खुद ब्याज आम्दानी बढेपछि विजय लघुवित्त नाफामा

Nov 12, 2025 02:00 PM Merolagani



विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नोक्सानीमा रहेको लघुवित्त, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा नाफामा पुगेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा लघुवित्तले ३ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्त ३ करोड ४५ लाख रुपैयाँ नोक्सानीमा थियो।

खुद ब्याज आम्दानी बढेसँगै लघुवित्त नाफामा पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७९.३५ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ७४.८८ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा ३ करोड ४५ लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४ करोड ७९ लाख रुपैयाँ धनात्मक भएको छ।

लघुवित्त नाफामा पुगेसँगै प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १७ रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.६४ गुणा र प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ २१ पैसा रहेको छ। सो अवधिसम्ममा १ करोड ४ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपेयाँ ५९ पैसा रहेको छ।

७४ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५२ करोड १० लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले गत असोज मसान्तसम्ममा २ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।