गत आर्थिक वर्षको पहिलो १ महिनामा ६५ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएका १६ विकास बैंकहरुले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ६९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। समीक्षा अवधिमा बैंकहरुको यस्तो मुनाफा ५.४६ प्रतिशत बढेको हो।
१६ विकास बैंकहरुमध्ये लुम्बिनी विकास बैंकको नाफा सर्वाधिक २०५.२३ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको साउन महिनामा ३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ११ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
मुक्तिनाथ विकास बैंकको नाफा सबैभन्दा बढी
विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंकको नाफा सबैभन्दा बढी रहेको छ। चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा बैंकले १५ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको नाफा रकमका आधारमा अन्य बैंकको तुलनामा बढी भएपनि, अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भने घटेको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा ७.२८ प्रतिशत घटेको हो।
५ विकास बैंक नोक्सानीमा
साउन मसान्तसम्ममा ५ विकास बैंकहरु भने नोक्सानीमा रहेका छन्। जसमध्ये एक्सेल डेभलपमेन्ट बैंकको नोक्सानी सबैभन्दा बढी १० करोड ४२ लाख रुपैयाँ रहेको छ। नोक्सानीमा रहेका अन्य बैंकहरु कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन्। गत आर्थिक वर्षको सोही अवधिसम्ममा ७ विकास बैंक नोक्सानीमा थिए।
गत आर्थिक वर्षको पहिलो १ महिनामा नोक्सानीमा रहेका मितेरी डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक, चालु आर्थिक वर्षको सोही अवधिमा नाफामा पुगेका छन्। तर, गत आर्थिक वर्षको साउन महिनासम्ममा नाफामा रहेका कर्पोरेट डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक भने चालु आर्थिक वर्षको सोही अवधिसम्ममा नोक्सानीमा पुगेका छन्।
