न्यायाधीश मनोज कुमार शर्माको एकल इजलासले बुधवार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि आउँदो कार्तिक २३ गते छलफलकाललागी दुवै पक्षलाई बोलाउने आदेश दिएको हो।

कर्मचारीले पाउने बोनसका विषयमा कानुनी व्याख्याको लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालक समितिको अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईँले श्रम अदालत भक्तपुर, श्रम तथा रोजगार कार्यालय टेकु काठमाडौँ र नेप्से कर्मचारी संघलाई विपक्षी बनाई गत मङ्गलवार रिट निवेदन दायर गरेका थिए।
नेप्सेका कर्मचारीले पाउने बोनसका विषयमा लामो समयदेखि विवाद छ। कर्मचारीले पाँच प्रतिशत बोनस पाउनुपर्ने माग गर्दै आएका छन्। तर, अर्थ मन्त्रालयले भने १ प्रतिशत मात्र दिन नेप्से सञ्चालक समितिलाई पत्र पठाउँदै आएको छ।
यसअघि कर्मचारीले नेप्से सञ्चालक समितिलाई विपक्षी बनाउँदै श्रम अदालतमा मुद्दा दायर गरेका थिए। दायर रिटमा श्रम अदालतले कर्मचारीको पक्षमा फैसला गरेको छ। सोही फैसलाको कानुनी व्याख्याको लागि नेप्से सञ्चालक समिति सर्वोच्च गएको हो। अब सर्वोच्चले नै कर्मचारीले पाउने बोनसका विषयमा कानुनी व्याख्या गर्ने छ। त्यस पछि बोनस विवाद टुङ्गिने छ।
बोनसको विषय सर्वोच्चमा पुगेका कारण अब कर्मचारीले आन्दोलन गर्न पाउने छैनन्। किनकि मुद्दा विचाराधीन रहेका बेला आन्दोलन गर्नु गैरकानुनी मानिन्छ। नेप्सेका कर्मचारीले आन्दोलन अझै रोकेका छैनन्। कालो पट्टि बाँधेर कर्मचारीले लगातार विरोध गरिरहेका छन्। यस अघि पाँच प्रतिशत बोनस पाउनु पर्ने माग सहित विरोधमा उत्रिएका कर्मचारीले अहिले आएर अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको राजीनामा माग गरिरहेका छन्। बोनसको विवादमा सुरु भएको विरोध अहिले आएर राजीनामामा बदलिनुलाई त्यहीका केही कर्मचारीले निको मानेका छैनन्। जसले गर्दा नेप्से कर्मचारी संघमा रहेका पदाधिकारी बाहेक अरूले कालोपट्टी बाँध्न समेत इन्कार गरिरहेको त्यहीका एक कर्मचारी बताउँछन्। “खास हाम्रो माग भनेको पाँच प्रतिशत बोनस पाउनु पर्छ भन्ने हो। तर अहिले आएर राजीनामा माग भइरहेको छ। विरोधमा केही बिचौलियाले घुस पैठ गरेर आन्दोलनको स्वरूप फेरेका छन्। जुन कर्मचारीको असली माग नै होइन ” ती कर्मचारीले भने।
कर्मचारीले विरोध कार्यक्रम जारी राखेपछि प्रमुख कार्यकारी अधिकृतले सञ्चालक समितिलाई अदालती प्रक्रियाको बारेमा जानकारी दिँदै काम गर्ने वातावरण बनाइदिन भन्दै सञ्चालक समितिलाई छुट्टै पत्र समेत लेखेका छन्।
तल फोटोमा हेर्नुहोस् सिइओले सञ्चालक समितिलाई लेखेको पत्र