धितोपत्र बोर्डकाे काम चौथो दिन पनि ठप्प, नेप्सेमा प्रमुखको कार्यकक्षमा अझै चाबी, दशैं अघि माग सम्बोधन नहुने

Sep 26, 2025 05:40 PM merolagani



सुवास निरौला    

नेपाल धितोपत्र बोर्ड(सेबोन)का कर्मचारीले पेन डाउन गरेर सबै काम ठप्प पारेको शुक्रबार चौथो दिन हो। शुक्रबार पनि बोर्डका कर्मचारीले पेन डाउन गरेर सबै काम ठप्प पारे।

यता नेपाल स्टक एक्सचेन्ज(नेप्से)का कर्मचारीले गएको मङ्गलबार देखि आन्दोलन गरिरहेका छन्। नेप्सेका कर्मचारीले मङ्गलबार अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई मध्यरातसम्म कार्यकक्षमा नै थुनेका थिए। मध्यरातमा नेपाल प्रहरीले दुबैलाई रेस्क्यु गरेको थियो। त्यस पछि प्रमुख कार्यकारी अधिकृत र अध्यक्ष दुवै शुक्रबारसम्म कार्यालय गएका छैनन्। उता कर्मचारीले भने गएको बुधबार देखि प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा ताल्चा लगाइदिएका छन्। जुन ताल्चा शुक्रबारसम्म नै खोलिएको छैन। कर्मचारीले भने विरोध स्वरूप कालो पट्टि बाँधेर काम गरिरहेका छन्।

मङ्गलबार प्रमुखहरूलाई थुन्दासम्म कर्मचारीको माग पाँच प्रतिशत बोनस पाउनु पर्छ भन्ने थियो। तर बुधबार कर्मचारीको आन्दोलन अचानक परिवर्तन भयो। नेप्से कर्मचारीको आन्दोलन बतासिएको छ। जसले गर्दा सम्पूर्ण कर्मचारी नै विभाजित हुन पुगेका छन्। एकथरि कर्मचारी बोनसको माग हराएको प्रति चिन्तित छन्। जुन उद्देश्य अनुरूप सङ्घर्षको सुरुवात भएको थियो। त्यो उद्देश्य नै बतासिएपछि कर्मचारीहरू नै विभाजित हुन पुगेका हुन्। सोही कारण केही कर्मचारीले कालो पट्टि बाधेका छन् भने केहीले बाधेका छैनन्। जसले गर्दा अहिलेसम्म नेप्से कर्मचारीको मागलाई कसैले पनि गम्भीरतापूर्वक लिएका छैनन्। दशैंपछि भने प्रहरीको सहयोगमा कार्यकक्षमा लगाइएको ताला खुलाउने योजना नेप्से सञ्चालक समितिको छ। त्यस विषयमा अर्थ मन्त्रालयसँग कुरा भइरहेको नेप्सेका एक सञ्चालकले बताए।

यता धितोपत्र बोर्डमा पेन डाउन सुरु भए देखि नै बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ कार्यालय गएका छैनन्। उनी अर्थ मन्त्रालयले गठन गरेको पूँजी बजार सुधार कार्यदलले प्रतिवेदन बुझाउने समयमा भने उपस्थित थिए। सन्तोषनारायण कार्यालय नै नआएको विषयलाई लिएर बोर्ड कर्मचारी रिसाएका छन्। यसैगरी कार्यालय नआए दशैं पछि कडा आन्दोलन गर्ने तयारीमा बोर्डका कर्मचारी देखिएका छन्।

बोर्डको सञ्चालक समितिले पनि त्यस विषयमा गम्भीरता देखाएको छैन। जबकि कर्मचारीहरूले सञ्चालकलाई समेत उक्त आन्दोलनको जानकारी पत्र मार्फत दिएको बताएका छन्। अध्यक्षले नै बोर्ड बैठक नबोलाएका कारण आफूहरूलाई त्यस विषयमा पूर्ण जानकारी नरहेको एक बोर्ड सञ्चालकले बताए।

बोर्ड र नेप्सेका सञ्चालक समिति नै दुवै आन्दोलन प्रति गम्भीर नदेखिएका कारण उनीहरूको आन्दोलनले दशैं अघि निकास पाउने देखिँदैन। सञ्चालक समितिले नै कुनै पहल नगरेको अवस्थामा तालुकदार निकाय अर्थ मन्त्रालयले पनि त्यस विषयलाई गम्भीरतापूर्वक लिएको छैन। जबकि दुवै निकायका कर्मचारीको माग अर्थ मन्त्रालय लक्षित छ।

नेप्सेका कर्मचारीले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको राजीनामा माग गरिरहेका छन् भने उता धितोपत्र बोर्डका कर्मचारीले अर्थले दिएको निर्देशन फिर्ता हुनु पर्ने माग गरिरहेका छन्। दुवैको माग अर्थ मन्त्रालयले नै पुरा गर्न सक्छ।

दुबैका सञ्चालक समितिका पदाधिकारी र व्यवस्थापन तहका उच्च अधिकारी कार्यालय नजाने र वार्ता मार्फत सुल्झाउने प्रयासमा समेत नलाग्दा दुवै निकायको आन्दोलन कति समय लम्बिने एकिन छैन। तर दुवै तर्फ कर्मचारीले आन्दोलन गर्दा पूँजी बजारको काम भने प्रभावित हुँदै आएको छ।