राष्ट्र बैंकको भदौ महिनाको रिपोर्टअनुसार भदौ महिनामा मात्रै मार्जिन प्रकृतिको कर्जा झण्डै पाँच अर्ब गएको छ। भदौमा मात्रै चार अर्ब ९० करोड ६९ लाख रुपैयाँ मार्जिन प्रकृतिको कर्जा गएको छ। राष्ट्र बैंककाअनुसार भदौसम्म कुल एक खर्ब ४५ अर्ब ६० करोड रुपैयाँ मार्जिन प्रकृतिको कर्जा भएको छ। जुन गत साउनको तुलनामा ३.५ प्रतिशत बढी हो। गत साउनसम्म यस्तो प्रकृतिको कर्जा एक खर्ब ४० अर्ब ७० करोड रुपैयाँ प्रवाह भएको थियो।

हरेक महिना मार्जिन प्रकृतिको कर्जा बढेको बढ्यै छ। राष्ट्र बैंकले शेयर धितो कर्जाको लागि नीतिगत सहजता गरेसँगै शेयर धितो कर्जा लगातार बढिरहेको छ। पछिल्लो समय मात्रै राष्ट्र बैंकले शेयर धितो कर्जाको जोखिम भार (रिस्क वेट ) १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत गर्यो। १५ करोड सीमा बढाएर २५ करोड पुर्याइयो। अहिले आएर त्यसले पनि नभएर ऋणको सम्पूर्ण सीमा नै खारेज गरिएको छ।
अझै बैंक वित्तीय संस्थाले गर्ने शेयर लगानीलाई खुकुलो बनाइएको छ। पहिले बैकहरुले किनेको शेयर एक वर्ष होल्ड गर्नु पर्थ्यो। अहिले त्यसलाई घटाएर ६ महिनामा झारिएको छ। पहिले लगानी गरेको मध्येबाट बर्षदिनमा २० प्रतिशत मात्रै बिक्री गर्न पाउने व्यवस्था थियो। अहिले त्यसलाई खारेज गरिएको छ। ऋण दर निर्धारण गर्ने नीतिहरू हल्का रुपमा घटाइएको छ। जसले बजारमा तरलता बढाएको छ। ब्याजदर सस्तो छ। तरलता व्यापक छ। जसले गर्दा शेयर धितो कर्जा बढ्दै गइरहेको हो।
भदौको रिपोर्टअनुसार ५० लाख रुपैयाँदेखि एक करोड रुपैयाँ भन्दा बढीको ऋण सबैभन्दा धेरै बढेको छ। केन्द्रीय बैंकले संस्थागत लगानीकर्तालाई ऋणको सीमा खारेज गरिदिएपछि यस्तो ऋण बढेको हो। भदौमा ५० लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको ऋण ११.७ प्रतिशतले बढेको छ। दोस्रोमा एक करोड भन्दा बढी ऋणको ग्रोथ बढेको छ। भदौमा एक करोड भन्दा बढी ऋण ३.४ प्रतिशतले बढेको छ। २५ लाख रुपैयाँ देखि ५० लाख रुपैयाँ र २५ लाख रुपैयाँ भन्दा कमको ऋणको ग्रोथ भने घटेको छ। २५ लाख रुपैयाँ देखि ५० लाख रुपैयाँसम्मको ऋण १.७ प्रतिशतले घटेको छ भने २५ लाख भन्दा मुनिको ऋण ०.८ प्रतिशतले घटेको छ।

शेयर धितोमा जाने ऋण हरेक महिना बढ्दै गइरहेको भएपनि र राष्ट्र बैंकले नीतिगत लचकता अपनाउँदै गएपनि शेयर बजारलाई भने त्यसले केही फरक पारिरहेको छैन। नेपाल स्टक एक्सचेन्जले प्रकाशित गरेको मासिक विवरण अनुसार गएको भदौमा मात्रै शेयर बजारको कारोबार मापक सूचक ४.१६ प्रतिशतले घट्यो। साउनमा पनि सूचक ०.२३ प्रतिशतले घटेको थियो। असोज लागे यता पनि शेयर बजार लगातार घट्दो क्रममा नै देखिएको छ।
हरेक महिना शेयर धितो कर्जा बढ्दै गइरहेको भएपनि शेयर धितो कर्जा भने अरू नै प्रयोजनमा खर्च भइरहेको कारणले शेयर बजारमा कर्जाको प्रभाव पर्न नसकेको आशङ्का लगानीकर्ताहरूले गर्न थालेका छन्। पहिले अन्य प्रयोजनका लिएको कर्जा समेत शेयर बजार तर्फ डाइभर्ट भएर आउने गरेका कारण शेयर बजार बढ्ने गरेकोमा अहिले भने शेयर धितो कर्जा लिएर अन्य प्रयोजनमा खर्च गर्न थालिएको कारण त्यसको प्रभाव शेयर बजारमा नदेखिएको विश्लेषण दोस्रो बजारमा हुन थालेको छ।
लगानीकर्ताले शेयर धितो कर्जा स्वरूप बैंक वित्तीय संस्थाबाट ऋण चलाउने गरेका छन्। लगानीकर्ताले आफूले किनेको शेयर धितो राखेर बैंक वित्तीय संस्थाबाट ७० प्रतिशतसम्म ऋण पाउँछन्। दोस्रो बजारमा सूचीकृत शेयरको १८० दिनको मूल्य र दोस्रो बजारमा कायम हुने मूल्यमा जुन कम हुन्छ। त्यसको ७० प्रतिशतसम्म शेयर धितो ऋण बैंक वित्तीय संस्थाले प्रवाह गर्छन्।