २१ गते फेरि अर्को पर्यटकीय सिजनमै चुनाव घोषणा हुँदा यसले पनि पर्यटक आगमनमा समस्या आउन सक्ने उनले आँकलन गरे । यता अमेरिका, क्यानडासँगै बढी पर्यटक आउने भारतले समेत आफ्ना नागरिकलाई नेपाल अहिले यात्राको लागि असुरक्षित रहेको जनाउँदै अत्यावश्यक पर्दा बाहेक नेपाल नजान सुचित गरेको छ। यसले गर्दा केही समय नेपालको पर्यटनको आगमनमा असर पर्ने सम्भावना देखिएको छ।
भदौ २३ र २४ गते भएको विध्वंशात्मक आन्दोलनमा हिल्टन होटलसँगै केही होटलमा क्षति पुगेको समाचार बाहिर आए पनि पर्यटक सवार गाडी तोडफोड गर्ने लगायतका घटनाहरु भने भएको छैन । सामाजिक सञ्जालमा आएकै भिडियोहरुमा पनि ‘पर्यटक मात्र’ लेखिएको गाडीलाई आन्दोलनकारीले सुरक्षितसँग बाटोमा आवतजावतमा गर्न दिएको देख्न सकिन्थ्यो । हालै क्याथे प्यासिफिक नामक एयरलाइन्सले सेप्टेम्बर १५ देखि ३० तारिखसम्मको लागि उडान नै बन्द गरेको छ। क्याथेले हरेक दिन हङकङ–काठमाडौं–हङकङ रुटमा एउटा उडान गर्दै आएको थियो । स्रोतका अनुसार यो एयरलाइन्सबाट आउने पाहुनाहरु प्रायः हायात होटलमा बस्ने गर्दछन् । जेनजी आन्दोलनका कारण उक्त होटलमा क्षति पुगेपछि एयरलाइन्सले दुई हप्ताको लागि उडान बन्द गरेको हो।
जेन्जी आन्दोलनका कारण सरकारी भवन मात्रै होइन, निजी कार्यालय र घरहरुमा पनि असर गरेकाले नेपालबाट विदेश भ्रमण गर्न बुकिङ गरेकाहरुले पनि धमाधम बुकिङ रद्द गर्न थालेका छन् । नाट्टा अध्यक्ष थपलियाका अनुसार केही देशहरुले नेपाललाई पर्यटक भिसा दिन बन्द गरेकाले दशैं विदामा विदेश भ्रमण गर्न खोजेका पर्यटकलाई समेत असर गरेको छ।
‘दुबई भिजिट भिसाको इस्यु र जेनजी आन्दोलनले गर्दा धेरै बुकिङको क्यान्सिलेसन आएर हैरान छ ।’–रुप्से होलिडेजका प्रबन्ध सञ्चालक रमेश पराजुलीले भने । आन्दोलन अगाडिसम्म १ हजारको हाराहारीमा बुकिङ लिइसकेका पराजुली जेनजी आन्दोलन भएसँगै बुकिङ रद्द गर्नेको सख्या ह्वात्तै बढेको बताउँछन् ।
उनले दशैं बिदाको लागि भनेर करिब १ हजार जति नेपालीलाई विदेशका विभिन्न गन्तव्यमा जाने प्याकेज बेचेको थियो । आन्दोलनले निजी निवास जलेर बेघर भएकोलगायतका कारण देखाउँदै बुकिङ रद्द गर्ने क्रम बढेको उनले बताए । उनकाअनुसार दुबईले भिजिट भिसा नदिँदा ९० जना र नेपालको जेनजी आन्दोलन कारण करिब ९० जनाले बुकिङ क्यान्सिल गरेका छन् । आधिकारिक रुपमा दुबईले भिसा बन्द गरेको कुनै सूचना दिएको छैन तर सबै भिसा आवेदनलाई रिजेक्ट गर्न थालेको उनले बताए । उनका अनुसार दुबईले गत वर्षदेखि नै भिसा टाइट गर्न थालेको थियो तर कर्पोरेट ग्यारेन्टीमा भिसा निरन्तर दिइराखेको थियो । पछिल्लो केही दिनदेखि भने दुबईको भिसा ठप्पै छ भएको उनले बताए ।
गत वर्ष रुप्सेले साढे ४ सय जना नेपालीलाई दुबई घुमाएको थियो । यो वर्ष पनि झन्डै डेढ सय जनाको बुकिङ लिएको थियो । यो वर्ष हवाई भाडा महँगो भएका कारण डेढ सय जनाले मात्रै बुकिङ गरेका थिए । दुबईको हवाई भाडा महँगो भएपछि इन्डोनेसिया र भियतनाम केन्द्रित भएर प्रचार भएको थियो तर जेनजी आन्दोलनले गर्दा यसपटक आउट बाउन्ड इनबाउन्ड दुबैमा असर परेको उनले बताए । ‘मेरो व्यक्तिगत भन्दा पनि कर्पोरेट रुपमा जाने यात्रुहरु धेरै थिए । चौधरी समुह जस्तो कर्पोरेट क्लाइन्टहरु थिए । उसको कार्यालय र कारखानामै तोडफोड भएपछि बुकिङ रद्द धेरै भएको हो ।’–उनले भने ।