लगानीकाे वातावरण नेपालमा मात्रै नभएकाे हाेइन्, विश्वभर त्यस्तै छ, बेलायती अर्बपति स्टोरोन्स्कीको पलायनले संसारभर 'खैलाबैला'

Oct 14, 2025 10:53 AM mero lagani



‘नेपालमा लगानीको वातावरण नै छैन’ यस्तो कुरा खासगरि उद्यमी व्यवसायीहरुले गर्ने गरेको पाइन्छ ।

तर, लगानीको लागि उपयुक्त वातावरण नेपालमा मात्र होइन, विकसित देशमा पनि ‘उस्तै उस्तै’ हो भन्ने कुरा हालै बेलायतका एक अर्बपति व्यवसायी देशबाटै पलायन भएको घटनाले स्पष्ट पारेको छ ।

केही वर्षयता बेलायतबाट उद्यमीहरु स्थायीरुपमै विदेशिने क्रम बढिरहेको चर्चा चलिरहेकै बेला अर्बपति उद्यमी निक स्टोरोन्स्की युएई पलायन भएका छन् । यो घटनाले बेलायतमा मात्र नभएर विश्वभरकै ‘अर्बपतिहरुको संसार’मा चर्चा पाएको छ । 

बेलायतको डिजिटल बैंकिङ एप रेभोलुटका सह संस्थापक तथा सिईओ स्टोरोन्स्कीले बेलायतमा लगानीको वातावरण नभएको भन्दै आफ्नो आधिकारिक निवास बेलायतबाट युएईमा सारेका छन् ।

साथै आफ्नो कम्पनीका लगानीहरुलाई पनि वृहतरुपमा स्थानान्तरण गरिरहेका छन् । उनी बेलायतमा केवल एउटा घर मात्र राखेर अरु सबै सम्पत्ति विक्री गर्ने तयारीमा रहेको र त्यहीअनुसार आफ्नो लगानीलाई क्रमिकरुपमा युएई सारिरहेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

४१ वर्षीय निक स्टोरोन्स्की रसियन मुलका बेलायती उद्यमी हुन्, जस्ले २६ वर्षको उमेरमा सन् २०१५ मा रेभोलुट स्थापना गरेका थिए । उक्त कम्पनीको कूल बजारमूल्य ७५ अर्ब डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ ।

स्टोरोन्स्की बेलायत सरकारको लगानी नीति, धितोपत्र नीति र आप्रवासन नीतिका आलोचक रहँदै आएका थिए । त्यहीकारण उनले देश छोड्नु पर्ने परिस्थिति सृजना भएको विश्लेषकहरुको भनाइ छ । उनले गत वर्ष बेलायतको स्टक बजारमा लगानी गर्नु तर्कसंगत काम नभएको भन्दै आफू पछुताएको बताएका थिए । उनले बेलायतमा उद्यम व्यवसाय गरेर प्रगति गर्न खोज्नु नै मुर्खतापूर्ण हुने दावी पनि गरेका थिए ।

 

स्मरण रहोस् बेलायतबाट उद्यमीहरु पलायन हुने क्रम विगतका वर्षहरुदेखि नै चलिरहेको छ । सरकारको आलोचना गर्ने उद्यमीहरुलाई कर प्रशासनलगायतका सरकारी कार्यालयहरुको निशानामा पारिने र उनीहरुलाई विभिन्नरुपमा काम गर्न असहयोग गर्ने गरिएको गुनासो गरिदैं आएको छ । ब्लूमबर्गका अनुसार गत वर्ष करिब ४,४०० बेलायती नागरिकले देश छोडेर विदेशमा बसोवास गर्ने अनुमति माग गर्दै निवेदन दिएका थिए । त्यसमध्ये अधिकांश व्यक्तिहरु व्यापार व्यवसायमा संलग्न रहेको ब्लूमबर्गले उल्लेख गरेको छ ।

दुईवर्ष यता क्रिश्चियन एन्गरमेयर, एस्टन भिल्लाका मालिक नासिफ सविरिस र शिपिंग टाइकुन जोन फ्रेड्रिक्सन लगायत धेरै प्रमुख अर्बपतिहरूले बेलायत छोडेर संयुक्त अरब इमिरेट्स (युएई) गएका छन्।

देश छोड्ने बेलायती उद्यमी व्यवसायीको पहिलो रोजाई युएई बनिरहेको छ । त्यसपछि क्रमशः अमेरिका, इटाली र स्विट्जरल्याण्ड जस्ता देशहरू धनी व्यक्तिहरूका लागि बढ्दो रूपमा आकर्षक साबित भइरहेका छन्, किनकि यी देशहरूमा तुलनात्मक रूपमा सरल कर नियमहरू छन् र राम्रो लगानी अवसरहरू प्रदान गर्छन्।