बिहीबार नेप्से परिसूचक १६०.३३ अंक घटेर २५११.९१ विन्दुमा झरेको छ भने ७२ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आजको बजारमा करिव ६ मिनेट मात्रै कारोबार भएको हो ।
मुलुकमा छोटो अवधिमा नै सत्ता परिवर्तन भएको छ । नयाँ बनेको अन्तरिम सरकारप्रति लगानीकर्ताहरु आशावादी भएको पाइन्छ । शेयर बजारसँग प्रत्यक्ष रुपमा सरोकार राख्ने अर्थमन्त्रालयमा अर्थतन्त्रीका रुपमा अर्थतन्त्रलाई नजिकबाट नियालेका पूर्वअर्थ सचिवको नियुक्ति भएको छ । जसकारण बजारका लगानीकर्ता डराउन नपर्ने लगानीकर्ताहरुको भनाइ छ । यद्यपि बिहीबारको बजारमा भएको नकारात्मक सर्किटले लगानीकर्ताहरु डराएको अवस्था छ ।
शेयर बजारमा यो बिहीबारको जस्तो ठूलो दबाब अबको बजारमा नपर्ने शेयर बजारका जानकार तथा ब्रोकर नम्बर ९० का प्रमुख कार्यकारी अधिकृत मनिष अर्यालले बताए । बजारमा सस्तो दरको ब्याजदर छ । प्रणालीमा पर्याप्त तरलता छ । भएको तरलता परिचालन गर्नका लागि नियामकहरुले सहज नीति ल्याउन पहल गरिरहेका छन्। यस पटक पनि त्यसको सम्भावना प्रचुर रहेको अर्यालको भनाई छ । शेयर बजारमा लगानी गर्न लगानीकर्ता डराउन पर्ने छैन । बरु केहि समयमा सुन जसरी अहिले रेकर्ड ब्रेक गरेर बढेको छ । त्यस्तै शेयर बजारमा पनि देख्न सकिने अर्यालको भनाइ छ ।