१५ मिनेटको औसत भारित मूल्य नीति परिवर्तनसँगै कारोबार समयको अन्तिम मिनेटमा न्वारानदेखिको बल लगाएर केही कम्पनीहरुको मूल्य बढाउने कसरत शुरु भएको छ । विशेषगरी वित्तीय रुपमा कमजोर र कम चुक्ता पुँजी भएका कम्पनीहरुलाई अपरेटरहरुले अन्तिम मिनेटमा मूल्य उचालेर माथिल्लो मूल्यमा राख्ने प्रयास गर्ने गर्दछन् । विगत एक हप्ताको अन्तिम मिनेटको कारोबार हेर्दा सिटी होटल, कालिका पावरलगायतका केही कम्पनीहरुमा विगतमा जस्तै अन्तिम समयमा मात्रै मूल्य बढाउने परिपाटीले निरन्तरता पाएको देख्न सकिन्छ । अन्तिम १५ मिनेटको भारित औसत मूल्य हट्नु अघि र हटेपछि बढेका १० कम्पनीहरुको सूची यहाँ प्रस्तुत गर्न खोजिएको छ।
अन्तिम मूल्यमा नितिगत परिवर्तन भएर अन्तिम कारोबारको मूल्य नै अन्तिम मूल्य भएपछि १० वटा कम्पनीको मूल्य ९ देखि अधिकतम ३१.५३ प्रतिशत सम्म बढेको देखिएको छ । सबैभन्दा धेरै बढेको हिमस्टार ऊर्जा कम्पनी लिमिटेड हालै नयाँ आइपीओ भएको भएर ३१ दशमलब ५३ प्रतिशतले बढेको देखिएको छ जुन कम्पनीको आइतबारदेखि मात्रै सप्लाई आएर केही मूल्य घटेर कारोबार हुन थालेको छ । माथिल्ला मैलुङ खोला जलविद्य्त, भिजन लुम्बिनी ऊर्जा कम्पनी, छ्याङदी हाइड्रोपावर, सप्ताकोशी डेभलपमेन्ट बैंक, कालिका पावर, गुराँस लघुवित्त, जोशी हाइड्रोपावर, युनियन हाइड्रोपावर र ग्रीनलाइफ हाइड्रोपिावरको शेयर ९ देखि १७ प्रतिशतसम्म बढेको छ ।
तथ्यांक अनुसार माथिल्लो मैलुङ खोला जलविद्युत भारित औसत मूल्य लागू हुँदा ५ सय ७६० रुपैयाँ ३६ पैसा रहेकोमा सो नियम खारेज भइसकेपछि भने १७ दशमलब ५२ प्रतिशतले बढेर ६ सय ७० रुपैयाँ ३० पैसा कायम भएको छ । त्यस्तै भिजन लुम्बनीको शेयर ५ सय ३० रुपैयाँ ७२ पैसाबाट ६ सय ५ रुपैयाँ पुगेकाे छ भने छ्याङदी हाइड्रोपावार २ सय ४१ रुपैयाँ १३.२३प्रतिशतले बढेर २ सय ७२ रुपैयाँ पुगेको छ ।
प्रायः अपरेटरहरुले न्यून चुक्ता पुँजीका हाइड्रोपावरसँगै विकास बैंक र फाइनान्स कम्पनीहरुको शेयर मूल्य उचाल्ने गरेका छन् । विगतमा पनि विकास बैंक र फाइनान्स कम्पनीको शेयर मूल्य १ हजारभन्दा माथि पुर्याइएको थियो । सप्तकोशी डेभलपमेन्ट बकैंक ७ सय ६९ रुपैयाँ रहेकामा भारित औसत मूल्यको नियम हटेपछि कम्पनीको शेयरमूल्य १२ प्रतिशतले बढेर ८ सय ५२ रुपैयाँ पुगेको छ। कालिका पावर ५ सय ४६ रुपैयाँबाट बढेर ६ सय २ रुपैयाँ, गुराँस लघुवित्त २ हजार ३८ रुपैयाँबाट बढेर २२ सय ४३ रुपैयाँ, जोशी हाइड्रोपावर २ सय ८७ रुपैयाँबाट बढेर ३ सय १५ रुपैयाँ, युनियन हाइड्रोपावर ४ सय ५१ रुपैयाँबाट बढेर ४ सय ९५ रुपैयाँ र ग्रिनलाइफ हाइड्रोपावर २ सय ५३ रुपैयाँबाट बढेर २ सय ७६ रुपैयाँमा कारोबार भएको छ ।
सिक्लेस हाइड्रोपावर, सामुदायिक लघुवित्त,माछापुच्छ्रे बैंक,पञ्चकन्या माइ हाइड्रोपावर,उन्नति सहकार्य लघुवित्त,नेसनल लघुवित्त, समाज लघुवित्त, घोराही सिमेन्ट, लुम्बिनी विकास बैंक र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड लगायतका कम्पनीहरुको शेयर मूल्य भने १ देखि ८ प्रतिशतसम्म घटेको छ ।