साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यस दिन नेप्सेले कामना सेवाको १० प्रतिशत र यूनिभर्सल पावरको ९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।
समायोजनपश्चात कायम सेवा विकास बैंकको शेयरमूल्य ४७७ रुपैयाँ ७३ पैसा कायम भएको छ भने यूनिभर्सल पावरको ३८० रुपैयाँ २८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा कामनाको शेयर प्रतिकित्ता ५२५ रुपैयाँ ५० पैसा र यूनिभर्सलको ४१४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।
कामना सेवा विकास बैंक (KSBBL) ले असोज २४ गते, शुक्रबार, लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, काठमाडौँमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारणको तर्फबाट ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
त्यस्तै, यूनिभर्सल पावर कम्पनी (UPCL) ले असोज २३ गते, बिहीबार, दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यू, तीखेदेवल, ललितपुरमा साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४७३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले बोनस शेयर वितरणपश्चात शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।