भौतिक क्षतिको कभर त बिमा बिमाले गर्छ तर मानसिक क्षति बेग्लै हुन्छ त्यसकाे क्षति के ले कभर गर्लाः सिएनआईका अध्यक्ष पाण्डेसँगकाे अन्तर्वार्ता

Sep 19, 2025 05:08 PM Merolagani



भदौ २३ र २४ गते भएकाे नयाँ युवा पुस्ता (जेनजी) को आन्दोलनले हिंसात्मक रुप लियाे । उक्त आन्दोलनमा परेका ७४ जनाले ज्यान गुमाए भने खर्बाैकाे भाैतिक सम्पत्तिकाे नाेक्सानी भयाे ।

 

आन्दोलनका कारण सरकार र निजी क्षेत्रले अहिलेसम्मकै ठूलाे नाेक्सानी व्यहाेर्नु पर्याे । यति धेरै आर्थिक नाेक्सानी भुकम्प र काेराेनाकाे समयमा पनि भएकाे थिएन् ।

भौतिक क्षतिको कभर त बिमा बिमाले गर्ला तर मानसिक क्षति बेग्लै हुन्छ त्यसकाे क्षति के ले कभर गर्ला ? अहिलेकाे यक्ष प्रश्न यही छ । जेनजी आन्दोलन, त्यसले पुर्याएकाे भाैतिक नाेक्सानी र अब निजी क्षेत्र कसरी माथि उठ्लालगायतका  बिषयमा केन्द्रित रहेर नेपाल उद्योग परिसंघ (सिएनआई) अध्यक्ष बीरेन्द्रराज पाण्डेसँग मेराेलगानीका उप सम्पादन सुवास निराैलाले गरेकाे अन्तर्वार्ताः 

जेनजी प्रदर्शनलाई तपाईको नजरबाट हेर्दा कस्तो देख्नुहुन्छ ?

सुरुवाती दिनमा युवा पुस्ताले जायज जस्तै सुशासन कायम होस्, अभिव्यक्ति स्वतन्त्रता होस् भन्ने लगातका माग राखेर उहाँहरुले सुरुवात गर्नु भयो। सुरुमा त त्यो ठिकै लागेको थियो। तर पछि त्यो क्रम बढ्दै गयो र उक्त प्रदर्शन हिंशामा परिणत भयो। जसले व्यापक जनधनको क्षति गर्‍यो। हामी सिएनआई (नेपाल उद्योग परिसंघ)को तर्फबाट त्यसमा साहदत्त प्राप्त गर्नु हुने सबै हाम्रा युवा मुटुहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ।

यो सबै हुँदा निजी क्षेत्र अहिले संशकित भएको छ। एकदमै धेरै क्षति भएको छ। निजी क्षेत्रको मात्रै जिडिपीको झण्डै पाँच प्रतिशत जति क्षति भएको अनुमान गरिएको छ। त्यो भनेको निक्कै धेरै ठूलो क्षति हो। फेरि यस पटक मात्रै होइन, हरेक आन्दोलनमा निजी क्षेत्र प्रताडित हुनु परिरहेको छ। त्यसले हामीलाई निक्कै मर्माहत तुल्याएको छ। यसले समग्र व्यवसायीक क्षेत्रको मनोबल निक्कै धेरै खस्किएको अवस्था छ। सुरक्षाको प्रत्याभूति, कानुनको परिपालना भन्ने कुरा चाहिँ कुनै पनि उद्यमशीलता प्रवर्द्धन गर्नको लागि पूर्व सर्त जस्तै नै हुन्छ। त्यसमा हामी निक्कै नराम्रो गरि चुकेको जस्तो लाग्छ। जे हुनु भइसकेको छ। अब हामीले पुरै निजी क्षेत्रलाई नै कसरी विश्वास दिलाउन सकिन्छ भनेर सरकार, समाज र जनताले एकदमै धेरै मेहनत गर्नु पर्छ जस्तो लाग्छ।

तपाईहरूको संस्थाले पनि आफ्नै ढङ्गले क्षतिको विवरण सङ्कलन गरिरहेको छ ?

हामीले हाम्रा सदस्यहरूलाई सर्भेका लागि प्रश्नावलीहरू पठाएका छौ। केही तथ्याङ्क आएका पनि छन्। केही आउने क्रममा छन्। हामीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा भएको क्षतिको विवरण माग गरेका छौं। सम्भवतः केही दिनमा सङ्कलन भइसक्छ होला। क्षतिको स्केल हेर्दा प्रारम्भिक चरणमा नै निक्कै ठूलो देखिएको छ। तत्कालै सम्बन्धित पक्ष भन्नुको अर्थ सरकारले वित्तीय र मौद्रिक सहायता गरेर अहिलेको घाउमा मल्हम लगाएर आश्वस्त पार्ने काम चाहिँ तुरुन्तै गर्नुपर्छ जस्तो लाग्छ।

भौतिक क्षतिमा बिमाले पनि केही हदसम्म कभर गर्छ। त्यस बाहेक पनि क्षति भएको अवस्था छ कि छैन ?

क्षति भनेको भौतिक मात्रै हुँदैन। मानसिक रुपमा भएको क्षतिलाई पनि हामीले हेर्नु पर्ने हुन्छ। भौतिक क्षतिलाई रिप्लेस गर्न सकिन्छ। चाहे अनुदान, साहयता, बिमा वा आफैले पनि। तर मानसिक रुपमा पुर्‍याएको क्षतिको असर चाहिँ निक्कै गहिरो हुन्छ। आउने दिनमा उसले काम गर्ने कि नगर्ने भन्ने सम्मको अवस्थामा पुर्याउछ।

भौतिक रुपमा भएको क्षतिको लागि बिमा छ। बिमाले निश्चित प्रतिशत कभर गर्छ। तर बिमाले मात्रै शत प्रतिशत सबै कभर गर्छ भन्ने हुँदैन। यसले सक्दैन पनि।

निरन्तर चलिरहेका व्यवसाय एकै पटक रोकिदा त्यसले पुर्‍याउने क्षति बेग्लै हुन्छ। सम्भावना र अवसरहरुमा क्षति भएका छन्। त्यसलाई पनि हामीले हेर्नु पर्ने हुन्छ।

तपाईले भौतिक भन्दा पनि मानसिक क्षति बढी छ भन्दै गर्दा अहिले व्यवसायीले कस्तो अनुभूति गरिरहेका छन् ?

आन्दोलन पछि हामीले लगातार छलफलहरू गरिरहेका छौ। हामीले आफ्नै सदस्यहरूसँग छलफल गर्‍यो। अरू संस्थाका प्रतिनिधिहरूसँग पनि छलफल भयो। ती सबै छलफलबाट के निष्कर्ष निकाल्न सकिन्छ भने अहिले मोरल एकदमै धेरै डाउन भएको अवस्था हो। सबैमा एउटै संशय छ। आउने दिनमा कसरी अघि लिएर जाने।

कुनै पनि व्यवसाय खडा गर्न निक्कै मेहनत परेको हुन्छ। एक पछि अर्को इट्टा थप्दै व्यवसाय माथि गएको हुन्छ। तर त्यतिका दिन खर्चिएर माथि लगेको व्यवसाय एकै दिनमा ढल्दा त्यसले पक्कै पनि व्यवसायीलाई विक्षिप्त पार्छ नै। जसले अहिले भोगे उनीहरूले मात्रै अनुभव गर्ने कुरा हो। तर नभोगेकाले पनि सहानुभूति त देखाएकै अवस्था हो।

अर्को तर्फ अब आउने दिनमा कसरी लगानी भित्र्याउने हो ? वैदेशिक लगानी कसरी आउँछ ? एक दुई वटा छलफलमा मैले नै सुने केही साथीहरूले मेरो जोइन्ट भेन्चर आउनै लागेको थियो। मेरो एफडिआइ फाइनल हुन लागेको थियो। अन्तिम मिटिङ हुन लागेको थियो। जसले नेपालमा लगानी गर्न खोजिरहेका थिए उनीहरू अहिले पछाडि सरेका छन्। यस्तो अवस्थामा हामी लगानी गर्न सक्दैनौ भन्ने कुरा आउन थालेका छन्।  

यस्तो कुरा भनेको निक्कै दुर्भाग्यको कुरा हो। त्यसै त हाम्रोमा वैदेशिक लगानी एकदमै कम आउँछ। साउथ एसियामा नै निक्कै थोरै वैदेशिक लगानी आउने देशमा नेपाल पर्छ। त्यसै त लगानी कम आइरहेको अवस्थामा यो घटनाले झन् समस्या थपेको छ।

प्रदर्शन पछि एक पछि अर्को व्यवसायीले हामी फेरि शून्यबाट उठ्छौ भन्ने खालका अभिव्यक्ति सार्वजनिक गरिरहेका छन्। त्यसलाई कसरी लिन सकिन्छ ?

निजी क्षेत्र, उद्यमशील समुदाय भनेकै सम्भावना देख्ने, जहा समस्या छ। त्यहाँ समाधान यो हुन सक्छ भनेर समाधान दिएर नै उसले आफ्नो उपस्थिति, प्रोफिट्याबिलिटी देखेर आउने समुदाय हो। हामी जहिले पनि अप्टिमिस्टिक सोच्छौ। एकदमै सकारात्मक सोच्छौ। त्यही कारण धेरै साथीहरूले आफूलाई त्यस्तो पीडा पर्दा पनि बाहिर राम्रो सन्देश दिन खोजिरहनु भएको छ। उक्त प्रयासले राम्रो सन्देश प्रवाह गरिरहेको छ। यसले प्राइभेट सेक्टरको स्प्रिडलाई प्रिजेन्ट पनि गर्छ। त्यही भएर सरकार समाजले त्यसलाई सपोर्ट गर्नु पर्‍यो नि।

हाम्रो समाजमा एकदमै नराम्रो न्यारेटिभ छ। जो सफल भयो, जसले राम्रो आर्जन गर्‍यो, जसले कर तिरेको छ, आम सर्वसाधारणलाई रोजगारी दिएको छ, त्यो भनेको त सेलिब्रेट गर्न लायकको व्यक्ति हो, संस्था हो या एक्टिभिटि हो नी। उसले तिरेको करबाट सरकार चल्छ। विकास निर्माणमा खर्च हुन्छ। त्यस्तो व्यक्तिलाई जहिले पनि हामीले प्रमोट गर्नु पर्छ। तर त्यसो गर्नुको सट्टा यसले धेरै कमायो, यसले यसो गर्‍यो, उसो गर्‍यो भनेर नेगेटिभ देख्ने चलन छ। त्यसले गर्दा त्यसमा नेगेटिभिटी देख्ने भन्दा पनि त्यसलाई प्रोत्साहन गर्ने समाज बनाउन तर्फ हामी उन्मुख हुनुपर्छ। जति सम्पत्ति बढ्दै जान्छ त्यति नै वितरण पनि हुँदै जान्छ। त्यसले अरूलाई पनि माथि तान्छ।

प्रदर्शन पछि भर्खरै नियुक्त हुनुभएका अर्थमन्त्रीसँग पनि तपाईहरूले छलफल गर्नु भयो। के भन्नु भयो अर्थमन्त्रीले ?

उहाँ विगतमा पनि पूर्व कुशल प्रशासकको रुपमा परिचित हुनुहुन्छ। आर्थिक सुधार सुझाव आयोगको सदस्य भएर उहाँले काम पनि गर्नु भयो। फेरि उहाँको आयोगमा निजी क्षेत्रको पनि सहभागिता थियो। हाम्रो पूर्वअध्यक्ष पनि त्यसमा हुनुहुन्थ्यो। उक्त सुझावमा हामीले दिएका धेरै सुझावहरू समेटिएका छन्। त्यसकारण मुलुकको आर्थिक अवस्था के छ भनेर हामीले भनिरहनु पर्ने अवस्था छैन। उहाँले आफैले नै धेरै कुरा बुझ्नु भएको छ। त्यसैले उहाँले आफ्नै अग्रसरतामा निजी क्षेत्रका प्रतिनिधिहरूलाई बोलाएर भेट्नु भयो। तपाईँहरूका समस्या के छन् भनेर सोध्नु भयो। त्यही अनुसार निर्णय पनि गर्दै जानु भएको छ। तत्कालै चाँहि हामीले शान्ति सुरक्षाको प्रत्याभूति हुनु पर्‍यो भन्ने माग राख्यौ। त्यसका साथै मौद्रिक तर्फबाट के सहयोग गर्न सकिन्छ त्यो गर्न भन्यौ। जति सक्दो चाँडो राहत वा भनौँ मलम लगाउने काम हुनु पर्‍यो भन्ने माग राख्यौ। उठ्ने त व्यवसायीले भनिरहेका नै छन्। तर उठ्नको लागि पनि सहयोगी वातावरण बनाइदिनु पर्ने हुन्छ। सहानुभूति त सबैको छदै छ। तर सरकारका तर्फबाट पनि केही आउनु पर्‍यो भन्ने हो। त्यसमा उहाँहरु सकारात्मक नै देखिनुभएको छ।

 अब कसरी फेरि उठ्ने ?

अहिलेको हिसाबले बिग च्यालेन्ज हो। फिसकल स्टुमुलस दिन सरकारलाई अहिले गाह्राे छ। किनकि अतिरिक्त आर्थिक भार थपिएको छ। निर्माणको काम गर्नु पर्नेछ। त्यसमा सहयोग त आउँछ होला। स्वदेशबाटै सहयोगको सुरुवात भइसकेको छ। हाम्रो अन्तर्राष्ट्रिय समुदाय पनि नेपाल प्रति चासो राख्ने नै समुदाय छ। हाम्रा विदेशमा भएका साथीहरूसँ कुरा गर्दा पनि पारदर्शी सरकार भयो भने हामी आर्थिक सहयोग गर्न सक्छौ भनेका छन्। अलिकति बढी नै खर्च गर्ने अवस्था भयो भने त्यसले अर्थतन्त्रलाई चलायमान बनाउन थाल्छ। बिस्तारै अरू एक्टिभिटी पनि बढ्दै जान्छ। हामी माथि जानुको विकल्प छैन। हामी बिस्तारै उठ्छौ भन्ने नै छ।