बजार २६ सय मुनि झर्‍यो, तत्काललाई नबढ्ने प्राविधिक विश्लेषण, लाइसेन्स बिनाका विश्लेषकको भरमा लगानीकर्ता

Nov 05, 2025 06:25 AM merolagani



सोमबार प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्यालले सामाजिक सञ्जाल फेस बुकमा नेपाली शेयर बजारको प्राविधिक विश्लेषण पोस्ट गरे। जसमा बजार २६ सय अंकभन्दा माथि नै रहे सूचक थप बढ्ने सम्भावना रहने तर २६ सय मुनि आए तत्काललाई बढ्ने क्रम रोकिने उनको प्रक्षेपण थियो।

फोटोमा हेर्नुस् उनले गरेको विश्लेषण

मंगलबार शेयर बजार मापक नेप्से सूचक २६ सय मुनि झरेको छ। सोमबारको उनको प्रक्षेपणलाई साँचो मान्ने हो भने अब शेयर बजार बढ्ने क्रममा तत्काल ब्रेक लाग्ने छ। बस्याल नेपाल बाहिर बसेर नेपालको शेयर बजारको बारेमा प्राविधिक विश्लेषण गरिरहन्छन्। सोमबार मात्रै उनको पोस्ट आएको होइन, उनको पोस्ट लगातार जसो आइरहन्छन्।

विश्व बजारमा प्राविधिक विश्लेषकको निक्कै महत्त्व भएपनि नेपाली बजारमा भने यसले अझै नियामकीय मान्यता पाएको छैन। अहिले पनि नेपालमा शेयर बजार बढ्छ र घट्छ भन्न पाइँदैन। त्यसरी सोझै शेयर बजार घट्छ वा बढ्छ भन्ने खालका पोस्ट गैर कानुनी मानिन्छन्। तर पनि सामाजिक सञ्जालमा प्राविधिक विश्लेषण भन्दै बजार घट्ने र बढ्ने प्रक्षेपण आइरहन्छन्। त्यस विषयमा नियामक निकाय नेपाल धितोपत्र बोर्डले गम्भीर एक्सन नलिदा लगानीकर्ता नै अन्योलमा पर्न थालेका छन्।

बस्यालले सोमबार मात्रै शेयर बजार घट्ने/ बढ्ने बारे प्रक्षेपण गर्नु र मंगलबार नै उनले प्रक्षेपण गरेकै अवस्थामा शेयर बजार झर्नुलाई संयोग मात्रै मान्न सकिन्छ। तर उक्त प्रक्षेपण धेरै लगानीकर्तालाई अलमल्याउन काफी हुने देखिएको छ। भोलिका दिनमा उनकै प्रक्षेपणको पछि लागेर लगानीकर्ताले सस्तोमा शेयर बिक्री गर्न थाले त्यसको जिम्मेवारी कसले लिने ? गम्भीर प्रश्न खडा हुने लगानीकर्ताको भनाई छ।

“शेयर बजार घट्ने र बढ्ने प्राविधिक प्रक्षेपणहरू सामाजिक सञ्जालमा आइरहन्छन्। कुनै प्रक्षेपणले बजारलाई खासै असर नगरे पनि कुनै प्रक्षेपणले भने बजारलाई निक्कै ठूलो असर गर्ने गर्छ। त्यसले गर्दा यसरी आउने प्रक्षेपणहरूलाई नेपाल धितोपत्र बोर्डले गम्भीर रुपमा लिनु पर्छ। यसरी निर्बाध प्रक्षेपण आउनु राम्रो होइन,” नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले भने।

ढकालका अनुसार शेयर बजार घट्ने र बढ्ने बारे विश्लेषण नै गर्न दिने हो भने नेपाल धितोपत्र बोर्डले त्यस्ता व्यक्तिलाई अनुमति नै दिने व्यवस्था गर्नु पर्छ। हैन भने अनुमति र दक्षताको मापन नै नगरिएका विश्लेषकबाट आउने त्यस्ता विश्लेषकलाई कारबाही गर्न सक्नु पर्छ।

मंगलबार नेप्से परिसूचक परिसूचक २७.६४ अंक घटेर २५९५.२४ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इन्डेक्स ३.९३ अंक घटेको छ भने फ्लोट इन्डेक्स १.९१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३० अंक घटेको छ। सूचक सोमबार पनि घटेको थियो। मंगलबार यसले पुनः निरन्तरता पाएको हो।

सोमबार ६ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार ५ अर्ब १५ करोड ७ लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड ३ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भए। जुन सोमबारको तुलनामा कम हो।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भए। त्यस्तै, यस दिन राँधी विद्युत् कम्पनीको करिब साढे २२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो भने युनियन हाइड्रोपावरको कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन्।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।