करिब ३ अर्ब खुद ब्याज आम्दानी गरेको कुमारी बैंकको नाफा कति?

Nov 07, 2025 03:52 AM Merolagani



कुमारी बैंक लिमिटेड (KBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा २ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.७७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८० करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो। समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ३९.६३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १३.१२ प्रतिशत बढेको छ।

खुद ब्याज आम्दानी बढेपनि बैंकको सञ्चालन मुनाफा र खुद नाफा भने समीक्षा अवधिमा सामान्य घटेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ८.११ प्रतिशत घटेको छ भने खुद नाफा २.०१ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

बैंकको निष्क्रिय कर्जा बढेका कारण इम्पेरमेन्ट चार्ज १ अर्ब २६ करोड रुपैयाँ पुगेपछि सञ्चालन मुनाफा र खुद नाफामा दबाब पुगेको हो।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३३ पैसा घटेर १६ रुपैयाँ ११ पैसामा झरेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ २१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.२६ गुणा रहेको छ।

२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ८५ करोड ७० लाख रुपैयाँ सञ्चित छ। पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ३ खर्ब ६० अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६९ अर्ब ४१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।