अत्याधुनिक प्रविधिमा आधारित यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकले प्रदान गर्ने विभिन्न सेवाहरु जस्तै नगद जम्मा गर्ने, खाताबाट नगद झिक्ने, चेक बुक माग गर्ने, बैंक स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेट तथा अन्य सुविधाहरु आफ्नो घर वा कार्यालयमा बसेर प्राप्त गर्न सक्नेछन्। यो सुविधाहरु निःशुल्क रुपमा प्रदान गरिने बैंकले जानकारी दिएको छ।
ग्राहकले आफ्नो मोबाईल बैंकिङ एपमार्फत् आवश्यक सेवा अनुरोध गर्न सक्ने र अनुरोध प्राप्त भएपश्चात बैैंक प्रतिनिधिले अनुरोध गरिएको स्थान सम्मनै पुगी उक्त सेवा प्रदान गर्ने बैंकले जनाएको छ। यसले डिजिटल बैंकिङको प्रर्वद्धन गर्दै बैंकिङ पहुँचलाई अझ सहज, सरल र प्रविधिमैत्री बनार्ईको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई सुरुवात गरिएको यो सुविधा नेपालकै पहिलो डोर स्टेप बैंकिङ्ग सर्भिस हो। विश्वका केही विकसित देशहरुमा ग्राहकको घरमै पुगेर बैंकिङ सुविधा प्रदान गर्ने प्रचलन रहेतापनी नेपालको बैंकिङ ईतिहासमा पहिलो भएको र कामना सेवाले यस्तो सुविधा ल्याएर नेपालको बैंकिङ क्षेत्रमा नविनतम् सुविधाको थालनी गरेको बैंकका प्रमुख मार्केटिङ अधिकृत दिपेन्द्र सुवेदी बताउँछन्।
प्रमुख मार्केटिङ अधिकृत सुवेदीका अनुसार बैंकले यो सुविधाले ग्राहकको सन्तुष्टीलाई मुख्य प्राथमिकता मान्दै डिजिटल प्रविधिमा आधारित सुविधा स्वरुप डोर स्टेप बैंकिङ्ग सर्भिसको सुरुवात गरिएको हो, जसले ग्राहकहरुलाई समयको वचत, सहजता, सुरक्षाको पूर्ण अनुभुती गराउनेछ। यो सुविधा दैनिक रुपमा व्यस्त रहने व्यवसायी, कार्यालयका कर्मचारी, गृहिणी, ज्येष्ठ नागरिकहरुका लागि अत्यन्त उपयोगी हुने विश्वास बैंकले लिएको छ। ग्राहकको लामो लाईन, बैंकसम्म पुग्ने समय तथा कागजी झन्झट नलिई घरमै बसेर बैंकका सुविधाहरु उपभोग गर्न सकिनेछ। यो सुविधा अन्तर्गत बैंकको लकर सुविधा, एटिएम डेविट कार्ड, मोबाईल बैंकिङ सुविधा समेत निःशुल्क रहेको छ।
हाल यो सुविधा काठमाडौं, ललितपुर र भक्तपुरमा सुरुवात गरिएको र विस्तारै देशैभर यो सुविधा विस्तार गर्ने बैंकले जनाएको छ।