बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले खोले पार्टी, अध्यक्षमा समाजशास्त्री डा. दिनेश प्रसाईं

Oct 16, 2025 05:59 PM merolagani



बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले पार्टी खोलेका छन्।  बस्नेतले दुई बर्षकाे तयारीपछि पार्टी खाेलेका हुन् ।

बस्नेतले गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता गराएका हुन्। बिहीबार निर्वाचन आयोगले उक्त पार्टी दर्ता गरेको हो।

पार्टीको अध्यक्षमा भने डा. दिनेश प्रसाईंलाई राखिएको छ। बस्नेत सदस्य मात्रै छन्। पार्टीको महासचिव पियुस कायस्थ छन्।

निर्वाचन आयोगले बिहीबार नै उक्त पार्टीलाई चुनाव चिह्न 'दीपज्योति' प्रदान गरेको छ।

अध्यक्ष डा. प्रसाईं समाजशास्त्री हुन् । उनी त्रिभुवन विश्वविद्यालयमामा एमफिल र पिएचडीलाइ पढाउँछन् । उनी १५ बर्षदेखि पर्यटन व्यवसायमा पनि संलग्न छन् । महासचिव  कायस्थ भने कृषि विज्ञ हुन् ।

पार्टीले प्रस्तुत गरेको आह्वानपत्रमा पार्टीले तय गरेको केही प्राबधानहरू पनि उल्लेख गरिएको छ।

जहाँ पार्टीको कुनै पनि सदस्य, एकै पदमा दुई कार्यकालको लागि मात्र बहाल रहन सक्ने व्यवस्था छ। यसैगरी पार्टीको जुनसुकै कार्यसमितिको पदमा सोह्र वर्षसम्म बहाल रहेपछि, पार्टीको कुनै पनि कार्यसमितिको पदमा नियुक्त हुन नपाउने व्यवस्था छ ।

पार्टी कार्य समितिका पदाधिकारी र सार्वजनिक पदमा जाने व्यक्ति छुट्टाछुट्टै हुने बताइएकाे छ भने सार्वजनिक पद मन्त्री, प्रधानमन्त्रीमा दुई चोटीभन्दा बढी प्रतिनिधित्व गर्न नपाइने कुरा लागु गरिने छ।

पार्टीको हरेक गतिविधि खुल्ला सफ्टवेयरको माध्यमबाट निगरानी गर्ने भनिएकाे छ भने निकटको चुनाव बाहेक आगामी चुनावहरुमा स्थानीय स्तरको शुरुवाती तहबाटै सबैको सहभागितामा उम्मेदवार छान्ने बताइएकाे छ । पार्टीको सबै तहमा चेतनशील, कर्मठ, समावेशी नेतृत्व हुने पनि आह्वानपत्रमा उल्लेख छ ।