साञ्जेन जलविद्युतको विद्युत बिक्री आम्दानी उल्लेख्य बढ्यो, नाफा कति?

Nov 11, 2025 01:17 PM Merolagani



साञ्जेन जलविद्युत कम्पनी लिमिटेड (SJCL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ५५ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७७९.४५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ३४ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनी पनि नाफामा पुगेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ५ करोड ४९ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १५ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीका दुबै आयोजनाहरु, ४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजना र साञ्जेन माथिल्लो जलविद्युत आयोजनाबाट नियमित रुपमा विद्युत उत्पादन भइरहेको कम्पनीले जनाएको छ। नेपाल विद्युत प्राधिकरणबाट निर्माण भएको चिलिमे–त्रिशुली २२० केभि प्रसारणलाइन निर्माण सम्पन्न भएकोले दुबै आयोजनाबाट उत्पादित विद्युत सोही प्रसारण लाइनबाट प्रवाह भइरहेकोले विद्युत बिक्री आम्दानी उल्लेख्य बढ्न पुगेको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ।

पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ८५ रुपैयाँ ५४ पैसा रहेको छ। सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १६.१२ गुणा रहेको छ।

३ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने ५२ करोड ८२ लाख रुपैयाँ ऋणात्मक छ।